योगेश भट्टराई बालुवाटारमा, उदार मनका साथ संवाद गर्दै पार्टी जोगाउन आग्रह – Nepal Press

योगेश भट्टराई बालुवाटारमा, उदार मनका साथ संवाद गर्दै पार्टी जोगाउन आग्रह

ओलीले भने- पार्टीमा सबैलाई स्वागत छ, आउनुस् काम गरौं

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर उदार मनका साथ सबै नेताहरूलाई समेटेर अघि बढ्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर भट्टराईले एमालेलाई एकताबद्ध राख्न अध्यक्ष र दलको नेताको हिसाबले ओलीको भूमिका महत्वपूर्ण रहने भएकाले विगतका तीतामीठा भुलेर वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसँग संवाद गर्न सुझाव दिएका हुन् ।

भेटपछि नेपाल प्रेससँग कुरा गर्दै भट्टराईले भने- ‘मैले पार्टी अध्यक्षलाई भेटेर एमालेलाई एकतावद्ध बनाउने हिसाबले भूमिका खेल्नुस्, त्यसमा हाम्रो साथ सहयोग हुन्छ भनेको छु । एमालेको विभाजनबाट प्रतिक्रियावादीमात्र खुसी हुन्छन्, जनता निरास बन्छन् भन्ने कुरा राखेको छु ।’

भट्टराईले नेताहरूसँग संवाद गर्दै पार्टीमा काम गर्ने सहज वातावरण बनाउन र सर्वोच्च अदालतले फैसला गरेको ठाउँबाट अघि बढ्न आग्रह गरेका छन् । उनले पार्टी एकतालाई जोगाउनका लागि आफ्नो तर्फबाट सहयोग रहने बताएका छन् ।

भट्टराईले भने, ‘हिजो दुवै पक्षबाट हुन नहुने खालका तीतामीठा काम भएका छन् । तर आज तपाईंसँग जुन जिम्मेवारी छ त्यसमा तपाईंले उदार मनका साथ पार्टीलाई एकताबद्ध बनाउनुस्, संवाद गर्नुस् भनेको छु । उहाँले मेरो तर्फबाट भूमिका खेल्छु, सबैलाई पार्टीमा स्वागत छ । आउनुस् काम गरौं भन्नुभएको छ ।’

भट्टराईसहित २७ सांसदलाई कारवाही प्रक्रिया कानूनी रूपमा अघि बढाउने ढंगले मंगलवार अध्यक्ष तथा संसदीय दलका नेता ओलीले स्पष्टीकरण सोधेका थिए । भट्टराई पछिल्लो समय निरन्तर पार्टी विभाजन हुन नदिन सक्रिय छन् ।


प्रतिक्रिया

One thought on “योगेश भट्टराई बालुवाटारमा, उदार मनका साथ संवाद गर्दै पार्टी जोगाउन आग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर