१० अर्ब रुपैयाँ पूँजीको एनआरएन नेपाल डेभलमेन्ट फण्ड स्थापना – Nepal Press

१० अर्ब रुपैयाँ पूँजीको एनआरएन नेपाल डेभलमेन्ट फण्ड स्थापना

लगानीदूतको भूमिका निर्वाह गर्न गैरआवासीय नेपालीलाई अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौं । नेपालमा पूर्वाधार, उत्पादनशिल लगायतका क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँ पूँजीको एनआरएन नेपाल डेभलमेन्ट फण्ड स्थापना भएको छ । अर्थ मन्त्रालय र गैरआवासीय नेपाली संघले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै एनआरएन नेपाल डेभलमेन्ट फण्डमा गैरआवासीय नेपालीको ९ अर्ब ५० करोड रुपैयाँ र नेपाल सरकारको ५० करोड रुपैयाँ शेयर लगानी हुने जानकारी गराएका हुन् ।

२०७५ सालमा सम्पन्न लगानी सम्मेलनमा नेपाल सरकार र गैरआवासीय नेपाली संघबीच भएको समझदारी अनुसार गैरआवासीय नेपाली संघले स्थापना गर्ने उक्त कम्पनीमा नेपाल सरकारको ५ प्रतिशत लगानी हुने भएको छ। पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री विष्णु पौडेलले नेपाल सबै हिसाबले लगानीमैत्री भएको भन्दै लगानीदूतको भूमिका निर्वाह गर्न गैरआवासीय नेपालीलाई आग्रह गरे ।

‘सरकार कानूनी र नीतिगत रुपमा विदेश पूँजी भित्राउन प्रतिबद्ध छ । छरिएर रहेको पूँजीमात्र होइन, विदेशी पूँजी पनि ल्याउन चाहन्छ । लगानी वैध स्रोतको र बैंकिङ प्रणालीबाट मात्र राष्ट्रको प्राथमिकतामा लगानी हुन भने जरुरी छ ।’ अर्थमन्त्री पौडेलले भने । अर्थमन्त्री पौडेलले एनआरएन नेपाल डेभलमेन्ट फण्ड स्थापनमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिँदै चुनौती पनि सँगै आएको धारणा व्यक्त गरे । थपिएको बताए ।

नेपाल राष्ट्र बैंकमा गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक निजी साझेदारीका रुपमा आएको कम्पनीले थप आशा जगाएको भन्दै नेपालमा धेरै क्षेत्रमा लगानीका लागि अवसर रहेको बताए । अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले होल्डिङ कम्पनीका रुपमा अघि बढाउन सके लक्ष्य हासिल गर्न सकिने विश्वास व्यक्त गरे । राजस्व सचिव रामशरण पुडासैनीले गैरआवासीय नेपालीको तर्फबाट आउने लगानीका लागि सरकारले आवश्यक सहयोग गर्ने बताए ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले केही वर्षमा फण्डमा लगानीयोग्य रकम ५० अर्ब रुपैयाँ भन्दा बढी पुर्याउने बताए । गैरआवासीय नेपाल संघका संस्थापक अध्यक्ष तथा फण्डका अध्यक्ष डा.उपेन्द्र महतोले पूँजी, कर्पोरेट कल्चर, सुशासन, प्रविधि लगायत ल्याउने भन्दै सरकार सहित सबैको साथ सहयोगको अपेक्षा गरेको बताए ।

नेपाल सरकारको ५० करोड रुपैयाँ शेयर लगानी सहित गैर आवासीय नेपाली प्रबर्द्धक रहेको कम्पनीमा ३ अर्ब रुपैयाँको वैदेशिक मुद्रामा लगानीको प्रतिबद्धता प्राप्त भइसकेको छ । नेपालको उद्यम, व्यवसाय र यातायात, पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्ने कम्पनीको मुख्य उद्देश्य रहेको छ । गैरआवासीय नेपालीलाई लक्षित गरी छिट्टै प्राथमिक सेयर (आईपीओ) निष्काशन गरिने योजना रहेको गैरआवासीय नेपाली संघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *