काठमाडौंका होटल आजदेखि ८ बजेसम्म मात्र खोल्न पाइने, भीडभाड हुने क्षेत्रमा यी हुन् प्रशासनका मापदण्ड – Nepal Press

काठमाडौंका होटल आजदेखि ८ बजेसम्म मात्र खोल्न पाइने, भीडभाड हुने क्षेत्रमा यी हुन् प्रशासनका मापदण्ड

काठमाडौं । कोरोनाको नयाँ भेरिएन्ट फैलिएको निष्कर्ष निकाल्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले बैशाख मसान्तसम्म जिल्लास्थित सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।

मंगलबार सूचना जारी गर्दै जिल्ला प्रशासनले सोमबारको मन्त्रिपरिषद् बैठकले तोकेका कोभिड सम्बन्धी मापदण्डलाई कार्यान्वयन गर्ने निर्णय गरेको हो । बैशाख मसान्तसम्म भौतिकरुपमा नभई भर्चुअलरुपमा पठनपाठन संचालन गर्नपनि प्रशासनले निर्देशन दिएको छ ।

सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, जिमखाना, स्विमिङ पुल, फुटसल, आमसभा, जुलुस, हाटबजार, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसहरुको भीडभाड हुने गतिविधि बैशाख मसान्तसम्म रोक्न पनि आदेश दिइएको छ ।

एक पटकमा २५ जनाभन्दा बढी भेला नहुने साथै सपिङ मल, डिपार्टमेन्टल स्टोरका संचालक र व्यवस्थापकले जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन गर्न पनि प्रशासनले आदेश दिएको छ ।

२५ जनाभन्दा बढी सहभागि नभई विहे र ब्रतबन्धका लागि पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने नियम ल्याइएको छ ।

सार्वजनिक स्थान र यातायातमा अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने, चालक तथा सहचालकले मास्क एवं भाइजर लगाउनुपर्ने नियम छ । काठमाडौं उपत्यकाका होटल तथा रेष्टुरेन्टहरु बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म जनस्वास्थ्यका मापदण्ड पालना गर्दै संचालन गर्न पनि प्रशासनले निर्देशन दिएको छ ।

आदेशको अवज्ञा गर्ने वा आदेशमा बाधा पुर्‍याउने व्यक्ति तथा संस्थालाई संक्रामक रोग ऐन, २०२० अन्तर्गत कार्वाही गर्ने प्रशासनले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर