राष्ट्र बैंकका कर्मचारीलाई ५५ करोड वितरण, कल्याणकारी कोषको रकमबाट दामासाही – Nepal Press

राष्ट्र बैंकका कर्मचारीलाई ५५ करोड वितरण, कल्याणकारी कोषको रकमबाट दामासाही

काठमाडौं । कोभिड १९ ले मुलुक आक्रान्त भएको समयमा नेपाल राष्ट्र बैंकले भने आफ्ना कर्मचारीलाई कल्याणकारी सञ्चय कोष मार्फत करीव ५५ करोड रुपैयाँ भुक्तानी दिएको खुलेको छ ।

गत बर्ष कोभिडका समयमा राष्ट्र बैंकका अधिकांश कर्मचारीहरु बिदामा बसेका थिए । नेपाल सरकारले बजेटमार्फत कोभिडको कारण देखाउँदै खर्च कटौतीका लागि निजामती कर्मचारीको तलब भत्ता बृद्धि गरेको थिएन । सरकारले अधिकांश वैठक भत्ताहरु पनि खारेज गरेको थियो ।

तर, यता नेपाल राष्ट्र बैंकका कर्मचारीले भने सोही अवधिको कर्मचारी कल्याणकोष मार्फत दामासाहीले अतिरिक्त रकम बुझेका छन् ।

नेपाल राष्ट्र बैंकमा १२९० जनाको स्थायी दरबन्दी रहेको छ । कनिष्ठदेखि बरिष्ठसम्मका कर्मचारीलाई उनीहरुको ग्रेडका आधारमा रकम बितरण गरिएको स्रोतले जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकका कर्मचारीको ग्रेडअनुसारको रकम खातामा जम्मा भइसकेको छ ।

आर्थिक बर्ष २०७६÷७७ को बार्षिक प्रतिवेदन समेत ३ महिना ढिलो गरी प्रकाशन गर्दै कर्मचारी कल्याणकारी कोष मार्फत कर्मचारीलाई रकम भुक्तानी दिइएको हो ।

नेपाल राष्ट्र बैंकको कर्मचारी कल्याणकारी सञ्चयकोषका लागि मुनाफाको १० प्रतिशतसम्मको रकम जम्मा गर्न सकिने व्यवस्था भएपनि उक्त रकम बितरण गर्न भने नपाइने जानकारहरु बताउँछन् ।

नेपाल राष्ट्र बैंकको कर्मचारी विनियमावलीको तेस्रो संसोधन २०७४ को विनियम ७८ भएको ब्यवस्थानुसार बैंकको खुद नाफालाई आधार बनाई कर्मचारी कल्याणकारी सञ्चयकोषमा छुट्याइएको रकम १० प्रतिशतले बृद्धि गरी हुन आउने रकम कोषमा जम्मा गर्नुपर्ने ब्यवस्था रहेको छ ।

त्यसका लागि नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले अनुमति प्रदान गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ । यसरी कर्मचारी कल्याणकारी सञ्चय कोषमा जम्मा भएको रकम अवकास कोषमा जम्मा गर्नुपर्ने र अबकास कोषको सिमा भन्दा बढी कर्मचारीलाई मात्रै रकम बितरण गर्न पाइने व्यवस्था उक्त विनियमावलीमा उल्लेख गरिएको छ ।

नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्थाको नियामक निकाय भएकाले आफ्ना कर्मचारीहरु बोनस बितरण गर्न पाउने कानुनी व्यवस्था नभएकाले कर्मचारी कल्याणकारी सञ्चय कोष मार्फत राष्ट्र बैंकको मुनाफाबाट १० प्रतिशत हुन सम्म रकम बितरण गर्दै आएको नेपाल राष्ट्र बैंकका एक उच्चपदस्थ अधिकारीले नेपाल प्रेसलाई जानकारी दिए ।

कर्मचारी कल्याणकारी सञ्चयकोषमा रकम जम्मा गर्नका लागि सञ्चालक समितिको स्वकृति आवश्यक पर्ने हुन्छ । हाल नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको अध्यक्षमा गर्भनर महाप्रसाद अधिकारी , सदस्यहरुमा अर्थमन्त्रालयका सचिव शिशिर ढुङ्गना , नेपाल राष्ट्र बैंकका गेपुटी गर्भनरद्धय निलम ढुङ्गना तिम्सिना र बमबहादुर मिश्र त्यस्तै डा.श्रीराम पौडेल , रामजी रेग्मी र सुवोध कुमार कर्ण रहेका छन् ।

नेपाल राष्ट्र बैंकका सदसय समेत रहेका अर्थमन्त्रालयका सचिब शिशिर ढुंगाना नेपाल राष्ट्र बैंकको कर्मचारी विनियमावलीको तेस्रो संशाेधन २०७४ को विनियम ७८ भएको ब्यवस्थानुसार नेपाल राष्ट्र बैंकले आफ्नो मुनाफाबाट १० प्रतिशतसम्म हुन आउने रकम कर्मचारी कल्याणकारी सञ्चय कोषमा बितरण गर्न सक्ने बताउँछन ।

‘नेपाल राष्ट्र बैंकको कानूनमा नै बैंकले आफ्नो मुनाफाको १० प्रतिशतसम्म आफ्ना कल्याणकारी कोषमा रकम बितरण गर्न पाउने व्यवस्था गरेकाले सोहीनुसार व्यवस्था गरिएको हो यसमा विवाद गर्नुपर्ने कारण म देख्दिन’, उनले भने ।

कल्याणकारी कोषको रकम बोनस जसरी वितरण गर्ने कुरा गलत भएको विज्ञहरु बताउँछन् । घुमाएर बोनस बाँड्ने प्रचलन ठीक नभएको राष्ट्र वैंकबाट अवकासप्राप्त एक अधिकारीले बताए ।

उनले भने, ‘राष्ट्र वैंक कर्मचारी सेवा विनियमावलीले यसबारे बोलेको छ तर तजबिजी अधिकार छ । कर्मचारी कल्याणकोषमा जम्मा गर्ने भनेको छ तर विमियम ७८ ले दामासाहीले बाँड्ने भनेको छैन ।’

आर्थिक वर्ष २०७६/७७ को लेखा परीक्षण समेत ढिला गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर