काठमाडौंकै नगरपालिकाले मानेनन् सरकारको निर्देशन, आधाभन्दा बढी विद्यालय खुल्लै – Nepal Press

काठमाडौंकै नगरपालिकाले मानेनन् सरकारको निर्देशन, आधाभन्दा बढी विद्यालय खुल्लै

काठमाडौं । कोरोनाको संक्रमण बढेपछि चौतर्फी दबाबमा परेको सरकारले सोमबार मन्त्रिपरिषद् बैठक बसेर कोरोना प्रभावित जिल्लामा विद्यालय बन्द गर्ने निर्णय गर्यो । मंंगलबारदेखि वैशाख मसान्तसम्म विद्यालय बन्द गरी पठनपाठनलाई भर्चुअल माध्यममा लैजाने सरकारको निर्णयलाई काठमाडौंकै विद्यालयले अटेर गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना प्रभावित १४ वटा जिल्लाका शहरमा विद्यालय बन्द गर्न भनेको थियो । तर, काठमाडौंकै धेरै विद्यालय बन्द भएका छैनन् । स्थानीय तहले औपचारिक सूचना नदिएसम्म बन्द नगर्ने अडान विद्यालय सञ्चालकको छ ।

काठमाडौंको विद्यालय बुधबार पनि खुलेपछि काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका विद्यालय बुधबारबाट बन्द गर्न निर्देशन दिएको छ । महानगरले विज्ञप्ति जारी गरेर सरकारले सोमबार गरेको निर्णयअनुसार विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।

कहाँ खुला, कहाँ बन्द ?

काठमाडौं जिल्लामा १ महानगरपालिका र १० नगरपालिका गरी ११ वटा स्थानीय तह छन् । काठमाडौं महानगरपालिका भित्र ६ सय ९१ विद्यालय छन् । सबै विद्यालयमा सरकारको निर्णय कार्यान्वयन गर्न सर्कुलर जारी गरिएको वडा नम्बर १५ का वडा अध्यक्षसमेत रहेका महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले नेपाल प्रेसलाई बताए । उनले भने, ‘हामीले विद्यालय बन्द भनिसकेका छौं । अनुगमन हुन्छ ।’

काठमाडौंका १० मध्ये ३ वटा नगरपालिकाले मात्रै सरकारको निर्णय मानेर मातहतका विद्यालयह बन्द गराए । कागेश्वरी मनोहरा नगरपालिकाका ८५, टोखा नगरपालिकाका ८७ र तारकेश्वर नगरपालिकाकाभित्र रहेका १ सय २ वटै सामुदायिक र निजी विद्यालय बन्द गराइएको छ ।

यस्तै कीर्तिपुर नगरपालिकामा रहेका ४० वटा विद्यालयमध्ये केही मात्रै बन्द छन् । अरु सबै विद्यालय खुलेका छन् । दक्षिणकाली नगरपालिकाभित्र रहेका २७ वटा सामुदायिक र निजी विद्यालयमध्ये केही मात्र बन्द छन् ।

१० नगरपालिकामध्ये ५ वटा नगरपालिकाभित्रका विद्यालय सञ्चालन भइरहेका छन् । नगरपालिकाले आफ्नो पालिकाभित्र रहेको विद्यालय बन्द गर्न निर्देशन दिएको छैन् । खुलेका विद्यालयले नगरपालिकाले बन्द गर्ने सूचना नदिएकाले सञ्चालन गरिरहेको बताएका छन् ।

गोर्कणेश्वर नगरपालिकाका १ सय १० विद्यालय, चन्द्रागिरी नगरपालिकाभित्रका ७४, नागार्जुन नगरपालिकाभित्रका ५२, बुढानिलकण्ठ नगरपालिकाभित्रका १ सय २० र शंकरापुर नगरपालिका भित्रका ३१ वटा विद्यालय सञ्चालनमा छन् ।

केही विद्यालयमा परीक्षा भइरहेकाले बन्द नभएको नगरपालिकाका प्रमुख बताउँछन् । गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले नगरपालिकाभित्र विद्यालयमा कोरोना संक्रमणको अवस्था भयावह नभएकाले बन्द गर्न निर्देशन नदिएको बताए ।

उनले भने, ‘अब हामी शिक्षा समिति, अभिभावकसँग र सरोकारवालासँग छलफल गरेर विद्यालय बन्द गर्न निर्देशन दिने-नदिने निर्णय गर्नेछौ ।’

यस्तै नार्गाजुन नगरपालिकाका उपप्रमुख सुशीला अधिकारी भन्छिन्, ‘हामीले विद्यालय बन्द गर्न निर्देशन दिने निर्णय गरिसकेको छैनौ । संघीय सरकारले भन्नेवित्तिकै हामीले विद्यालय गर्नुपर्छ भन्ने हुदैन ।’

गोकर्णेश्वर नगरपालिकाको एक विद्यालयमा अध्ययापन गराइरहेका मिना लामाले आफूहरु नगरपालिकाको निर्देशन कुरेर बसेको बताइन् ।

‘केही विद्यार्थीमा लक्षण पनि देखिएको छ । हाम्रो विद्यालयको भौतिक पठनपाठन बन्द गर्न हाम्राे नगरपालिकाको आदेश कुरेर बस्नुपरेको छ । यसले विद्यार्थीलाई थप जोखिममा पारेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *