मोति दुगडको नाममा बुक भएको ‘स्वीट रुम ९०१’, जहाँ ओली-नेपालले दुई घण्टा बिताए – Nepal Press

मोति दुगडको नाममा बुक भएको ‘स्वीट रुम ९०१’, जहाँ ओली-नेपालले दुई घण्टा बिताए

काठमाडौं । राजधानीको नागपोखरीस्थित पाँच तारे होटल मेरियट लकडाउनमा पनि बन्द नभएको र तत्कालीन संघीय समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई बाबुराम भट्टराई निकट नेता कार्यकर्ताले भगाएपछि चर्चामा आएको थियो ।

बुधवार साँझ करीव विभाजनको डिलमा पुगेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्तास्थल समेत यही होटल बनेपछि मेरियट फेरि चर्चित बनेको छ ।

साँझ ६ बजेदेखि ओली र नेपालबीच वार्ता भएको मेरियटको स्वीट रुम भने दिउँसो नै मोतिलाल दुगडको नाममा बुक भइसकेको होटल स्रोतले जनाएको छ । कोठा नम्बर ९०१ प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार समेत रहेका एमाले सांसद दुगडको नाममा बुक गरिएको थियो ।

मेरियटमै अर्थमन्त्री बिष्णु पौडेल दिउँसैदेखि बजेट सम्बन्धी आन्तरिक छलफलमा थिए । दुई नेताबीच वार्ता शुरु भएपछि पौडेल भने निस्किएका थिए । वान टु वान कुरा गरुन् भनेर पौडेल निस्किए । दुगड भने वार्ताको व्यवस्थापक भएकाले होटलमै रहे । उनले दुई नेताबीच वार्ताको व्यवस्थापन गरेको बताइएको छ ।

प्रधानमन्त्रीकै रुची अनुसार वार्तास्थल मेरियट छानिएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर