कोरोनाको ‘हट स्पट’लुम्बिनी प्रदेश- अस्पताल भरिभराऊ, स्कुल बन्द नहुँदा बालबालिकामा सल्किँदै संक्रमण – Nepal Press

कोरोनाको ‘हट स्पट’लुम्बिनी प्रदेश- अस्पताल भरिभराऊ, स्कुल बन्द नहुँदा बालबालिकामा सल्किँदै संक्रमण

रुपन्देही । मंगलवार भेरी अञ्चल अस्पतालमा १९३ जनाको पीसीआर परीक्षण गर्दा १८९ जनामा कोरोना संक्रमण देखियो । यस्तै अवस्था लुम्बिनी प्रदेशका धेरै जिल्लामा बढिरहेको छ ।

दोस्रो लहराको कोरोना महामारी देखिएपछि लुम्बिनी प्रदेशका कोरोना अस्पतालहरु संक्रमितहरुले भरिभराउ भएका छन् । दैनिकरुपमा कोरोना संक्रमण दर बृद्धि भएपछि थेग्न नसक्ने गरी विरामीहरु अस्पताल पुग्ने गरेका छन् ।

अस्पतालमा विरामीहरुको चापले लुम्बिनी प्रदेश कोरोनाको ‘हट स्पट’ बनेको छ । तर सर्वसाधारणले भने स्वास्थ्य मापदण्डको पालनालाई गम्भीरतापूर्वक लिएका छैनन् ।

कोरोना संक्रमणको दोस्रो लहरमा लुम्बिनी प्रदेशका धेरै स्थानमा बालबालिकामा संक्रमण दर बढी देखिएको छ । कोरोना भाइरस संक्रमणमा नयाँ भेरियन्ट बढी संक्रामक र बालबालिकालाई बढी असर गर्ने चिकित्सकहरुले बताउँदै आएका छन् ।

बालबालिकामा कोरोना संक्रमण बढी दखिएपछि देशका मुख्य सहरका विद्यालय बन्द गर्ने निर्णय सरकारले गरेको भएपनि त्यसको यस क्षेत्रमा पालना भएको छैन ।

उकालो लाग्दै संक्रमणकाे ग्राफ

बाँके, रूपन्देही र दाङमा संक्रमित एक सातामै पाँच गुणाले बढेका छन् । यो अवधिमा कोरोना विशेष अस्पतालका बेड भरिएका छन् । अहिले पाँच अस्पतालमा १ सय १० जना आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । यीमध्ये भेन्टिलेटरमा रहेकाको संख्या ११ रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो तथ्यांकसहित लुम्बिनी प्रदेश कोरोना भाइरस संक्रमणको ‘हटस्पट’ बन्न थालेको छ । भारतबाट भित्रिनेको संख्या बढेसँगै यहाँका तीन जिल्लामा संक्रमितको संख्या उच्च दरमा बढेको हो । यो प्रदेशमा मंगलबार ५ सय ४१ जनामा कोरोना संक्रमण देखिएको थिए । सोमबार ४ सय ६६ जना संक्रमित थपिएका थिए । तीमध्ये ३ सय ४२ जना बाँकेका मात्रै हुन् । दाङमा ५६ र रूपन्देहीमा ३७ संक्रमित थपिए । बाँकेमा कोरोना परीक्षण गरिएकामध्ये ५५ प्रतिशतभन्दा धेरैमा संक्रमण देखिएको छ ।

भेरी अस्पतालमा लक्षणसहितका ४८ जना उपचार गराइरहेका छन् । आईसीयूमा ३२ र भेन्टिलेटरमा ६ जनाको उपचार भइरहेको छ । नेपालगन्ज मेडिकल कलेजले आईसीयूमा २२ जनाको उपचार गरिरहेको छ ।

प्रदेशमा चैत २६ गते ५० जना संक्रमित थपिएका थिए। त्यसको १० दिनपछि वैशाख ६ गते ४ सय ६६ जना संक्रमित थपिए । गत वर्ष वैशाखदेखि यहाँ संक्रमण उच्च दरमा बढेको थियो । चैतसम्म आउँदा संक्रमण कम बिन्दुमा झरी महिनाभर जम्मा ७ सय ३२ जना संक्रमित भएका थिए । कोरोना संक्रमणबाट सोमबार पाँच जनाको ज्यान गएको छ ।

सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले प्रदेशमा कोरोना संक्रमणदर ५३.२६ प्रतिशत रहेको र परीक्षण गर्न आउनेमध्ये आधाभन्दा धेरैमा कोरोना देखिएको जानकारी दिएका छन् ।

आईसीयू र भेन्टिलेटरमा रहेका विरामीमा स्वासप्रश्वास, खोजी, ज्वरो, उच्च रक्तचाप लगायतका समस्या देखिएको भीम अस्पताल भैरहवाका कोरोना फोकल पर्सन डा. आरिफ हुसेनले बताए ।

जिल्लाका सरकारी र निजी गरी ६ अस्पतालले कोभिड संक्रमितको उपचार गर्दै आएका छन् । सबै अस्पतालहरुमा गरेर जम्मा आईसीयू ३७ र भेन्टिलेटर १० छन् । अहिले सबै भरिन थालेका छन् । संक्रमण यसैगरी तीव्ररुपमा फैलियो भने रुपन्देहीमा आईसीयू र भेन्टिलेटर अभाव त हुन्छ नै संक्रमित राख्ने बेड अभाव पनि हुने देखिएको छ ।

कोरोनाका विरामी दैनिक बढ्दै गएपछि जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले सरकारी अस्पतालहरुमा अक्सिजनसहितको बेड संख्या थप्ने, होटलहरुलाई आइसोलेन सेन्टर बनाउने र निजी अस्पतालहरुमा कोभिड उपचारसहितको आईसीयू र भेन्टिलेटर बनाउने तयारी सुरु गरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए ।

बालबालिकामा संक्रमण दर बढी

कोरोना संक्रमणको दोस्रो लहरमा लुम्बिनी प्रदेशका धेरै स्थानमा बालबालिकामा संक्रमण दर बढी देखिएको छ । कोरोना भाइरस संक्रमणमा नयाँ भेरियन्ट बढी संक्रामक र बालबालिकालाई बढी असर गर्ने चिकित्सकहरुले बताउँदै आएका छन् । यस कारणले पनि संक्रमणको दर बालबालिकामा बढी देखिए उनीहरुको आंकलन छ ।

अहिले धेरै बालबालिकामा खोकी लाग्ने, ज्वरो आउने, पखाला लाग्नेजस्ता लक्षण देखिन थालेका छन् । अहिलेको नयाँ कोरोना भाइरस संक्रमण भएमा सन्चो हुने दर समेत कम रहेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राजेन्द्र खनालले बताए ।

यसअघिको कोभिडको संक्रमण दर बालबालिकामा कम थियो । नयां भेरियन्टमा भने विद्यालय अध्ययन गर्ने बालबालिकामा देखापर्नुले गम्भीर बन्नुपर्ने अवस्था आएको चिकित्सकहरुको भनाइ छ ।

लुम्बिनी प्रदेशका मुख्य शहरहरु बुटवल, भैरहवा, घोराही, तुलसीपुर, कोहोलपुर, नेपालगञ्जमा बालबालिकामा संक्रमण बढिरहेको छ । रूपन्देहीमा एक हप्तामा २ सय ८ जना संक्रमित देखिएकामा १६ वर्षमुनिका ५ जना छन् । बांकेमा ५५ जना बालबालिकामा संक्रमण देखिएको छ  ।

विद्यालय बन्द गरिएनन्

कोभिड–१९ को नयाँ प्रजाति फैलिएपछि सरकारले देशका मुख्य सहरका विद्यालय बन्द गर्ने निर्णय गरेको भएपनि त्यसको यस क्षेत्रमा पालना भएको छैन । मन्त्रिपरिषद् बैठकले बैशाख मसान्तभर मख्य शहरी क्षेत्रको विद्यालय बन्‍द गर्ने निर्णय गरेको हो ।

सरकारको उक्त निर्णयपछि जिल्लास्तरमा बसेका डिसीएमसीका बैठकले स्वास्थ्य मापदण्डको पालना गरि विद्यालय सञ्चालन गर्ने अनुमति दिएको छ । यसरी सञ्चालनमा रहेका विद्यालयहरु मध्ये धेरैमा शिक्षकहरु नै संक्रमित भएको बताइएको छ तर विद्यालय बन्द नगरिएको अभिभावकहरुको गुनासो छ ।

अभिभावकहरुले आफूहरुले बच्चा विद्यालय नपठाउदा फोन गरि पठाउन दवाव दिएको गुनासो गरेका छन् । परिक्षा नजिक आएका कारण विद्यालयको भनाइलाई नकार्न नसकि डराईडराई बच्चा पठाउनुपरेको उनीहरुको भनाइ छ ।

रूपन्देहीको जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले आवश्यक स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेपनि मापदण्ड पालनामा उदासीनता देखिएको छ । बालबालिकालाई विशेष निगरानी राख्ने बेलामा खासै चासो नदिएको चिकित्सकहरु बताउँछन् ।

बालबालिकालाई भिडभाडमा जानबाट जोखाउने, विद्यालय पढाउंदा जनस्वास्थ्यका मापदण्ड आनिवार्य पालना गर्न लगाउनेजस्ता संक्रमणबाट बच्ने उपाय अवलम्वन गर्नुपर्ने बालरोग विषेशज्ञ डा.सन्तोष पोखरेल बताउँछन् । सहरी क्षेत्रका परीक्षा सञ्चालन भएका विद्यालयबाहेक अन्य विद्यालय बन्द गर्न सरकारले निर्देशन गरेपनि सरकारको निर्देशनलाई विद्यालय सञ्चालकहरुले पालना गरेका छैनन् ।

उपत्यकाका तीन जिल्लासहित बनेपा, धुलिखेल, भरतपुर, काँकडभिट्टा, बिर्तामोड, दमक, राजविराज, हेटौँडा, भैरहवा, विराटनगर, इटहरी, धरान, विरगञ्ज, नेपालगञ्ज, धनगढी, जनकपुर, पोखरा, बुटवल, घोराही, तुलसीपुुर आदि सहरमा बैशाख मसान्तसम्म भर्चुअल कक्षा सञ्चालन गर्ने निर्णय भएको छ ।

लुम्बिनी प्रदेशको नेपालगञ्ज उपमहानगर पालिकाले मात्र विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मेयर धवलशमशेर राणाले कोरोना दर उच्च देखिएपछि विद्यालय बन्द गर्ने निर्णय गरेको बताए ।

भरिए अस्पताल

अस्पतालहरुमा दिन प्रतिदिन विरामी संख्या बृद्धि भएको लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदकुमार गिरीले बताए । उनले प्रदेश सरकार मताहतमा रहेका लुम्बिनी प्रदेशका ४ वटा अस्पतालहरुमा कोरोनको विरामीहरु संख्या उच्च रहेको उनको भनाइ छ । उनका अनुसार हाल लुम्बिनी अस्पताल बुटवलको माताहतमा रहेको बुटवलको धागो कारखाना रहेको कोरोना विशेष अस्पताल, दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पताल, नेपालगञ्जको भेरी अस्पताल र भैरहवाको भिम अस्पतालमा नयाँ विरामीहरुका लागि वेड खाली रहेको छैनन् ।

दाङको बेलझुन्डीमा रहेको कोराना अस्पतालमा पच्चीस जनाको क्षमता भएको उक्त अस्पतालमा अहिले २६ कोभिड–१९ संक्रमित राखिएको अस्पतालका व्यवस्थापक द्रोण वलीले जानकारी दिए ।

उनका अनुसार पाँच जनालाई सघन उपचारकक्ष (आइसीयू) मा राखेर उपचार गरिएको छ भने अन्य २१ जनालाई ‘जनरल वार्ड’मा राखेर उपचार गरिएको छ । जनरल वार्डमा रहेका २१ जनालाई पनि अक्सिजन दिइएको छ । “हाम्रो क्षमता २५ जनाको हो, त्यसमा पाँच जना आइसीयु शैया छन्”, उनले भने, “तर अहिले हामी २६ जना राख्‍न बाध्य छौँ ।”

पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएकाले यसपछि आउने संक्रमितलाई कसरी व्यवस्थापन गर्ने भन्‍ने चिन्ता रहेको वलीले बताए । अहिले अस्पतालमा घोराहीका १५, तुलसीपुरका आठ, शान्तिनगरका दुई र रोल्पाका एक जना छन् ।

नेपाल संस्कृत विश्‍वविद्यालयअन्तर्गत आयुर्वेद शिक्षण अस्पतालमा कोरोना विशेष अस्पताल सञ्‍चालित छ । अस्पतालका लागि तल्लो तलालाई मात्रै प्रयोग गरिएको छ । माथिल्लो तलामा बिएएमएसका कक्षा सञ्‍चालन भइरहेका छन् । माथिल्ला दुई र तीन तलामा पनि अस्पताल सञ्‍चालन गर्न पाएमा ५५ सैयासम्म सञ्‍चालन गर्न सकिने वलीले बताए ।

एकैदिन ६ जनाको मृत्य

रुपन्देहीमा कोरोनाको संक्रमण कति भयावह बन्दै छ भन्ने स्थिति दैनिक भैरहेको विरामीको मृत्युले प्रष्ट पारेको छ । रुपन्देहीमा एकैदिनमा ६ जना कोभिड संक्रमित विरामीको मृत्यु भएको छ । भैरहवास्थित युसिएमस कोभिड अस्पताल युनिटमा ४ जना र लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पतालमा २ उपचारत संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा २ महिला र एक पुरुष रुपन्देही जिल्लाको र ३ जना जिल्ला बाहिरका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । बुटवलमा उपचाारत महिलामा ज्वरो, निमोनिया, स्वाशप्रश्वासमा समस्या रहेको थियो ।

बाँकेमा ’लकडाउन’

कोभिड–१९ संक्रमितले दिनदिनै थपिँदै गएपछि बाँके जिल्लाका लकडाउन हुने भएको छ । बाँके जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले जिल्लामा संक्रमणको महामारी रोकथाम गर्न बैशाख ९ गतेबाट जिल्लामा ‘लकडाउन’ गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

बिगत एक हप्ताबाट हरेक दिन सयौंको संख्यामा संक्रमित थपिंदै गएपछि डीसीसीएमसीले लकडाउनको सिफारिस गर्न बाध्य भएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेललाले जानकारी दिए ।

बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयका सबै कर्मचारीलाई कोरोना पुष्टि भएपछि वडा कार्यालय बन्द गरिएको छ । एकै दिन ठूलो संख्यामा संक्रमित थपिने र त्यसमा पनि गम्भीर प्रकृतिको संक्रमितको संख्या उच्च भएपछि बाँकेका सबै कोरोना बिशेष वार्डहरू भरिभराउ भएका छन् ।

पाल्पामा दिनहुँ बढ्दै

पाल्पामा केही महिनादेखि शुन्य रहेको कोरोना संक्रमणको दर दिनहुँ बढ्दै गएको छ । पिसिआर परिक्षण गरिएका व्यक्तिहरुमध्ये करीव ५० प्रतिशतमा कोरोना सक्रमण देखिएपछि पाल्पामा संक्रमणको दर उकालो लागेको हो ।

पाल्पामा मंगलबार मात्र ३९ जनाको पिसिआर परिक्षण गर्दा १९ जनामा कोरोना सङ्ंक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा तानसेन नगरपालिकाका ८ जना, बगनासकाली, पूर्बखोला र रिब्दिकोट गाउँपालिकाका २/२ जना,रैनादेबी छहरा गाउँपालिकामा ४ जना र रामपुर नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पामा हालसम्म संक्रमितको संख्या २ हजार ५५ पुगेको छ । संक्रमितमध्ये १ हजार ९ सय ६३ जना निको भएका छन् भने ३८ जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर