कफनमा बेरिएर ‘हवाईजहाज’मा फर्कनेको कथा‍‍… – Nepal Press

कफनमा बेरिएर ‘हवाईजहाज’मा फर्कनेको कथा‍‍…

काठमाडौं । गत चैत्र २२ गते वैदेशिक रोजगारीमा मलेशिया गएका १२ नेपालीको शव नेपाल ल्याइयो ।

विमानस्थल गएका पूर्व-प्रधानमन्त्री बाबुराम भट्टराईले परिवारको भावविह्लल अवस्था देख्न नसकेपछि आँसु थाम्न सकेनन् । ‘…आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आँसु थामिन्थ्यो र!’ उनले ट्वीटमा लेखे ।

ऋणमुक्त बन्ने सपना देखेर दैनिक नेपाली खाडी लगायतका अन्य मुलुक विदेशिन्छन् । वर्षेनि दर्जनौं परिवार विमानस्थलमा आफन्तको लास पर्खन अभिशप्त छन् । यिनै परिवारको कठोर यथार्थ दर्शाउने गरी केही दिनअघि मात्र एउटा गीत ‘हवाईजहाज’ युट्युवमार्फत् सार्वजनिक भयो ।

गीतले एउटा एकल परिवारको मनोभावना र अन्तरकथालाई प्रस्तुत गरेको छ ।

‘हवाईजहाज’को दृश्य
स्कुले बालक आकाशमा हवाईजहाज उडेको देख्दा खुसी हुँदै औंलाले देखाउँछन् । तर, उनकी आमा हवाईजहाजदेखि तर्सन्छिन् । छोरालाई गाली गर्दै औंला पन्छाउन खोज्छिन् ।

तर, छोरा रहरको हवाईजहाज उडाउन खोज्छन्, जुन उनको निम्ति अति प्रिय छ । आमा नचाहेरै छोराको त्यस क्रियाकलापप्रति अवरोध बन्छिन् । दृश्य हेर्दा निकै कारुणिक देखिन्छ । दृश्यसँगै कारुणिक कथा छ यसमा । कमाउन परदेश उडेका श्रीमान् फर्कँदा कफनले बेरिएर बाकसमा फर्कन्छन् ।

के लिएर गाथ्यौ माया हवाईजहाजमा
के लिएर आयौ माया हवाईजहाजमा

अभावमा बाँचिरहेकी महिला आफ्नो श्रीमान् गुमाउनुको पीडा बिर्सन नसकेको दृश्यमा देखाइएको छ । पटक-पटक उही घाउ छोराको ‘हवाईजहाज मोह’ले बल्झाइरहन्छ ।

गीतमा गायिका पवित्रा राईले स्वर दिएकी छन् । पछिल्लो समय रंगमञ्चमा समेत सक्रिय पवित्रा भिडियोको निर्देशन पनि स्वयम्ले गरेकी हुन् । गीतमा रुपेश ढुंगानाको शब्द र कम्पोज रहेको छ ।

गीतको भिडियोमा आमाको चरित्र कलाकार संगीता थापाले निभाएकी छन् भने छोराको भूमिकामा सुमित तामाङ छन् । ‘जोखना’ नाटकबाट चर्चामा आएकी कलाकार संगीताको यस भिडियोमा प्रशंसायोग्य अभिनय देख्न पाइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर