धनुषा प्रशासनको निर्णय : सबै स्थानीय तहले आइसोलेशन सेन्टर स्थापना गर्नुपर्ने – Nepal Press

धनुषा प्रशासनको निर्णय : सबै स्थानीय तहले आइसोलेशन सेन्टर स्थापना गर्नुपर्ने

जनकपुरधाम । कोरोनाभाइरसको नयाँ भेरिएन्ट संक्रमण रोक्न धनुषा प्रशासनले सबै स्थानीय तहलाई आइसोलेशन सेन्टर स्थापना गर्न आग्रह गरेको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को मंगलवार बसेको बैठकले स्थानीय तहहरुलाई आइसोलेशन सेन्टर स्थापना गर्न आग्रह गरेको हो ।

उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाले क्रमशः कम्तिमा ३० बेड, २० बेड र १५ बेडको आइसोलेसन सेन्टर स्थापना गर्नु पर्ने छ ।
धनुषा जिल्लामा एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ वटा गाउँपालिका सहित १८ वटा स्थानीय तह रहेका छन ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा बसेको बैठकले सबै स्थानीय तहले क्वारेन्टीन समेत संचालनमा ल्याउनु पर्ने निर्णय गरेको छ ।

भारत सँग सीमा नाकासँग जोडिएको स्थानीय तहले प्रत्येक नाकामा हेल्थ डेस्क स्थापना गर्ने र होल्डिङ सेन्टरको व्यवस्था मिलाउने निर्णय पनि भएको प्रजिअ बास्तोलाले बताए ।

जिल्लाभित्रका प्रादेशिक अस्पताल तथा अन्य सरकारी, अर्धसरकारी, निजी तथा सामुदायिक अस्पतालहरुलाई निश्चित संख्यामा कोभिड वेड छुट्याई सरकारले तोकेको न्यूनतम शुल्कमा सेवा दिने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

डीसीसीएमसीको बैठकमा भएको निर्णय अनुसार आइसियू, भेन्टीलेटर, सीसीयू र एचीडयूलाई अद्यावधिक हालतमा राख्न पनि अस्पतालहरुलाई निर्देशन दिएको छ ।

यस्तै जिल्लाभित्रका सम्पूर्ण एम्बुलेन्स र शव वाहनलाई चालु हालतमा राख्न पनि एम्बुलेन्स सञ्चालकहरुलाई पत्राचार गरिएको छ ।

एम्बुलेन्स चालकहरुलाई स्वास्थ्य सुरक्षा सामग्रीहरुसहित परिचालन गर्ने डिसिसिएमसीको बैठकले निर्णय गरेको छ ।

जिल्लाको विभिन्न स्थानमा दैनिक तथा साप्ताहिक रुपमा लाग्ने हाट बजार (पेठिया)हरु साँझ र विहान मात्र संचालन हुन दिने निर्णय गरिएको छ ।
विहान ७ बजेदेखि १० बजेसम्म र बुलेका ४ बजेदेखि ७ बजेसम्म मात्र हाट बजार लाग्न दिन स्थानीय तहलाई डिसिसिएमसीले पत्राचार गरेको छ ।
साथै बजार केन्द्रभन्दा पर खुल्ला ठाउँमा बजार लगाउन पनि निर्देशन दिइएको छ ।
सरकारले तीनदिन अगाडी नै धनुषासहितका जोखिममा रहेका शहरहरुमा विद्यालय बन्द गरी वैकल्पिक पठनपाठनको व्यवस्था मिलाउन निर्देशन दिएको थियो । तर धनुषामा सो निर्णय लागु नभएपछि डीसीसीएमसीको बैठकले पनि बैशाख मसान्तसम्म विद्यालय बन्द राख्न निर्देशन दिएको छ ।

विद्यालय तथा क्याम्पस तहको सञ्चालनमा रहेको परीक्षा वैशाख १० गतेभित्र सम्पन्न गर्न भनिएको भएपनि जनकपुर क्षेत्रका विद्यालयहरु सञ्चालनमा रहेको पाइएको छ ।

प्रमुख जिल्ला अधिकारी बास्तोलाले कोरोना नियन्त्रण गर्न सकारले गरेको निर्णय पालना नगर्ने विद्यालय तथा संस्थाहरुलाई संक्रामक रोग ऐन २०२० अनुसार कार्वाही गरिने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर