कांग्रेस कार्यकर्ता डिप्रेसनमा जान नपरोस् ! – Nepal Press
नेपाल चिन्तन

कांग्रेस कार्यकर्ता डिप्रेसनमा जान नपरोस् !

मर्सिडिज बेन्ज सन् १९२६ जर्मनमा निर्माण शुरु गरिएको विश्व प्रसिद्ध गाडी हो । महङ्गो सूचीमा पर्ने यो गाडी आकर्षक डिजाइन, आधुनिक सुविधा सम्पन्न र सुरक्षित मानिन्छ । यो गाडी चढ्नेहरुको उच्च प्रतिष्ठासंग जोडिएको हुन्छ ।

मर्सिडिज बेन्ज चढ्नेहरु समाजमा प्रतिष्ठित कहलिन्छन् । राजा महाराजा, राज्यका शासक र प्रशासक, उच्च व्यापारिक घराना, राजनीतिक नेताहरुको प्रमुख रोजाईमा पर्छ मर्सिडिज बेन्ज । ९४ वर्षदेखि आजको दिनसम्म विश्व बजारमा एकछत्र प्रतिष्ठाको राज जमाएको छ मर्सिडिज बेन्जले ।

राणा शासन अन्त्यको लागि २००३ सालमा गठन गरिएको नेपाली काङ्ग्रेस २०७२ सम्मको ७० बर्षको काल खण्डलको इतिहास र उसले पूरा गरेको जिम्मेवारी सम्मान र प्रशंसायोग्य नै थियो । वीपीको राजनीतिक दूरदृष्टि, सुर्वणको दानवीर भावना, गणेशमानको निष्ठा र त्याग अनि किसुनजीको सादगी जीवनशैलीको जगमा गठन भई स्थापित भएको समाजवादी दल हो, नेपाली कांग्रेस ।

यति गर्विलो इतिहास र महान् नेताहरुको सम्मान अहिले कांग्रेसले यथोचित ढंगबाट गर्न सकेको छैन । अहिलेको कांग्र्रेस नेतृत्व, उसको अनुत्तरदायी छवि र शैली देखेर कांग्रेस कार्यालयहरुमा राखिएको संस्थापकहरुको फोटो ‘मागी खाने भाँडो’ मा परिणत भएको छ ।

नेपाली कांग्रेसको १३ औं महाधिवेशन २०७२ फागुनमा सम्पन्न भएको थियो । त्यसयता कांग्रेस राष्ट्रिय राजनीतिमा दिशाहीन र प्रभावहीन सावित भइरहेको छ । गत संसदीय निर्वाचनमा कांग्रेसले व्यहोरेको लज्जास्पद हार मात्रै होइन त्यसयता संसदमा प्रमुख प्रतिपक्षीका रुपमा निर्वाह गर्न नसकेको प्रभावकारी भूमिकाले पनि कांग्रेस नेतृत्वमाथि प्रश्न उठिरहेको छ ।

अहिलेको नेपाली कांग्रेस मूर्ख चालकले सडक किनारामा दुर्घटना गराएको महंगो मर्सिडिज गाडी जस्तै भएको छ । दुर्घटनामा परेको गाडीप्रति आम नागरिकको सहानुभूति त छ तर दुर्घटना गराउने चालकप्रति व्यापक आक्रोश पनि छ ।

मर्सिडिज गाडीको रुपमा रहेको कांग्रेसलाई गत निर्वाचनमा ग्यारेजमै पु¥याउनुपर्ने गरी दुर्घटनामा पारिएपनि अहिलेसम्म सडक किनारमै छाडिराखेको अवस्था छ । ट्राफिक र यात्रीहरुको दृष्टिमा दोष चालककै भएपनि चालक भने यात्रीलाई नै दुर्घटनाको दोष दिएर उम्कन खोज्दैछन् ।

नेपाली कांग्रेस यतिबेला १४ औं महाधिवेशनको संघारमा छ । कांग्रेसका लागि नीति र नेतृत्व ‘अपडेट’ गर्न यो उपयुक्त मौका हो । जसरी एउटा गाडीलाई ग्यारेजमा लगेर सर्भिर्सिङ गरेर ‘रिकण्डिसन’ मा ल्याइन्छ, त्यसरी नै कांग्रेसलाई पनि ‘रिकण्डिसन’ मा ल्याउनुपर्ने देखिन्छ । साथै कांग्रेसको महाधिवेशनमार्फत नेतृत्वको निरन्तरता वा परिवर्तनबारे पनि निर्णय लिनुपर्ने देखिन्छ ।

सवारी दुर्घटनामा पारिसकेको कमजोर चालकलाई अब निरन्तरता नदिनु नै कांग्रेसको हितमा हुन्छ । कांग्रेस मूल नेतृत्व अर्थात् सभापति शेरबहादुर देउवा नेतृत्वको समूह पार्टी कब्जाको तयारीमा छ । पार्टीका भ्रातृ संस्थाहरुलाई महाधिवेशन गर्न निदिई तदर्थवादमा चलाउँदै आएका देउवाको विकल्पको खोजी गर्नु कांग्रेसका लागि अपरिहार्य भइसकेको छ ।

कांग्रेसमा नेतृत्वको महिमागान मात्रै गर्ने एउटा तप्का छ । जसले आलोचनाका स्वरहरु दबाउन प्रयास गरिरहेको छ । फरक विचार राख्नेहरुलाई वर्गशत्रु सम्झने कांग्रेस नेतृत्व निकटको भजन मण्डलीका कारण आस्थावान् कार्यकर्ताहरुले अपमानबोध गरिरहेका छन् ।

नेतृत्वको कामकारवाही देखेर असली कांग्रेस कार्यकर्ताहरु डिप्रेसनमा जाने सम्भावना बढ्दो छ । मुलुकको पछिल्लो राजनीतिक परिदृश्यले ढिलो चाडो निर्वाचनको संकेत गरिरहेको छ । कांग्रेसको मुख्य लडाई नेपालका सबै कम्युनिष्ट पार्टीहरुसंग नै हुनेछ । यसर्थ कम्युनिष्टसंग प्रतिस्पर्धा गर्नुपर्ने आफ्ना कार्यकर्ताको मनोबल बढाउन नसक्ने नेतृत्वको विकल्प अब खोज्नैपर्छ । देउवाको विकल्प खोज्न प्रयत्न गर्ने एउटा समूह कांग्रेसमा छ, यद्यपि त्यो आफैं विभाजित छ ।

सन् १८५० मा अमेरिकामा हेनरी लेहमैन, एमानुएल लेहमैन र मेयर लेहमैनले स्थापना भएको बहुराष्ट्रिय निक्षेप बैक हो लेहमैन ब्रदर्स । अमेरिकाको न्युयोर्कमा मुख्य कार्यालय रहेको यो बैंकको हेलिप्याड सहितको आफ्नै अत्याधुनिक भवन थियो । अध्यक्ष ÷सिओओ थिए जोसेफ एम. ग्रेगरी । उनले मात्र प्रयोग गर्न पाउने गरी छुट्टै लिफ्टको व्यवस्था थियो ।

यतिका सुविधा र सम्मान पाएका तिनै एकोहोरो र जिद्दी स्वभावका ग्रेगरीले सन् २००८ सेप्टेम्बर १५ मा सधैका लागी यो बैंकको अस्तित्व नै संकटमा पारिदिए । सुविधा र सम्मान जति नै पाएपनि नेतृत्व सही भएन भने जतिसुकै सुन्दर इतिहास पनि धरापमा पर्न सक्छ भन्ने उदाहरण विश्वर लेहमैन बं्रदर्स बनेको छ । कतै नेपाली कांग्रेसको हातल पनि लेहमैन ब्रदर्सकै हुने त होइन भन्ने शंका कांग्रेसका शुभचिन्तकहरुमा बढ्न थालेको छ ।

के होला आसन्न १४औ महाधिवेशन ?

सभापति देउवाको नेतृत्वमा कांग्रेसले इतिहासकै शर्मनाक हार व्यहारेपनि उहाँले हारको जिम्मा लिन चाहनुभएन । पार्टीभित्र सभापति देउवाको नेतृत्व र कार्यशैलीको निरन्तर आलोचना भइ नै रह्यो । देउवाइतर पक्षले त्यतिबेला शीघ्र अधिवेशनको प्रस्ताव अगाडि सारेको भएपनि अहिलेसम्म कांग्रेसको महाधिवेशन हुन सकेको छैन । हेटौंडामा सम्पन्न कांग्रेसका जिल्ला सभापतिहरुको भेलाले विशेष महाधिवेशनका लागि निर्णय गर्ने धेरैको अपेक्षा थियो । यद्यपि सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको सहमतिका कारण त्यस भेलाले ठोस निष्कर्ष दिन सकेन । काठमाडौंमा सम्पन्न महासमितिको बैठक धेरै दिन लम्बियो तर अनावश्यक विवादका कारण त्यसले ठोस निर्णय लिन सकेन ।

विधान अनुसार २०७६ फागुनमा हुनु पर्ने नियमित अधिबेशनलाई देशको परिस्थिति सहज हुदाहुदै पनि बिना कारण १ वर्ष थप गरियो । अधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक भयो । थप गरिएको १ वर्षभित्र अधिवेशनको काम चाहिँ कत्तिपनि हुन सकेन । अधिवेशनको तयारी गर्न छाडेर पार्टीको विधान मिच्ने काम नेतृत्वबाट निरन्तर भइ नै रह्यो ।

अहिले थप गरिएको ६ महिनाको अवधी भदौंमा सकिदैछ । भदौ ७ गतेदेखि काठमाडौंमा महाधिवेशन हुने भनिएको छ तर तयारी सुस्त देखिन्छ । महाधिवेशको काम सुरु भएझैं गर्ने तर अनेका विवाद झिकेर क्रियाशील सदस्यताकै काममा अवरोध सिर्जना गरिएको छ । अन्य पार्टीबाट आएकालाई क्षमताभन्दा बढी क्रियाशील सदस्यता वितरण गरेर पार्टीभित्र पुराना कांग्रेसीलाई अल्पमतमा पार्ने प्रयास जारी छ ।

अझ पार्टीको वैधानिक संरचना भन्दा नेतृत्वले चाहेको व्यक्तिको घर घरबाट क्रियाशील सदस्यताको फाराम वितरण गरेर तल्लो तहदेखि नै पार्टी कब्जाको प्रयत्न भइरहेको छ । यति सबथोक गरेर पनि महाधिवेशन समयमै नगराउन नेतृत्व निकट गुटबाटै भइरहेको प्रयासले कांग्रेसलाई अध्याँरो सुरुङतर्फ धकेल्ने खतरा छ ।

नेतृत्व इत्तर भनिने समूहले पनि एजेण्डा र सैद्धान्तिक विषयमा नेतृत्वलाई दवाव दिन सकेको छैन । आ–आफ्नो गुट उपगुट बनाएर सक्रिय रहेको देउवा इत्तर समूहको अव्यवस्थाले नेतृत्वलाई मनपरी गर्न अझै बल पुगिरहेको छ । पार्टीभित्रका प्रतिपक्षीभित्रको विवाद, एकले अर्कालाई नस्वीकार्ने प्रवृत्ति र सामुहिक भावनाको कमी देखेर कांग्रेसको संस्थापन पक्ष अझ बढी उत्साहित देखिएको छ ।

इतिहासमा प्रजातन्त्र र जनताका निम्ति कांग्रेसले राणादेखि राजाविरुद्ध समेत संघर्ष गरेको हो । आज आफ्नै नेतृत्वमाथि प्रश्न उठिरहँदा कांग्रेसभित्रको प्रतिपक्ष किन मौन छ ? व्यक्तिगत स्वार्थको कुरा एकातिर होला तर पार्टीको जीवनसंग जोडिएका विषयमा पनि नेताहरु अलमलमा पर्नु राम्रो लक्षण होइन ।

बिहान एउटा नेतासंग ब्रेकफास्ट, दिउँसो अर्को नेतासंग लन्च र साँझ अर्कै नेतासंग डिनर गर्ने समूहपनि कांग्रेसमा सक्रिय छ । विचौलिया प्रवृत्तिको यो समूहले नेता भिडाएर आफ्नो स्वार्थ सिद्ध गर्न खोजिरहेको छ । यसबारे पनि कांग्रेस नेताहरु सचेत हुनुपर्ने हो । खासगरी पार्टी नेतृत्वलाई असफल देख्ने, नेतृत्व परिवर्तनको चाहना राख्ने र कार्यकर्ताप्रति जवाफदेही नेताहरुले यस्तो विचौलिया प्रवृत्ति चिन्न जरुरी छ । पार्टीभित्रको प्रतिपक्षी समूहले नेतृत्वलाई एकोहोरो आरोप लगाउने तर आफूले उचित समयमा उपयुक्त कदम चाल्न नसक्ने हो भने कांग्रेस क्षयीकरणको दोष तिनले पनि लिनुपर्ने हुन्छ ।


प्रतिक्रिया

2 thoughts on “कांग्रेस कार्यकर्ता डिप्रेसनमा जान नपरोस् !

Leave a Reply to Arjun pandey Cancel reply

Your email address will not be published. Required fields are marked *