प्रदेश २: नाम जानकी र राजधानी जनकपुरधाम तोक्न एमालेको प्रस्ताव – Nepal Press

प्रदेश २: नाम जानकी र राजधानी जनकपुरधाम तोक्न एमालेको प्रस्ताव

जनकपुरधाम । प्रदेश २ को नाम जानकी र राजधानी जनकपुरधाम तोक्न नेकपा एमालेले प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएको छ ।

एमालेका संसदीय दलका नेता शत्रुधन महतोले आज उक्त प्रस्ताव दर्ता गराएका छन् । पार्टीको निर्णय बमोजिम प्रस्ताव दर्ता गराएको एमाले सांसद प्रमोद यादवले जानकारी दिए ।

यसअघि पनि एमालेले प्रदेशको नाम जानकी र राजधानी जनकपुरधाम प्रस्ताव नै दर्ता गराएको थियो ।

नेपाली कांग्रेसले भने अहिलेसम्म प्रदेशको राजधानी र नामका विषयमा प्रस्ताव दर्ता गराएको छैन । प्रदेशको नाम मिथिला-भोजपुरा र राजधानी जनकपुरधाम प्रस्ताव दर्ता गराउने कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले जानकारी दिए ।

सतत्तारूढ जसपा र नेकपा माओवादी केन्द्रले भने प्रदेशको नाम मधेस र राजधानी जनकपुरधामलाई तोक्न अलग-अलग प्रस्ताव दर्ता गराएका छन् ।

प्रदेशसभा गठन भएको साढे तीन वर्ष वितिसक्दा पनि राजधानी र नाम पनि टुंगो लगाउन नसकेको भन्दै सरकारको व्यापक आलोचना भएपछि प्रदेशसभा सचिवालयले वैशाख ९ दिउँसो ३ बजेसम्मको समय दिँदै वैशाख २ मा प्रस्ताव दर्ताको आह्वान गरेको थियो ।

प्रदेशको नाम र राजधानी तोक्न दुईतिहाई बहुमत चाहिने कानूनी व्यवस्था छ । तर, राजधानीबाहेक प्रदेशको कुनै नामको प्रस्तावमा दुईतिहाई बहुमत पुग्ने अवस्था छैन । सहमति जुट्न नसके फेरि पनि सबै प्रस्ताव फेल हुने सम्भावना देखिएको छ ।

प्रदेशसभामा कूल १०७ सांसद छन् । जसमध्ये आफ्ना चार सांसदलाई माओवादी केन्द्रले पदमुक्त गरिसकेका छन् । अहिले सत्तारूढ जसपाका ५५, माओवादी केन्द्रका ७, एमालेका २१, कांग्रेसका १९ र नेपाल समाजवादी पार्टीका एक सांसद छन् ।

प्रस्ताव पारित गराउन १०३ सांसदको दुईतिहाई ६९ सांसद चाहिन्छ । सत्तारूढ जसपा र माओवादी केन्द्रका सांसद जोड्दा ६२ पुग्छ । मधेस प्रदेश पारित गर्न अझै ७ सांसद आवश्यक पर्छ ।


प्रतिक्रिया

One thought on “प्रदेश २: नाम जानकी र राजधानी जनकपुरधाम तोक्न एमालेको प्रस्ताव

  1. सबै नामहरु नदीनाला र मन्दीरको। एउटा प्रदेशको त पहिचान देउ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर