कोरोनाको दोस्रो छाल: तङ्ग्रिन लागेका उद्योग-व्यवसाय फेरि ढल्ने चिन्ता – Nepal Press

कोरोनाको दोस्रो छाल: तङ्ग्रिन लागेका उद्योग-व्यवसाय फेरि ढल्ने चिन्ता

काठमाडौं । २०७६ साल चैतदेखि ९ महिनासम्म भएको लकडाउनले नेपालको उद्योग–व्यवसायी धराशयी बनेको थियो । लकडाउन खुलेर आर्थिक गतिविधि विस्तारै बढ्न थालेका बेला फेरि कोरोनाको दोस्रो छालले हिर्काउन थालेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अनुसार कोरोनाको कारण बन्द भएका उद्योगधन्दामध्ये ४० प्रतिशत अझै सञ्चालनमा आएका छैनन् । सरकारको पछिल्लो निर्णयपछि तिनीहरु सदाका लागि बन्द हुने खतरा बढेको छ । सरकारले भिडभाड हुने केही क्षेत्र बन्द गर्न भनेको छ ।

उद्योग–व्यवसाय पुनः बन्द गराउने हो भने त्यसले सरकार र निजी क्षेत्र दुबैलाई समस्यामा पार्ने उद्योगी बताउछन् । पहिले भएको लकडाउनले ज्यालादारी मजदुर र साना व्यवसायीलाई संकटमा पारेको थियो भने सरकारलाई पनि राजश्व संकलन गर्न धौधौ परेको थियो । कैयौंको रोजगारी खोसिएको थियो ।

रोजगारी खोसिएपछि मानिस ५ दिनसम्म पैदल हिँडेर घर फर्केका थिए । सरकारले अब पनि लकडाउन वा बन्द गरायो भने धेरै उद्योगधन्दा बन्द हुने र अत्यधिक संख्यामा रोजगारी गुम्ने अवस्था चेतावनी उद्योगी र व्यवसायीको छ ।

सरकारले रात्रिकालीन व्यवसाय गत सोमबारबाट बन्द गर्ने निर्णय गरेको थियो । तर दोहोरी साँझ तथा रात्रिकालीन व्यवसायीले सरकारको निर्णय नमान्ने चेतावनी दिएका छन् । काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओले सरकारले गरेको निर्णय प्रभावकारी कार्यान्वयन गराउने बताएका छन् । यसले सरकार र व्यवसायीबीच टकरावको अवस्था उत्पन्न हुन सक्छ ।

सरकारले धेरै भिडभाड हुने व्यवसाय बन्द गराउने पक्षमा छ । निजी क्षेत्र भने पहिलेको लकडाउनले ढाड भाँचेको भन्दै अब फेरि बन्द गर्न नसक्ने बताउँछन् । गत सोमबारको मन्त्रिपरिषद् बैठकले रात्रीकालिन मनोरञ्जन क्षेत्र, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल, सभा, आमसभा, जुलुस, डान्सबार, दोहोरी साँझ, नाचघर, पार्टी प्यालेस, हाटबजारलगायत भीडभाड हुने सबै क्षेत्रमा रोक लगाएको थियो ।

लकडाउनका बेला सुकेका पर्यटन र यातायात लगायतका क्षेत्र अहिले पनि पहिलेको जस्तो अवस्थामा फर्कन सकेका छैनन् । केही पाँचतारे होटल अहिले बन्द अवस्थामै छन् । नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोहरले अब पनि बन्द गराउने हो भने देशको अर्थतन्त्र नै समस्यामा पर्ने बताए । बन्दको विकल्प खोजेर अगाडि बढ्नु पर्ने उनको भनाइ छ ।

मोहरले भने, ‘अब पनि लकडाउन गर्ने हो भने त्यसले सरकार र निजी क्षेत्रलाई नै समस्यामा पार्ने छ । कोरोना संक्रमण नियन्त्रका लागि सरकारले अरु उपाय अपनाएर निजी क्षेत्रको सञ्चालनमा निरन्तरता दिनुपर्छ ।’ लकडाउनको समयमा बैंकको ऋणको व्याजसमेत तिर्न नसकेका व्यवसायीले अहिले केही मात्रामा व्याज घटाउने अवस्था आउन लाग्दा पुन बन्द गर्ने कुरा स्वीकार्य नभएको उनी बताउँछन् ।

अर्थविद बिमल कोइराला पनि सरकारले कोरोना नियन्त्रणको उपायका रुपमा लकडाउन मात्रै देख्नु गलत भएको बताउछन् । देशका अर्थतन्त्र चलायमान बनाउन पनि उद्योगधन्दा स्वास्थ्यको मापदण्ड पुरा गरेर सञ्चानल गर्नुपर्ने उनको भनाइ छ ।

कोइरालाले भने, ‘सरकारले आफु सुरक्षित हुन पुन केही क्षेत्रहरु बन्द गराएको छ । यसरी बन्द गराउँदा देशको अर्थतन्त्र नकरात्मकतर्फ जान्छ । पहिले पनि लकडाउको कारण धेरैको रोजगारी गुमेको थियो । अब पनि लकडाउन हुने हो भने रोजगारीदेखि अन्य धेरै समस्या आउने छ ।’

सरकारले समयमा नै सोचेर स्वास्थ्यको मापदण्ड पुर्ण रुपमा पालना गराउँदै सबै क्षेत्रलाई निरन्तर सञ्चालन गर्नुपर्ने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर