निर्माण व्यवसायीले सरकारलाई भन्यो- निर्माण सम्पन्न योजनाको भुक्तानी देऊ – Nepal Press

निर्माण व्यवसायीले सरकारलाई भन्यो- निर्माण सम्पन्न योजनाको भुक्तानी देऊ

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सम्पन्न योजनाको भुक्तानी दिन सरकार समक्ष माग गरेको छ ।

महासंघको हालै सम्पन्न २२ औं साधारण सभाका निर्णयहरू सार्वजनिक गर्न बुधवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष रवि सिंहले व्यवसायीको रकम भुक्तानी गर्न माग गरेका हुन ।

निर्माण परियोजनाहरू सम्पन्न भएपनि व्यवसायीहरूको करिब ६५ अर्व बढी भुक्तानी हुन बाँकी रहेको अध्यक्ष सिंहले जानकारी दिए ।

महासंघको अवधारणा बमोजिम लो बिडिङलाई निरुत्साहित गर्ने हो भने निर्माण उद्योगमा देखिएका धेरै समस्या समाधान हुने अध्यक्ष सिंहले जानकारी दिए । आवश्यक्ता अनुसार परियोजनाहरूको म्याद थप गर्न ढिलाइ हुँदा निर्माण उद्योगमा धेरै समस्या आएको उनले बताए ।

अध्यक्ष सिंहले अन्य क्षेत्रमा जस्तै निर्माण उद्योगमा पनि कोभिडको असर देखापरिसकेको बताए । तर अर्थतन्त्रलाई चलायमान बनाउन स्वास्थ्यको मापदण्ड अपनाई निर्माण कार्यहरू संचालन गर्नुको विकल्प छैन’ अध्यक्ष सिंहले भने ।

म्याद थपमा देखिएको जटिलता, निर्माण सामाग्रीको अभाव, चर्को मुल्यवृद्धि लगायतका कारणले मुलुकको निर्माण उद्योग समस्याग्रस्त रहेको बताउँदै अध्यक्ष सिंहले व्यवसायीरूका माग पूरा नभए महासंघ आन्दोलनमा जान बाध्य हुने बताए ।

साधारण सभाका निर्णयहरू ४१ बुँदे काठमाडौं घोषणापत्र मार्फत सार्वजनिक गर्दै ‘सार्वजनिक खरिद ऐन-२०६३’ का कतिपय प्रावधानलाई संशोधन गर्न माग गरेका छन् ।

२०७७ चैत्र २९ र ३० गते राजधानीमा सम्पन्न महासंघको २२ औं साधारण सभामा देशभरका एक हजारभन्दा बढी व्यवसायीहरूको सहभागिता रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *