नायक किशोर खतिवडाद्वारा ‘आत्महत्या प्रयास’ ! यस्तो छ अन्तरकथा – Nepal Press

नायक किशोर खतिवडाद्वारा ‘आत्महत्या प्रयास’ ! यस्तो छ अन्तरकथा

काठमाडौं । नेपाली चलचित्रका नायक किशोर खतिवडालाई आइतबार केही साथीहरुले ज्ञानेश्वरस्थित हिमाल अस्पताल पुर्याए । उनले विष सेवन गरेको भन्दै इमर्जेन्सीमा लगियो ।

अस्पतालको इमर्जेन्सीमा स्वास्थ्य जाँच गर्दा विष शरीरभित्र पुगेको भेटिएन । ‘उहाँले विष सेवन गरेको भनेर ल्याइएको थियो, तर हामीले चेक गर्दा विषको असर भेटेनौं,’ अस्पतालका हेल्थ एसिस्टेन्ट डम्बर बोहोराले भने, ‘उहाँले विष पिउन खोज्दा साथीहरुले रोक्नु्भएको रहेछ ।’

बोहोराका अनुसार खतिवडालाई मदिराको असर र डिप्रेसनको लक्षण देखिएको थियो । त्यसपछि अस्पतालले उनलाई भर्ना भएर उपचार गर्न सिफारिस गरे पनि किशोरले नमानेपछि घर फर्काइएको थियो ।

बोहोराले भने, ‘हामीले मनोपरामर्शका लागि सुझाव दिएका थियौं । उहाँले के गर्नुभयो थाहा भएन ।’ नेपाल प्रेसले किशोरसँग फोन सम्पर्क गर्दा आफूले आत्महत्या प्रयास गरेको स्वीकार गरे । अहिले पनि आफ्नो स्वास्थ्य अवस्था सामान्य अवस्थामा आइनसकेको उनले बताए ।

‘प्रेसर घटेको छ, थप स्वास्थ्य परिक्षणका लागि गंगालाल जाने तयारीमा छु,’ उनले भने । आत्महत्या प्रयास गर्नुको कारण उनले खुलाउन चाहेनन् ।

‘अहिले अस्वस्थ छु, केही दिनपछि सबै कुरा बताउँछु,’ उनले भने । आवेशमा आफूले गलत निर्णय लिएको उनको भनाइ छ ।
अहिले आफू साथीहरुको कोठामा बसिरहेको किशोरले जानकारी दिए ।

‘म कतै भागेको छैन, अलिकति फ्रेस हुन दिनुस अनि मिडियाको सम्पर्कमा आउँछु,’ उनले भने ।

यस्तो छ, अन्तरजातीय सम्वन्धको कथा

लामो समयदेखि सम्वन्धमा रहेकी एक युवतीसँग किशोरको पछिल्लो समय विवाद चलिरहेको थियो । उनीहरुले एक–अर्कालाई आरोप प्रत्यारोप गर्दै यूट्यूवमा दिएका धेरै अन्तरवार्ता केही दिनयता भाइरल छन् ।

लक्ष्मी गदाल नामकी युवतीले आफूमाथि किशोरले लामो समयदेखि यौन शोषण गरेको र यातना समेत दिएको आरोप लगाएकी छन् । आफ्नो पेटमा किशोरको बच्चा रहेको उनको भनाइ छ ।

यी दुई विगत तीन वर्षदेखि लिभिङ टुगेदरमा थिए । उनीहरुले अन्तरवार्तामा बताएअनुसार लक्ष्मीले भाडा लिएको कोठामा उनीहरु सँगै बस्थे । तर, विवाद बढेपछि किशोर लक्ष्मीबाट अलग्गिएका थिए ।

लामो समय सँगै बसेपछि जातको कारण देखाएर किशोरले आफूसँग विवाह गर्न नमानेको लक्ष्मीको आरोप छ । लक्ष्मी दलित परिवारकी हुन् ।
लकडाउनपछि कामविहिन भएका किशोर आर्थिक संकटमा थिए । त्यसबेला लक्ष्मीले उनलाई सहारा दिएकी थिइन् ।

यूट्यूव अन्तरवार्तामा सारा निजी कुराहरु छरपष्ट पारेका उनीहरुबीच पछिल्लो समय विवाहको सहमति भएको बताइएको थियो । त्यसअनुसार लक्ष्मी दुलहीको भेषमा भद्रकाली मन्दिरमा पुगिन् । तर, किशोर आएनन् । उनले फोन पनि नठाएपछि लक्ष्मीले यूट्यूवरसामु रुवावासी गरेकी थिइन् ।

को हुन् किशोर ?

किशोर  खतिवडाले करिब एक दर्जन चलचित्रमा अभिनय गरेका छन् । करिब ७ वर्षअघि उनले नेपाली चलचित्रमा डेब्यू गरेका थिए । किशोरले उर्बशी, कसले चोर्यो मेरो मन, लंका लगायत चलचित्रमा अभिनय गरेका छन् ।

लकडाउनका कारण चलचित्र निर्माण बन्द भएसँगै कामविहिन बनेका किशोर चरम आर्थिक संकटमा थिए । एउटा अन्तरवार्तामा उनले अब आफूसँग मर्नुभन्दा अर्को विकल्प नभएको बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर