त्रीदेशीय कपमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै, किर्तिपुर रंगशालामा दर्शक नराखिने – Nepal Press

त्रीदेशीय कपमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै, किर्तिपुर रंगशालामा दर्शक नराखिने

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा काठमाडौंमा भइरहेको तीन देशीय ट्वान्टी–२० क्रिकेट सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।

यो खेल जितेको अवस्थामा नेपालले लिग चरणको एक खेल अगावै फाइनलमा स्थान बनाउनेछ । नेपाल, नेदरल्याण्ड्स र मलेसियाले डवल राउण्ड रोविनका आधारमा खेल्दा शीर्ष दुई टोलीले फाइनल खेल्ने नियम छ ।

नेपालले यसअघि शनिबार नेदरल्याण्ड्सलाई र सोमबार मलेसियालाई समान ९ विकेटले पराजित गरेको थियो । शनिबार भएको उद्घाटन खेलमा नेदरल्याण्डले दिएको १ सय ३७ रनको लक्ष्य नेपालले १ विकेटको क्षतिमा १५ ओभरमै पूरा गरेको थियो ।

ओपनिङ जोडी कुशल भुर्तेल र आसिफ शेखले यस प्रतियोगितामा अद्वितीय प्रदर्शन गरिरहेका छन् । डेब्यू प्रतियोगिता खेलिरहेका दुवैमध्ये कुशलले लगातार दुई अर्धशतक प्रहार गरेका छन् । आसिफले पहिलो खेलमा अर्धशतक र दोस्रो खेलमा सोमबार मलेसियासँग ४२ रन जोडेका थिए । यिनीहरुले दुवै खेलमा शतकीय साझेदारी गरे ।

कोरोना महामारी नियन्त्रणका लागि प्रभावित क्षेत्र निर्धारण गरी सरकारले भिडभाडजन्य गतिविधिमा रोक लगाएको छ । त्यसैले त्रिवि क्रिकेट मैदानमा आज दिउँसो सवा १ बजेदेखि सुरु हुने नेपाल र नेदरल्याण्ड्सबीचको खेलमा दर्शकको उपस्थिति हुने छैन ।

नेपाल क्रिकेट संघले सोमबार साँझ विज्ञप्ति जारी गरी सरकारको निर्णय पालना गर्दा समर्थकमा पर्न गएको असुविधाप्रति क्षामा मागेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *