अनुसन्धान, अभियोजनलगायतमा नयाँ शब्दावली प्रयाेग गर्न महान्यायाधिवक्ता कार्यालयको निर्देशन – Nepal Press

अनुसन्धान, अभियोजनलगायतमा नयाँ शब्दावली प्रयाेग गर्न महान्यायाधिवक्ता कार्यालयको निर्देशन

काठमाडौँ । महान्यायाधिवक्ताको कार्यालयले अनुसन्धान, अभियोजनलगायतका कामकारबाहीमा  नयाँ शब्दावली प्रयाेग गर्न मातहतका निकायलाई निर्देशन दिएको छ । महान्याधिवक्ताको कार्यालयको व्यवस्थापन समितिको बैठकले अहिलेसम्म प्रयोग हुँदै आएका एक दर्जन भन्दा बढी शब्दावली परिवर्तन गरेर नयाँ शब्दावली प्रयाेग गर्न सबै उच्च,  जिल्ला सरकारी वकील कार्यालय र विशेष सरकारी वकील कार्यालयलाई निर्देशन दिएकाे हो ।

मुलुकी संहिता समेतका नयाँ कानुनले गरेको कानुनी व्यवस्था तथा यस क्षेत्रमा विश्वमा आएको परिवर्तित अवधारणा समेतलाई मध्यनजर गरी अनुसन्धान, अभियोजन तथा अन्य काम कारबाहीमा प्रयोग गरिँदै आएको शब्दावली परिवर्तन गरिएको कार्यालयका सहन्यायधिवक्ता लोकराज पराजुलीले विज्ञप्तीमार्फत जानकारी गराएका छन् ।

निर्देशन अनुसार अब अपराधको साटो कसुर शब्द प्रयोग गर्नुपर्नेछ भने अपराधीको साटो कसुरदार प्रयोगमा ल्याउनुपर्नेछ। यस्तै प्रारम्भिक प्रतिवेदनको साटो प्रारम्भिक अनुसन्धान प्रतिवेदन, राय प्रतिवेदनको साटो अनुसन्धान प्रतिवेदन, सफलको साटो कसूर ठहर, असफलको साटो कसूर ठहर नभएको वा सफाई शब्दावलीको प्रयोग गर्नुपर्नेछ ।

यस्तै बालबालिकाको हकमा पनि प्रतिवादीको साटो कानूनको विवादमा परेका बालक वा बालिका, अपराधको साटो कसूरजन्य कार्य, हिरासतको साटो निगरानी कक्ष, पक्राउको साटो नियन्त्रणमा लिने र बयानको साटो सोधपुछ शब्दावलीको प्रयोग गर्नुपर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर