कोरोना कहरले बुटवलका अधिकांश आयोजना प्रभावित, लक्ष्य पूरा नभएपछि फेरि म्याद थपियो – Nepal Press

कोरोना कहरले बुटवलका अधिकांश आयोजना प्रभावित, लक्ष्य पूरा नभएपछि फेरि म्याद थपियो

चैत मसान्तसम्म ३६ प्रतिशत मात्रै बजेट खर्च

रुपन्देही । कोरोना संक्रमणका कारण गतवर्ष कार्यान्वयन हुन नसकेका योजना पूरा गर्न बुटवल उपमहानगरपालिकाले म्याद थप गर्दै आएको छ । फागुन मसान्तसम्म सबै योजनाहरूको सम्झौता गरी कार्यान्वयनमा जाने लक्ष्य लिएकोमा पूरा नभएपछि शुरुमा एक महिना थप गरी चैत मसान्तसम्म सबै योजनाको सम्झौता गर्नेगरी समयसीमा परिवर्तन गरिएको थियो । तर उक्त समयमा पनि लक्षित योजना अगाडि नबढेकाले बाध्य भएर फेरि म्याद थप गरिएको प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।

चैत महिना अन्तिम मिति तोकेको उपमहानगरले गतवर्ष कार्यान्वयनमा नआएका योजनाहरूका लागि पुनः १५ दिन म्याद थप गरेको उनले बताए । उपमहानगरले यही वैशाखको १५ गतेसम्म गत आर्थिक वर्ष २०७६/७७ मा स्थगित भएका योजनाहरूलाई यसै आर्थिक वर्षमा सक्नेगरी पुनः म्याद थप गरेको हो ।

काम शुरु गर्ने समयमा यो वर्ष पनि कोरोना महामारीको संक्रमण बढ्न थालेपछि सबै योजनाहरू कार्यान्वयन गर्न समस्या पर्ने देखिएको ठेकेदार सन्तबहादुर क्षत्रीले बताए । कोरोना दिनदिनै बढ्न थालेपछि कामदारहरु नियमित आउन छाडेका कारण यस्तो समस्या आउनसक्ने आफूले आंकलन गरेको उनको भनाइ छ ।

गत आर्थिक वर्षका योजनाहरु २ सय ८९ बाँकी रहेकोमा चालु आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा २ सय ४८ योजना पूरा गरिसकेको उपमहानगरले चालु आर्थिक वर्षमा कार्यान्वयनमा ल्याएका ४ सय ७ योजनामध्ये २५ योजना मात्रै सम्पन्न भएको जनाएको छ । चालु आर्थिक वर्षका लागि गतवर्ष सहितका ८ सय १४ योजना स्वीकृत भएका थिए । यी मध्ये ६ सय ९६ योजना कार्यान्वयनमा गएका थिए ।

पुँजीगत खर्च ३६ प्रतिशत मात्रै

यसैबीच बुटवल उपमहानगरपालिकाले चैत मसान्तसम्ममा ३६ प्रतिशत मात्रै पूँजीगत खर्च गरेको छ । बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा ३६.२४ प्रतिशत मात्रै खर्च भएको प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए । उनले चालु खर्च ४४.८१ प्रतिशत र वित्तीय खर्च ४२.६६ प्रतिशत खर्च भएको बताए । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा अनुमानित आएको ७०.४५ प्रतिशत आम्दानी गरेको उपमहानगरले जनाएको छ ।

२ अर्ब २० करोड ३४ लाख अनुमानित आम्दानी लक्ष्य राखेको उपमहानगरले १ अबै ६२ करोड १४ लाख आम्दानी गरिसकेको जनाएको छ । संघीय सरकारबाट अनुमानितको ५३.६३ प्रतिशत, प्रदेश सरकारबाट ८०.९८ प्रतिशत, राजस्व बाँडफाँडबाट ७४.८१ प्रतिशत, आन्तरिक श्रोत ऋणसमेत गर्दा ७०.६२ प्रतिशत आम्दानी गरेको जनाइएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर