कोरोनाले विदेशी पर्यटक सुनसान, एक वर्षमा जम्माजम्मी ४० हजार भित्रिए – Nepal Press

कोरोनाले विदेशी पर्यटक सुनसान, एक वर्षमा जम्माजम्मी ४० हजार भित्रिए

काठमाडौं । विदेशी मुद्रा आर्जनको बलियो स्रोतका रुपमा रहेको पर्यटन व्यवसायीलाई कोभिडको महामारीले संकटमा पारेको छ । महामारीपछिको एक वर्षमा जम्माजम्मी ४० हजार २४० विदेशी पर्यटक नेपाल आएका छन् ।

कोरोना सुरु भएको सन् २०२० को अप्रिलदेखि २०२१ को अप्रिलसम्मको अवधीमा यति पर्यटक आएका हुन् । यो संख्या अघिल्लो वर्षको तुलनामा ९६ प्रतिशत न्यून हो । आएकाहरुमा पनि वास्तविक पर्यटकको संख्या अत्यन्त न्यून रहेको पर्यटन बोर्डले जनाएको छ ।

बोर्डका निर्देशक मनिराज लामिछानेका अनुसार एक वर्षमा नेपाल आएका ४० हजारमध्ये अधिकांश घुम्नेभन्दा अरु नै प्रयोजनले आएका हुन् । सरकारले नेपाल घुम्न आउने वास्तविक पर्यटक र अन्य गैह्रपर्यटकलाई तथ्यांकमा छुट्याउने गरेको छैन ।

गत वर्षको पर्यटक आगमन संख्या सन् १९९४ यताकै कम हो । पर्यटन बोर्डको तथ्याङकअनुसार सन् १९९४ मा ३ लाख २६ हजार पर्यटक आएकाथिए । त्यसपछि पर्यटक आगमन बढ्दो क्रममा रहेकोमा सन् २००२ मा गिरावट आएको थियो । सो अवधिमा २ लाख ७५ हजार पर्यटक नेपाल आएका थिए । त्यसपछि फेरि घटबढ हुँदै सन् २०१९ मा करीब १२ लाख पर्यटक नेपाल भित्रिएका थिए ।

गत वर्ष सरकारले ‘भिजिट नेपाल २०२०’ को योजना सार्वजानिक गर्दै २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको थियो । गत जनवरीमा ७९ हजार ७०२ जना, फ्रेबुअरीमा ९८ हजार १९० जना पर्यटक नेपाल भ्रमणमा आएका थिए । तर, लगत्तै मार्चमा कोरोना भाइरस नेपालमा फैलन शुरु गरेपछि पर्यटनको आगमन ह्वात्तै घट्न पुग्यो ।

मार्चमा ४२ हजार ७७६ जना नेपाल आएका थिए । त्यसपछि नेपाल लकडाउनमा गएसँगै पर्यटकको संख्या शून्यप्राय भयो । गत अप्रिलमा १४ जनामात्र विदेशी नेपाल आएका थिए । उनीहरुमध्यये १३ जना हवाइ मार्गबाट १ जना सडक मार्गबाट आएका थिए । यसैगरी गत मे महिनामा ३१ जना, जुनमा १०२, जुलाईमा १९६ जना, अगष्टमा २५६ जना विदेशी नागरिक नेपाल आए । सो समयसम्म नेपालमा पर्यटक गतिविधिमा रोक लगाइएको थियो ।

विदेशी पर्यटकका लागि गत सेप्टेम्बरमा हिमाल आरोहण खोलिएसँगै पर्यटकको संख्यामा झिनो सुधार देखियो । सेप्टेम्बरमा ५८४ जना नेपाल आए । उनीहरमध्ये केही हिमाल चढ्नका लागि आएका थिए । यसैगरी अक्टोबरमा २ हजार २५ जना, नोभेम्बरमा १ हजार ९५६, डिसेम्बरमा ४ हजार २४५ जना पर्यटक आए । डिसेम्बरको तुलनामा जनवरीमा दोब्बर बढेर ८ हजार पर्यटक आएका थिए ।

नेपाल सरकारले विदेशी पर्यटकका लागि अनअराइभल भिसा अनुमति दिएसँगै पर्यटकको आगमनमा थप वृद्धि भयो । फ्रेबुअरी महिनामा ९ हजारको पर्यटक आएका छन् भने मार्चमा त्यो संख्या बढेर १४ हजार पुगेको छ । पर्यटक बढ्दो क्रममा रहेका बेला अहिले देखिएको कोरोना भाइरसको दोस्रो लहरले फेरि असर गर्ने चिन्तामा पर्यटन व्यवसायी छन् ।

नेपालमा विदेशी पर्यटक नआएपछि यस क्षेत्रबाट हुने आम्दानी पनि टुटेको छ । होटल, यातायात, विभिन्न सम्पदा, पर्यटकीय क्षेत्रबाट पर्यटन व्यवसायीले गर्ने आम्दानी र सरकारले पाउने राजश्व पनि गुमेको छ ।

अहिले नेपालको पर्यटन क्षेत्रलाई आन्तरिक पर्यटकले धानिरहेका छन् । तर कोरोनाको कहरले आन्तरिक पर्यटनलाई पनि प्रभावित पारेको निर्देशक लामिछाने बताउँछन् ।

राजश्व सुक्यो

कोरोनाअघि नेपाल सरकारले पर्यटन क्षेत्रबाट मात्र अबौंको राजश्व उठाउँदै आएको थियो । तर, यो वर्ष हिमाल चढ्ने आरोहीबाट उठाइएको ३८ करोड रुपैयाँ बाहेक राजश्व विदेशी पर्यटकबाट नआएको बताउँछन् पर्यटन विभागका कर्मचारी । विदेशी मुद्रा नेपाल भित्र्याउनेमा पर्यटन क्षेत्र दोस्रो नम्बरमा थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर