आज पनि भिटामिन ‘ए’ खुवाइँदै – Nepal Press

आज पनि भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौं । सरकारले मंगलबार पनि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउँदै छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तगर्तको पोषण शाखाका प्रमुख केदार पराजुलीले सोमबार खुवाउन छुटेका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि ‘अल्वेण्डाजोल’ खुवाउन थालिएको जानकारी दिए ।

सरकारले ‘राष्ट्रिय भिटामिन ए कार्यक्रम’ सञ्चालन गरेर सोमबार र मंगलबार ५महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षमुनिका बालबालिकालाई जुकाको औषधि ‘अल्वेण्डाजोल’ खुवाउन थालेको छ । उक्त कार्यक्रमअन्तर्गत देशभरिका ५२ हजार केन्द्रबाट २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ६० हजार बढीलाई जुकाको औषधि खुवाइँदै छ । ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रमअन्तर्गत ५२ हजार स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिएको छ ।

उनका अनुसार भिटामिन ‘ए’ ६ महिनादेखि १ वर्ष उमेर समूहका बालबालिकालाई आधा क्याप्सुल (१ लाख युनिट) र १ वर्षदेखि ५ वर्षमुनिकालाई एकवटा क्याप्सुल (२ लाख युनिट) तथा जुकाको औषधि १ वर्षदेखि २ वर्ष उमेर समूहका लागि आधा ट्याबलेट (२०० मिलीग्राम) र २ वर्षदेखि ५ वर्षमुनिकालाई एक ट्याबलेट (४०० मिलीग्राम) खुवाउने गरिन्छ ।

सरकारले विसं २०५३ बाट भिटामिन ‘ए’ र विसं २०५८ देखि जुकाको औषधि खुवाउँदै आएको छ । वर्षमा २ पटक सरकारले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरेको छ । यस्तै भिटामिन ए र जुकाको औषधिसँगै आज बालभिटासमेत वितरण गर्न थालिएको छ । बालभिटा ६ महिनादेखि २ वर्षमुनिका बालबालिकालाई खुवाइने गरिन्छ । विसं २०७२ बाट शुरु गरिएको बालभिटा ८ लाख बालबालिकालाई खुवाउन थालिएको छ । बालभिटा ४६ वटा जिल्लाका बालबालिकालाई दिइने गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर