बागलुङमा एउटै विद्यालयका ३९ जनामा कोरोना संक्रमण पुष्टी – Nepal Press

बागलुङमा एउटै विद्यालयका ३९ जनामा कोरोना संक्रमण पुष्टी

१० दिन ‘लकडाउन’ गर्न एलएमसीसीको डीसीसीएमसीलाई सिफारिश

पोखरा । बागलुङमा एक विद्यालयका ३९ जनामा कोरोना संक्रमण भएको छ । आइतबार र सोमबारसमेत निरन्तर पढाइ चलेको जिल्लाको बागलुङ नगरपालिकाको एक विद्यालयमा विद्यार्थी र शिक्षक गरी ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाको सामान्य लक्षण देखा परेपछि ९८ जनामा गरिएको परीक्षणमा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख डा. सुरज गुरौंले जानकारी दिए ।

पोखराको क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा ती नयाँ संक्रमित फेला परेका हुन् । संक्रमित सबै अहिले होम आइसोलेसनमा छन् । एउटै विद्यालयबाट यति ठुलो संख्यामा अभिभावक, शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि बागलुङ नगरपालिकाको पालिका स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (एलसीसीएमसी)को आकस्मिक बैठकले नगरपालिकाका वडा नम्बर १२, १३ र १४ लाई कम्तिमा १० दिन पूर्ण रुपमा बन्द गर्न जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) लाई सिफारिस गर्ने निर्णय गरेको छ ।

‘बागलुङमा समुदायस्तरमै कोरोना देखियो । अभिभावक, विद्यार्थी र शिक्षक सबैलाई कोरोना संक्रमण देखिन थाल्यो,’ डा गुरौंले नेपाल प्रेससँग भने, ‘सरकारले गरेको निर्णयमा पनि अटेर गरेपछि १० दिनका लागि विद्यालय पूर्ण रुपमा बन्द गर्न सिफारिस गर्ने निर्णय भएको छ ।’

एलसिसिएमसीको बैठकले डीसीसीएमसीलाई बागलुङको बलेवा क्षेत्र बन्द गर्न सिफारिस गरेको हो । एलसीसीएमसीको सिफारिसलाई डीसीसीएमसीले सदर गरेमात्रै त्यहाँ लकडाउन हुनेछ ।

केही समयअघि भारतबाट आएका ३ जनामा कारोना संक्रमण देखिएको र त्यसैबाट अरुमा पनि सरेको हुनसक्ने डा गुरौंको भनाइ छ । ‘३ जनामा कोरोना देखिएपछि कन्ट्याक ट्रेसिङ गर्दा थप ८ जनालाई देखिएको थियो,’ गुरौंले भने, ‘अहिले सबै संक्रमित त्यही कन्ट्याक ट्रेसिङबाटै पुष्टि भएका हुन् ।’

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बागलुङमा कोरोना संक्रमितको संख्या एक हजार १ सय ७ पुगेको छ । जसमध्ये अहिलेसम्म ८ जनाको मृत्यु भइसकेको छ । बैशाख २ गते सरकारले गण्डकी प्रदेशको बागलुङ र पोखरासहित १४ वटा जिल्लालाई उच्च जोखिमयुक्त जिल्ला घोषणा गरिसकेको छ ।

कोरोना अतिप्रभावित ती जिल्लाका विद्यालय बन्द गर्नसमेत अपील गरिसकेको थियो । तर, ती जिल्लाले अटेर गर्दै पढाइ निरन्तरता दिइरहेका छन् । सरकारको अपीलले मात्रै प्रभावकारी भूमिका निर्वाह नगरेपछि सोमबार मन्त्रिपरिषद्को बैठकले नै सबै विद्यालय बैशाख अन्तिमसम्मका लागि बन्द गर्ने निर्णय नै गरेको छ ।

सरकारले विद्यालयको भौतिक पढाइलाई बैशाख मसान्तसम्म पूर्ण रुपमा बन्द गरेर वैकल्पिक माध्यमबाट पढाउन निर्देशन जारी गरेको छ । तर, गण्डकीका कास्की, बागलुङलगायत ठाउँका विभिन्न स्कुलले पढाइलाई जारी राखेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *