नयाँ बजेट : अर्थको सिलिङ अपुग भएको सञ्चार मन्त्रालयको गुनासो (भिडियो) – Nepal Press

नयाँ बजेट : अर्थको सिलिङ अपुग भएको सञ्चार मन्त्रालयको गुनासो (भिडियो)

काठमाडौं । सूचना प्रविधि तथा सञ्चार मन्त्रालयले नयाँ बजेटका लागि अर्थमन्त्रालयबाट प्राप्त बजेट सिलिङ अपुग भएको जनाएको छ ।

प्रतिनिधि सभाको अर्थ समितिको बुधबारको बैठकमा अर्थसचिव हरिप्रसाद बस्यालले अर्थबाट प्राप्त ७ अर्ब २८ करोड ५१ लाख रूपैयाँको बजेट सिलिङ चालु खर्च समेत धान्न नपुग्ने बताए । मन्त्रालयको चालु खर्च नै ८ अर्ब २९ करोड १० लाख र पूँजीगत खर्च १ अर्ब ८४ करोड १४ लाख रूपैयाँ हुने उनको दाबी थियो ।

मन्त्रालयको योजना अनुसारका कार्यक्रमका लागि बजेट विनियोजन गर्ने हो भने मन्त्रालयलाई प्राप्त भएको बजेट सिलिङ्ग भन्दा ५ अर्ब बढी रकम अपुग हुने सचिव बस्यालको भनाइ थियो । ‘मन्त्रालयले हुलाक सेवाका लागि मात्रै ४ अर्ब भन्दा बढी बजेट विनियोजन गर्नुपर्ने छ’, उनले भने, ‘ यो रकम हुलाक सेवामा रहेका १८ हजार जनशक्तिको तलब भत्ताका लागि खर्च हुन्छ । यति धेरै खर्च हुने हुलाक सेवाबाट प्राप्त हुने राजस्व रकम भने बजेटको तुलनामा नगन्य हुन्छ ।’

हुलाक सेवालाई प्रभावकारी बनाउन मन्त्रालयले प्राधिकरण मोडलमा जाने गरी विधेयक तयार गरी मन्त्रिपरिषद्मा पठाइसकेको छ । यस्तै मन्त्रालयले सेक्युरिटी प्रिन्टिङ प्रेसको ठेक्काको प्रक्रियालाई पूरा गरिसकेको पनि सचिव बस्यालले बताए ।

हालको लागि अन्त:शुल्कको स्टिकर, हुलाक टिकट, लालपुर्जा, सर्टिफिकेट लगायत छाप्ने गरी सेक्युरिटी प्रिन्टिङ प्रेसको ठेक्का प्रक्रिया पूरा गरिसकेको छ। यस्तै मन्त्रालयले बनेपामा रहेको आइटी पार्कलाई सेक्यिुरिटी प्रिन्टिङ प्रेस बनाउने र खुमलटारमा रहेको जग्गमा आइटीपार्क बनाउने गरी तयारी गरिएको छ ।

छलफलमा सांसदहरूले नेपाल टेलिकमको सेवालाई सबैको पहुँचमा पुर्‍याउन र भरपर्दो सेवा दिनेगरी काम गर्न आवश्यक कार्यक्रम र बजेट विनियोजन गर्न सुझाव दिएका छन् ।

त्यसबाहेक हुलाक सेवालाई आधुनिक प्रविधिमार्फत व्यवसायिक मोडलमा सञ्चालन गर्ने तर्फ कार्यक्रम बनाउन पनि सांसदहरूले सुझाव दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर