सुदूरपश्चिममा हजार बढी कर्मचारी अभाव, सेवा प्रभावित – Nepal Press

सुदूरपश्चिममा हजार बढी कर्मचारी अभाव, सेवा प्रभावित

कैलाली । सरकार गठनको ३ वर्ष बितिसक्दा पनि सुदूरपश्चिम प्रदेशमा दरबन्दीअनुसारका कर्मचारी पुगेका छैनन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रदेशमा अझै एक हजार १८ दरबन्दी रिक्त छ ।

प्रदेश सरकार मातहतका मन्त्रालय तथा कार्यालयहरूमा २ हजार ६ सय ६१ जनाको दरबन्दी छ । तर, हालसम्म एक हजार ६ सय ४३ जना मात्रै उपस्थित रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी जगदीश जोशीले जानकारी बताए ।

उनका अनुसार प्रदेशमा सबै भन्दा धेरै उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र मातहतका कार्यालयमा कर्मचारी अभाव छ । उक्त मन्त्रालय र मातहतको कार्यालयमा हाल ४१२ दरबन्दी रिक्त छ । ८७४ दरबन्दी रहेकोमा ४६२ जना मात्रै कार्यरत छन् ।

सामाजिक विकास मन्त्रालय अन्तर्गतका कार्यालयहरूमा पनि २५४ जना कर्मचारीको अभाव छ । जहाँ ७५२ जनाको दरबन्दी रहेकोमा ४९८ जनको पदपूर्ति छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयमा हाल १३९ दरबन्दी रिक्त छ । जहाँ ४५० दरबन्दीमा ३११ मात्रै कार्यरत छन् । पूर्वाधार मन्त्रालयमा अधिकांश इन्जिनियर भन्दा माथिल्लो तहका कर्मचारी छैनन् ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा ३९४ दरबन्दी रहेकोमा २५९ पद पूर्ति भएको भने १३५ पद रिक्त छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा खटिएका कर्मचारी भन्दा रिक्त दरबन्दी बढी छ । ४७ जनाको दरबन्दी रहेको मन्त्रालयमा २३ जना कार्यरत छन् भने २४ दरबन्दी रिक्त छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा ३८ जनाको दरबन्दीमा १७ पदपूर्ति भएको छ भने २१ पद रिक्त छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अवस्था पनि त्यो भन्दा फरक छैन । ८ जना उपसचिवको दरबन्दी रहेकोमा अहिले एक जना मात्रै कार्यरत छन् । ७ उपसचिव र एक जना प्रदेश सचिवको पद रिक्त छ । ३ प्रदेश सचिवको दरबन्दी रहेकामा २ जना मात्रै कार्यरत छन् ।

मुख्यमन्त्री कार्यालयमा ५२ जनाको दरबन्दीमा ३७ जना कार्यरत छन् भने १५ दरबन्दी रिक्त छ ।

प्रदेशसभा सचिवालयमा २२ जना दरबन्दीमा १२ पदपूर्ति भएको १० पद रिक्त छ ।

प्रदेशमा आवश्यक मात्रामा कर्मचारी नहुँदा समस्या भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी जोशी बताउँछन् । ‘पर्याप्त कर्मचारी नहुँदा कार्यसम्पादनमा समस्या भइरहेको छ’ उनले भने ।

लोक सेवा आयोगमा पनि अभाव

सुदूरपश्चिम प्रदेशको लोक सेवा आयोगको कार्यालयमा पनि कर्मचारी अभाव छ ।

सुदूरपश्चिममा कर्मचारीको पूर्ति गर्ने भन्दै प्रदेश सरकारले प्रदेश लोक सेवासम्बन्धी ऐन निर्माण गरेको २० महिना पछि आयोग बनाएको हो । तर, आयोगमा पनि अहिले आवश्यक्त कर्मचारी छैनन् ।

४५ जना कर्मचारीको दरबन्दी रहे पनि हाल ४ जना मात्रै कर्मचारी रहेको आयोगका अध्यक्ष यज्ञराज बोहराले जानकारी दिए । उनले प्रदेश सरकारसँग आवश्यक कर्मचारी माग गरिएको जानकारी दिए ।

आयोगले प्रदेशमा आवश्यक्त कर्मचारीको लागि आगामी आर्थिक वर्षमा विज्ञापन खोल्ने तयारी गरेको छ ।

‘आगामी आर्थिक वर्षको असोजबाट पहिलो विज्ञापन खोल्ने तयारी गरिरहेका छौं’ अध्यक्ष बोहराले भने ‘त्यहीअनुसार हामीले कार्य योजना बनाएका छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर