स्पष्टीकरण सोधिएका एमाले सांसद अध्यक्ष ओलीसँग ‘वान टु वान’ संवादमा – Nepal Press

स्पष्टीकरण सोधिएका एमाले सांसद अध्यक्ष ओलीसँग ‘वान टु वान’ संवादमा

काठमाडौं । पार्टीको पक्षमा उभिने कि कारवाही भोग्न तयार हुने भनेर स्पष्टिकरण सोधिएका नेकपा एमालेका सांसदहरु प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको सम्पर्कमा पुग्ने क्रम बढेको छ ।

एमालेको आधिकारिक निर्णयको पक्षमा उभिन अन्तिम मौका भन्दै अध्यक्ष ओलीले स्पष्टिकरण सोधिएपछि पनि सांसदहरुसँग व्यक्तिगत रुपमा संवाद जाारी राखेका छन् ।

माधव नेपाल पक्षका संघका २७ र कर्णाली प्रदेशका ५ सांसदलाई स्पष्टीकरणको पत्र काट्नुअघि सामेबार अबेरसम्म ओलीले व्यक्तिग रुपमा हरेक सांसदलाई फोन गरेका थिए ।

‘यो तपाईंहरुका लागि अन्तिम मौका हो, आजै कित्ता क्लियर गर्नुहोस्’ भन्दै ओली केही सांसदलाई बालुवाटारै बोलाएर संम्झाएका थिए भने केहीलाई फोनमै सम्झाएका थिए । ओलीले त्यो क्रमलाई पष्टीकरणपछि पनि जारी राखेका छन् ।

नेता योगेश भट्टराईले बुधबार बालुवाटारमा गएर ओलीलाई भेटेका छन् । भट्टराईले ओलीलाई भेटेर उदार मनका साथ सबै नेताहरूलाई समेटेर अघि बढ्न आग्रह गरेका छन् ।

भेटपछि नेपाल प्रेससँग कुरा गर्दै भट्टराईले भने- ‘मैले पार्टी अध्यक्षलाई भेटेर एमालेलाई एकतावद्ध बनाउने हिसाबले भूमिका खेल्नुस्, त्यसमा हाम्रो साथ सहयोग हुन्छ भनेको छु । सायद शीर्ष तहमै संवाद सकारात्मक हुनेछ ।

प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण सोधिएका अर्का सांसद सोमप्रसाद पाण्डेले पनि बुधवार भेटेका छन् ।

अर्का सांसद नारायण खतिवडा काठमाडौं आएर ओलीसँग भेट्ने जानकारी दिए । गणेश पहाडी लगायतका सांसदहरु पनि सम्पर्कमा रहेका छन् । बालुवाटार नपुग्ने सांसदसँग ओलीले फोनमै पनि कुराकानी गरिरहेका छन् ।

प्रायः सबै सांसदलाई ओलीले गरेको आग्रह र दिएको सन्देश एउटै छ- अब गुटसँग कुनै डिल हुँदैन । तपाईंहरुलाई व्यक्तिगत रुपमा सम्मानजनक व्यवहार र उचित जिम्मेवारी दिइन्छ ।

व्यक्तिगत रुपमा आउने सबैसँग संवाद हुने र पार्टी हित अनुसार काम गर्ने प्रतिवद्धता जनाएर आउनेलाई कुनै कारबाही नुहने कुरा ओलीले पुनः दोहोर्‍याएका छन् । पछिल्लो समय ओलीले अब एमालेमा कुनै गुट स्वीकार नगरिने अडान दोहोर्‍याइरहेका छन् ।

व्यक्तिगत ‘डिलिङ’ले सानालाई असुरक्षा

ओलीसँगको ‘डिलिङ’मा नेपाल पक्षका प्रभावशाली नेताहरु एक्ला एक्लै लाग्न थालेपछि स्पष्टीकरण सोधिएका सांसदहरुले भने असुरक्षा महसुस गर्न थालेका छन् ।

ओलीसँगको संवादपछि नेपाल पक्षका सांसदहरू ध्रुव शाही, राजबहादुर बुढा, बिना बुढाथोकी मगर, गंगा चौधरी सतगौंवा, समिना हुसेन, कलिला खातुन र पार्वती बिसुंखेले पार्टी विभाजन हुँदा नेपाल पक्षमा नलाग्ने प्रतिबद्धता जनाएका छन् ।

केही यसअघि गरिसकेको निर्णयबाट समेत पछाडि हट्न समेत थालेका छन्। ‘माथिका नेताहरुले हाम्रो टाउको गनेर केपी ओलीसँग बार्गेनिङ गर्दैछन्, भोलि उनीहरुको लेनदेन मिल्यो भने नेताले भागबण्डा पाइहाल्छन्, हामीलाई टिकट समेत दिदैनन्’ एक सांसदले भने ‘बरु नेताहरु भन्दा पहिले व्यक्तिगत रुपमै प्रधानमन्त्रीसँग भेटेर साथ दिइयो भने अर्को पटक टिकट सुरक्षित त हुन्छ’ ।

कर्णाली प्रदेशसभाका मुख्यमन्त्री मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मत दिएकी प्रदेश सांसद देवी ओलीले मतदानका क्रममा आफू झुक्किएको स्पष्टीकरण दिएकी छिन् ।

प्रदेशसभा संसदीय दलका नेता यमलाल कँडेललाई बुझाएको स्पष्टिकरणमा सांसद ओलीले आफू नेकपा एमालेको नीति, निर्णय र ह्वीप पालना गर्न प्रतिबद्ध रहेको समेत प्रष्ट पारेकी छिन् ।

कारबाही परिने डरले नेपाल पक्षका धेरै सांसदले यस्तै प्रतिवद्धता जाहेर गर्ने ठानिएको छ।

नेपाल र रावलप्रति नकारात्मक

भट्टराईसँगको आजको छलफलपछि ओली कारबाहीको मामिलामा केही लचक बन्ने अपेक्षा नेपाल पक्षको छ । भट्टराईले ओलीलाई भेटेर ‘उदार मनका साथ सबै नेताहरूलाई समेटेर अघि बढ्न’ आग्रह गरेका थिए ।

व्यक्तिगत रुपमा सबै नेताहरुलाई समेटेर लैजान आफू तयार रहेको ओलीले बताएका छन् । तर माधव नेपाल र भीम रावलका गतिबिधि र अभिव्यक्ति भने कारवाहीयोग्य रहेको आशय ओलीको छ ।

स्रोतले भन्यो- माधव नेपालसँग संवाद शुरु भएको छ । तत्कालै परिणाम त नआउला । यसबीचमा तीन चारजनालाई मात्र कारवाही गरेर अरु सांसद ओलीले नै समेट्ने सम्भावना पनि देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर