कांग्रेस आन्तरिक अलमलमै, सदस्यताको काम अझै ४० प्रतिशत बाँकी – Nepal Press

कांग्रेस आन्तरिक अलमलमै, सदस्यताको काम अझै ४० प्रतिशत बाँकी

काठमाडौं । नयाँ सरकारको नेतृत्व लिने निर्णय गरेपनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आन्तरिक अलमलमै रुमल्लिएको छ । भदौंमा महाधिवेशन गर्ने तयारीमा रहेको कांग्रेसलाई क्रियाशील सदस्यताकै काम सक्न हम्मे परेको छ ।

कांग्रेस केन्द्रीय समितिको सोमबारको बैठकमा राष्ट्रिय राजनीतिका कुनै कुरा भएनन् । केन्द्रदेखि प्रदेशसम्म नयाँ सत्ता समीकरणको प्रयासबारे कुनै चर्चा भएन ।

सभापति शेरबहादुर देउवाले बैठक सुरु हुनासाथ महामन्त्री पूर्णबहादुर खड्कालाई प्रस्ताव प्रस्तुत गर्न निर्देशन दिए । खड्काले प्रस्तुत गर्ने प्रस्तावमा त्यसअघि नै शीर्ष तहमा सहमति जुटिसकेको थियो । खड्काले पेश गरेको क्रियाशील सदस्यता वितरण सम्बन्धी प्रस्ताव पारित भयो । समसामयिक राजनीतिबारे अर्को बैठकमा छलफल गर्ने भन्दै सभापति देउवाले बैठक सम्पन्न भएको घोषणा गरे । कांग्रेस केन्द्रीय समितिको अर्को बैठक बुधबार बस्नेछ ।

फेरी कार्यतालिका संशोधन

कांग्रेस महाधिवेशनका लागि महत्वपूर्ण क्रियाशील सदस्यता वितरणको काम हालसम्म ६० प्रतिशत मात्रै पूरा भएको छ । विभिन्न ७१ जिल्लाबाट क्रियाशील सदस्यहरुको नयाँ र नवीकरणको सूची केन्द्रीय कार्यालयको सफ्टवेयरमा इन्ट्री भइरहेको छ ।

कांग्रेसले यसअघि २०७७ साल चैत ३० गतेभित्र सबै जिल्लाले सदस्यता विवरण केन्द्रमा पठाइसक्नुपर्ने गरी कार्यतालिका बनाएको थियो । सोमबारको बैठकले सो अवधि थपेर २०७८ साल बैशाख १५ गतेसम्म पुर्‍याएको छ । कांग्रेस केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले बैशाख १५ पछि आउने क्रियाशील सदस्यताको सूची अस्वीकार गरिने बताए । ‘बैशाख १५ गते राति १२ बजेपछि सफ्टवेयरमा क्रियाशीलको विवरण ईन्ट्री गर्न नमिल्ने बनाउँछौं । जति आउँछ त्यो नै अन्तिम हुनेछ’, लेखकले भने ।

कांग्रेसले ४ वटा जिल्लाको हकमा भने विशेष निर्णय गरेको छ । समायोजन लगायतका विवादका कारण क्रियाशील सदस्यता फाराम नै वितरण नभएका सिन्धुपाल्चोक, सप्तरी, बारा र सोलुखुम्बुलाई सदस्यता ईन्ट्री गर्न बैशाख मसान्तसम्मको म्याद दिइएको छ ।

बैशाख १५ भित्र क्रियाशील सदस्यताको विवरण बुझाउने जिल्ला समितिले बैशाख १७ गतेभित्र क्रियाशील सदस्यताबारे वडा तहदेखिका निर्णयको प्रतिलिपि र विधान बमोजिमको सदस्यता शुल्क केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने निर्णय पनि कांग्रेसले गरेको छ ।

६ लाख सदस्यको सूची केन्द्रमा

कांग्रेसका अनुसार सोमबार दिउँसो २ बजे र १९ मिनेट जाँदासम्म ६ लाख ५ हजार ४ सय ३ जना क्रियाशील सदस्यहरुको विवरण केन्द्रीय कार्यालयमा दाखिला भएको छ । जसमध्ये ३ लाख १९ हजार ३ सय ३५ जना नवीकरण गर्नुपर्ने क्रियाशील सदस्य रहेका छन् ।

त्यस्तै नयाँ क्रियाशील सदस्यहरुको संख्या २ लाख ८६ हजार अठसठ्ठी रहेको छ । कांग्रेसले १४ औं महाधिवेशनका लागि शतप्रतिशत क्रियाशील सदस्य थप गर्ने निर्णय गरेको थियो । नयाँ क्रियाशील सदस्यता वितरण हुनुअघिसम्म कांग्रेसमा ४ लाख ९८ हजार सदस्य रहेका थिए ।

१४ औं महाधिवेशनका लागि कांग्रेसले क्रियाशील सदस्यहरुको संख्या १० लाख पुर्‍याउँदैछ । कांग्रेसले अन्य पार्टीबाट कांग्रेसमा समायोजन हुनेहरुको हकमा क्रियाशील सदस्यताको विवरण केन्द्रीय कार्यालयमै सोझै बुझाउनुपर्ने व्यवस्था गरेको छ ।

अन्य फोरम लोकतान्त्रिक, राप्रपा र अखण्ड नेपाल पार्टीबाट कांग्रेसमा आएका सदस्यहरुको विवरण भने बैशाख मसान्तसम्म केन्द्रीय कार्यालयमा बुझाउन सकिने कांग्रेस केन्द्रीय सदस्य जीवन परियारले जानकारी दिए । नेता परियारका अनुसार अझैं ४० प्रतिशत क्रियाशील सदस्यहरुको विवरण केन्द्रमा आउन बाँकी रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर