सेती खोंच र पातले छांगो निजी कम्पनीलाई सुम्पिँदै पोखरा महानगर ! – Nepal Press

सेती खोंच र पातले छांगो निजी कम्पनीलाई सुम्पिँदै पोखरा महानगर !

विज्ञ भन्छन्– वातावरणलाई मूल्यसँग दाँज्न मिल्दैन

पोखरा । पातले छाँगोमा सीसाको पुल बनाउने र सराङकोट, सेती गर्जलाई साहसिक पर्यटन पूर्वाधारका रुपमा विकास गर्ने गरी पोखरा महानगरले २ वर्षअघि योजना बनाएको थियो । आर्थिक वर्ष ०७६÷७७ को नीति तथा कार्यक्रम घोषणा गर्दै मेयर मानबहादुर जिसीले भनेका थिए, ‘सराङकोट, सेती गर्जलाई साहसिक पर्यटन पूर्वाधारका रुपमा विकास गर्ने, पातले छाँगोमा सीसाको पुल बनाउने ।’

सार्वजनिक निजी साझेदारी योजना अन्तर्गत ती ठाउँमा सोही आर्थिक वर्षको अन्त्यसम्म निर्माण कार्य सुरु गर्ने वाचा मेयर जिसीले गरेका थिए । तर, महानगरको उक्त योजनाबाट पोखरेली भने खुसी थिएनन् । पर्यापर्यटनलाई बढावा दिनुको साटो प्राकृतिक सम्पदालाई व्यापारीकरण गर्न लागेको भन्दै सरोकारवाला निकायले सुरुदेखि नै विरोध जनाउँदै आएका छन् ।

नीति तथा कार्यक्रममा योजना परेको करिब २ वर्षपछि महानगरले सेती गर्जमा साहसिक पर्यटकीय पूर्वाधार र छोरेपाटनस्थित पातले छांगो (डेभिस् फल्स) मा सीसाको पुल बनाउन महानगरको चैत २७ गते बसेको महानगर कार्यपालिकाको ४७ औं बैठकले निर्णय गरेको छ । तर, निर्णय त्रुटिपूर्ण रहेको पाइएको छ ।

सार्वजनिक निजी साझेदारी अन्तर्गत बनाउने भनिएको उक्त योजनाका लागि महानगरले कानुनबमोजिम बोलपत्र आह्वान गर्नुको साटो एक निजी कम्पनीको नामै तोकेर सेती खोंच र पातले छांगो जिम्मा लगाउने निर्णय गरेको छ ।

महानगरले सेती क्यानोनिङ प्रालि नामक निजी कम्पनीलाई नियमविपरित प्राकृतिक स्रोतको जिम्मा लगाउन लागेको भन्दै विरोध सुरु भएको छ । तर, महानगरले भने सार्वजनिक निजी साझेदारी आयोजना समितिको सुझाव अनुरुप नै उक्त कम्पनीसँग सम्झौता गरिएको दाबी गरेको छ ।

महानगरको ४७ औं कार्यपालिकाको बैठकले निर्णयमा भनिएको छ, ‘सार्वजनिक निजी साझेदारीमा सेती खोंचमा साहसिक पर्यटकीय आयोजना सञ्चालन गर्ने सम्बन्धमा समितिको सुझावको आधारमा श्री सेती क्यानोनिङ प्रालिसँग सम्झौता गर्ने निर्णय गरियो ।’

प्राकृतिक स्रोत र साधनको यसरी उपभोग गर्न पाउने अधिकार स्थानीय तहलाई छैन । यसका लागि संघ, प्रदेश सरकारसँग अनुमति लिनुपर्ने हुन्छ । तर, महानगरले दुबै सरकारसँग सहमति नै नलिई निजी कम्पनीलाई जिम्म लगाउने विवादास्पद निर्णय गरेकोमात्रै छैन, सार्वजनिक निजी साझेदारी समितिलाई नै सोबारे निर्णय गर्ने अधिकार दिएको छ ।

कार्यपालिका बैठकको निर्णय ७ ‘ख’ मा भनिएको छ, ‘सो आयोजनाको विषयमा आवश्यकताअनुसार प्रदेश सरकार तथा संघ सरकारको सहमति लिने लगायत सम्झौता गर्न र कार्यान्वयन गर्न जे, जो आवश्यक पर्छ गर्ने अधिकार सार्वजनिक निजी साझेदारी (सानिसा) समितिलाई प्रदान गर्ने ।’

पोखरा क्षेत्रमा सेती खोंच करिब ६.८ किलोमिटर क्षेत्रफलमा फैलिएको छ । महानगरले उक्त खोंचलाई साहसिक पर्यटकीय पूर्वाधारका रुपमा विकास गर्ने नाममा सेती क्यानोनिङ प्रालिलाई ४० वर्षका लागि दिने कार्यपालिका बैठकबाटै निर्णय गराएको हो ।

आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममा पोखराको सेती खोंच, पातले छाँगोसहित सराङकोटमा पनि सार्वजनिक निजी साझेदारी अन्तर्गत पर्यटन पूर्वाधारका रुपमा विकास गर्ने उल्लेख थियो । तर, कार्यापालिका बैठकले सेती खोंच र पातले छाँगोलाई मात्रै केन्द्रित गरेर निर्णय गरेको छ ।

वातावरणविद् भन्छन्- वातावरणलाई पैसासँग दाँच्न पाइँदैन !

पर्यावरणलाई असर पुग्ने र जैविक विविधतालाई नै आँच आउने गरी महानगरले गरेको निर्णयप्रति सरोकारवाला निकायले विरोध गरेका छन् । राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिले सेती र पातले छांगोको सौन्दर्य बिग्रिने गरी कुनै पनि पूर्वाधार नबनाउन आग्रह गरेको छ ।

समितिका सल्लाहकार तिलक पराजुली सेतीका डिललाई साहसिक पर्यटकीय पूर्वाधारका नाममा प्राकृतिक सम्पदामाथि ठेकेदारी सुरु गरेको आरोप लगाए । ‘यस विषयमा हामीले सुरुदेखि नै महानगरसँग छलफल गर्दै आएका थियौं । छलफलमा उहाँ पोजेटिभ पनि देखिनु भएको थिया,’ पराजुली भन्छन्, ‘तर अहिले एकाएक ४० वर्षका लागि ठेक्का दिने कुरा आयो । यसले पोखराको पर्यावरणलाई असर गर्छ । वातावरणलाई पैसासँग दाँज्नु हुँदैन ।’

नेपालमा पाइने ८ सय ८४ प्रजातिका चरामध्ये फेवाताल र सेती वरिपरि ४ सय ६० प्रजातिका चरा पाइने र तीमध्ये १५ प्रजातिका लोपोन्मुख चराहरुको बासस्थान नै यही वरिपरि भएकाले त्यहाँ भौतिक पूर्वाधार निर्माण गर्दा प्रत्यक्ष असर पुग्ने समितिको ठहर छ ।

‘सेतीको खोंच यसै पनि भूगर्भविद्हरुले अत्यन्तै जोखिमयुक्त ठाउँ भएको बताइरहेका छन् । त्यसमाथि त्यहाँ ठूलो संख्यामा प्राकृतिक जीवजन्तुको बासस्थान छ,’ विज्ञ डा अनिल सुवेदी भन्छन्, ‘रामसार सूचिमा सूचिकृत हुँदा नै के गर्न पाउने र के गर्न नपाउने स्पष्ट भनिएको हुन्छ । त्यसका लागि पनि त्यहाँ कुनै पूर्वाधार बनाइनु हुँदैन ।’

मानवीय हिसाबले पनि सीसाको पुल जोखियुक्त रहेको प्रतिवेदन आइरहेकाबेला कुनै पनि हिसाबले त्यहाँ पूर्वाधार निर्माण उपयुक्त नभएको सुवेदीको दाबी छ । सेती वरिपरि हिन्दू, बौद्धलगायत धर्मालम्बीको आस्थासमेत जोडिएकाले संस्कृतिमाथिको हमला भएको उनको तर्क छ ।

‘सेती नदीसँग पोखरेलीहरुको आस्था जोडिएको छ । सेती किनार वरिपरि मन्दिर छ, बौद्ध बिहार छ । त्यहाँ संरचना बन्नु भनेको आस्था र संस्कृतिमाथि पनि हमला हो,’ सुवेदी भन्छन्, ‘भोेलि त्यहाँ झोला राखेको पनि पैसा तिर्नुपर्ने स्थिति आउन सक्छ ।’

वातावरणविद् कल्याण पन्त वन्य जीवजन्तु रहेको ठाउँमा मानवीय गतिविधि बढाउँदा वातावरणलाई ठूलो क्षति पुग्ने बताउँछन् । ‘हामीले अहिलेसम्म फेवातालमात्रै देख्यौं । सेती गर्जलाई पनि हेर्नुपर्दछ,’ उनले भने, ‘कम्तिमा भएका कुराहरुलाई बिगार्न पाइँदैन भन्ने हाम्रो मान्यता हो । त्यहाँ मानवीय गतिविधि बढाउनु हुँदैन ।’

फेवाताल संरक्षणकर्मी विश्वप्रकाश लामिछाने प्राकृतिक सम्पदालाई कौडीको मूल्यमा बेचेर महानगरले डिस्को, डान्स खोल्ने गरी ठेकेदारी व्यापार गर्न लागेको आरोप लगाए । ‘अहिले पातले छांगो र सेती गर्जमात्रै बेच्न खोज्दैछ । यो हाम्रो नाडी छामेको हो । अझै सराङकोटलाई पनि बेच्ने महानगरको योजना छ,’ उनले भने ।

छोरेपाटन मावि विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष टीकाराम पौडेलले पातले छांगो नगर विकास समितिको नाममा रहेको र समितिले भोगाधिकार छोरेपाटन माविलाई नै दिएकाले अर्काको सम्पत्ति हड्प्ने अधिकार महानगरलाई नभएको बताए ।

‘छोरेपाटनको पातले छांगो वरिपरि मापदण्डविपरित संरचनाहरु बनेका छन् । ती संरचनालाई भत्काउनुको साटो महानगर आफैं मापदण्ड मिच्न खोज्दैछ,’ पौडेलले भने, ‘महानगर कानुनलाई मिचेर अघि बढेको छ । यो चलखेल गरेर सम्झौता गरिँदैछ ।’

मेयरको दाबी- ३ वर्षअघि नै बोलपत्र आह्वान !

साहसिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आर्थिक वर्ष ०७६÷७७ को नीति तथा कार्यक्रमा योजना ल्याइएको थियो । तर, मेयर मानबहादुर जिसीले उक्त योजनाका लागि ३ वर्ष अघि नै बोलपत्र आह्वान गरिएको र त्यही आधारमा सेती क्यानोनिङ प्रालिसँग सम्झौता गर्न लागिएको दाबी गरे ।

‘हामीले सेती क्यानोनिङलाई त्यसै आसयपत्रका लागि आह्वान गरेका हौं । यो विषयमा ३ वर्षअघि नै ३ वटा कम्पनीले आवदेन दिएका थिए,’ भन्छन्, ‘३ वटामध्ये प्राविधिक र आर्थिक कुराले त्यही कम्पनी उपयुक्त भएकाले सम्झौता गर्न भनेका हौं ।’

महानगर स्रोतका अनुसार सेती खोंचलाई साहसिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने गरी सेती क्यानोनिङसँग ४० वर्षका लागि वार्षिक २ करोड भन्दा बढी राजश्व तिर्ने गरी सम्झौता हुने तयारीमा छ । तर, मेयर जिसी उक्त कम्पनीसँग न्युनतम मूल्य माग नगरिएको र हाल धरौटीमात्रै माग गरिएको दाबी गरे । ‘अहिले कति मूल्य भन्ने छैन । धरौटीमात्रै माग गरेका हौं । भोलि यसले (सेती क्यानोनिङले) चलाउन सकेन भने अर्को कम्पनी आउँछ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *