नेदरल्यान्ड्स र मलेसियाले बराबरी खेले, डच टोलीले नेपालसँग फाइनल खेल्ने – Nepal Press

नेदरल्यान्ड्स र मलेसियाले बराबरी खेले, डच टोलीले नेपालसँग फाइनल खेल्ने

काठमाडौं । वर्षाले प्रभावित बनेको नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरी खेलेसँगै नेपाल र नेदरल्यान्ड्स ट्राई नेसन ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा पुगेका छन् ।

त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेल वर्षाका कारण दुई पटक गरी १० ओभरमा घटाइएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले पहिलो पटक १३ ओभरमा घटेको खेलमा १०७ रनको योगफल तयार गरेको थियो ।

तर, मलेसियाको इनिङमा पुन: पानी परेपछि खेल १० ओभरमा घटेर ९२ रनको लक्ष्य निर्धारण गरिएको थियो । मलेसियाले निर्धारित १० ओभरमा ४ विकेट गुमाएर ९१ रन बनाएपछि खेल बराबरी भयो ।

वर्षाका कारण ‘कट अफ् टाइम’ अवधि सकिइसकेकाले अम्पायरले सुपर ओभरमा नजाने निर्णय गरे ।

बराबरीपछि नेपाल एक खेल अगावै फाइनलमा पुगेको छ । पहिलो खेलमा नेदरल्यान्ड्स र दोस्रो खेलमा मलेसियालाई समान ९ विकेटले पराजित गरेको नेपालको तीन खेलबाट ४ अंक छ । मलेसियाको एक अंक मात्र छ । भोलि हुने मलेसिया र नेपालबीचको खेलको नतिजा जे भए पनि त्यसले फाइनलको समीकरणमा कुनै असर पार्दैन ।

बेन कुपरले नेदरल्यान्ड्सका लागि ३२ बलमा ५४ रनको इनिङ खेलेका थिए । त्यस्तै कप्तान पिटर सिलारले ३७ रनको योगदान गर्दा अन्य ब्याट्म्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

मलेसियाका लागि मुहम्मद वाफिकले २ तथा पवनदीप सिंह र विरनदीप सिंहले १/१ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको मलेसियाका लागि साइद अजिजले ३०, अनवार अरुद्धिनले २३, विरनदिप सिंहले १४ रनको योगदान गरेका थिए ।

नेदरल्यान्ड्सका लागि सेबास्टियन ब्राट र बस दी लिड र विवियान किङ्माले १/१ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *