डेभ वाटमोरको ‘मास्टर स्ट्रोक’ ! नेपालले भेट्टायो ओपनिङ जोडी – Nepal Press
त्रिदेशीय टि-२० क्रिकेट सिरिज

डेभ वाटमोरको ‘मास्टर स्ट्रोक’ ! नेपालले भेट्टायो ओपनिङ जोडी

काठमाडौं । ट्राइ नेसन्स टि-२० सिरिजअघि नेपाली क्रिकेट टिमको मुख्य टाउको दुखाइको विषय थियो ओपनिङ जोडी । अघिल्लो दिनसम्म पनि ओपनिङमा को-कोलाई पठाउने निधो थिएन ।

शनिबार भएको नेदरल्यान्ड्सविरुद्धको पहिलो म्याचमा नयाँ प्रशिक्षक डेभ वाटमोरले ‘बोल्ड’ निर्णय लिए । उनले युवा ब्याट्म्यानद्वय कुशल भुर्तेल र आसिफ सेखलाई नेपालको ब्याटिङको अग्रपंतिमा उभ्याइदिए । यो निर्णय यस अर्थमा बोल्ड थियो कि यी दुवै ब्याट्सम्यानसँग अन्तर्राष्ट्रिय टि-२० म्याचको अनुभव नै थिएन । उनीहरु दुवै यही म्याचमार्फत डेब्यू गर्दै थिए ।

कप्तान ज्ञानेन्द्र मल्ललाई तेस्रो स्थानमा झारेर दुई डेबुटान्टलाई ओपनिङमा पठाउने निर्णय नै अन्ततः नेपालका लागि ‘मास्टर स्ट्रोक’ सावित भएको छ । यो एक प्रकारले सुखद आश्चर्य हो । नेदरल्यान्ड्सले दिएको लक्ष्यमा पुग्न यी दुई ब्याट्म्यान नै काफी होलान् भन्ने सायद वाटमोरले नै सोचेका थिएनन् ।

पहिलो म्याचमा उनीहरुको जोडी ‘क्लीक’ हुनु भाग्यको खेल पनि हुन सक्थ्यो । आखिर टि-२० मा प्रतिभासँगै भाग्यको पनि ठूलो हात हुन्छ । तर, लगातार दुई म्याचमा यो जोडी चम्केपछि नेपाली क्रिकेटको भविष्यका लागि सुखद संकेत मिलेको छ । नेपालले झेलिरहेको ओपनिङ जोडीको संकट समाधान हुने आशा पलाएको छ ।

नेदरल्यान्ड्सविरुद्धको म्याचमा कुशल र आसिफ दुवैले अद्र्धशतक बनाए । अनि नेपालका लागि सर्वाधिक ठूलो साझेदारीको किर्तिमानसमेत राखे । उनीहरुले ११६ रनको सतकीय साझेदारी गरेका थिए । कुशल ६२ रनमा आउट भएका थिए भने आसिफ ५४ रनमा अविजित रहे ।

नेदरल्यान्ड्स नेपालका लागि कमजोर प्रतिद्वन्द्वी थिएन । आमरुपमा नेपालभन्दा बलियो नै मानिन्छ । भलै यस प्रतियोगितामा सहभागी टोलीमा धेरै फस्र्ट च्वाइस खेलाडीहरु छैनन् ।

घरेलु दर्शकका बीच नेपाल बलिङ र ब्याटिङ दुवैमा नेदरल्यान्ड्समाथि हावी भएको थियो । नेदरल्यान्ड्सले दिएको १सय ३७ रनको लक्ष्य नेपालका लागि ‘ट्रिकी’ सावित हुन सक्थ्यो । तर, आसिफ र कुशलको साझेदारीले त्यो सम्भावनाको अन्त्य गरिदियो ।

आज मलेसियाविरुद्ध फेरि पनि यो जोडीले ठ्याक्कै त्यही प्रदर्शन दोहोर्‍याएको छ । मलेसिया नेपालभन्दा कमजोर प्रतिद्वन्द्वी हो । नेपालका बलरहरुले १०९ रनमा अलआउट गरेर जितको आधार तयार गरिसकेका थिए । तर, नेपालको ब्याटिङको के भर । कहिलेकाहीँ टि-२० मा कमजोर स्कोरले पनि दुख दिन्छन् ।

यद्यपि, आज त्यस्तो केही भएन । फेरि पनि आसिफ र कुशलको ब्याट चल्यो । उनीहरुको आक्रमणमा मलेसियाको बलिङ निरिह देखियो । दुवैले त्यही इनिङ खेले जुन टि–२० मा ओपनरबाट अपेक्षा गरिन्छ । आसिफभन्दा कुशल अझ बढी विष्फोटक अन्दाजमा देखिए । आज आसिफ अद्र्धशतक बनाउन चुके पनि नेपालका लागि अर्को शतकीय साझेदारी गर्न यो जोडी सफल भयो ।

मलेसियाविरुद्ध कुशलको प्रदर्शन लगभग अघिल्लो म्याचकै फोटोकपी थियो । उनले ५ छक्का र ३ चौकासहित ४१ बलमा ६१ रन जोडे । पहिलो दुई अन्तर्राष्ट्रिय टि–२० मा लगातार अर्धसतक बनाउने दुर्लभ किर्तिमान कुशलको नाममा रह्यो ।

को हुन् आसिफ ?

आसिफ क्रिकेट प्रेमीबीच परिचित नाम हुन् । नेपालमा हुने विभिन्न एक दिवसीय प्रतियोगिता र टि–२० फ्रेन्चाइजहरुमा उनी डिमान्डेड छन् ।

आसिफले विगतमा ओडीआइमा अवसर पाए पनि आफूलाई प्रुफ गर्न सकेका थिएनन् । पहिलोपटक उनी ५ वर्षअघि राष्ट्रिय टिममा परेका थिए, तर उल्लेख्य प्रदर्शन गर्न चुकेपछि टिममा स्थान गुमाए ।

२३ वर्षीय आसिफ वीरगञ्ज निवासी हुन् । उनका साख्खै दाजु आरिफ सेफ अहिले नेपाली क्रिकेट टिमका महत्वपूर्ण सदस्य छन् । यस प्रतियोगितामा यी दाजुभाइले एकैसाथ मौका पाएका हुन् । आरिफ मध्यक्रमबाट खेल्छन् । पाँच वर्षअघि उनीहरुले एकसाथ राष्ट्रिय टिमबाट एकदिवसीय क्रिकेट खेलेका थिए । तर, त्यसयता आसिफ राष्ट्रिय टिममा अटाउन सकेनन् । उमेर समूहमा भने उनले नेपालका तर्फबाट थुप्रै प्रतियोगिता खेलेका छन् ।

आसिफले विकेटकिपिङ पनि गर्छन् । घरेलु एकदिवसीय र टि–२० मा उनले थुप्रै उत्कृष्ट इनिङ खेलेका छन् । उनले २०७३ सालमा भएको इपीएल फाइनलमा सनसनीपूर्ण शतक बन्दै टिमलाई जिताएका थिए ।

आसिफसँग ठूला सटहरु खेल्ने क्षमता छ । तर, उनको ब्याटिङमा ‘कन्सिस्टेन्सी’ छैन । डट बल धेरै खेल्छन् । त्यही कमजोरीले राष्ट्रिय टिममा उनले आफ्नो मजबुत स्थान बनाउन सकेनन् । अब उनीसँग आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करिअरलाई उचाइमा पुर्याउने अवसर छ ।

को हुन् कुशल ?

२४ वर्षिय कुशल रुपन्देहीका हुन् । लामो समयदेखि क्रिकेट खेल्दै आए पनि अहिलेसम्म उनको क्रिकेट करिअर खासै उत्साहजनक थिएन ।

उमेर समूहबाट कुशलले नेपालको प्रतिनिधित्व गरेका छन् । उनी अलराउन्डरको भूमिकामा थिए र मध्यक्रममा ब्याटिङ गर्थे । उनी दाया हातले मिडियम पेस बल फ्याक्छन् । उनको बलिङ सामान्य स्तरको छ ।

कुशलले पछिल्लो २–३ वर्षयता घरेलु क्रिकेटमा ओपनिङ गर्न थालेका हुन् । उनको क्षमता चिनेर प्रशिक्षक वाटमोरले नेपाली राष्ट्रिय टिमकै ओपनरका रुपमा अभ्यास गराएका थिए ।

कुशल यसअघि २०१९ को नोभेम्बरमा एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि नेपाली टिममा छनोट भएका थिए । १४ नोभेम्भर २०१९ मा उनले भारतविरुद्धको म्याचमा डेब्यू गरे । उक्त म्याचलाई ‘लिस्ट ए’ को मात्र मान्यता थियो ।

कुशल २०१७ मा नेपालको अन्डर १९ क्रिकेट विश्वकपका लागि छनोट भएका थिए । उनी २०१९ को दक्षिण एसियाली खेलकुदमा नेपालको राष्ट्रिय टिममा परेका थिए ।

ओपनिङको संकट टर्‍यो !

अहिले नै यो जोडीलाई लिएर धेरै महत्वाकांक्षा पाल्नु हतारो हुन सक्छ । उनीहरुले आफूलाई प्रमाणित गर्न अझै धेरै यस्ता प्रदर्शन दोहोर्‍याउनुपर्छ । तर, तत्काललाई नेपालको ‘ओपनिङ जोडी’ को संकट टरेको छ । जुन पाटोलाई नेपालको ‘कमजोर कडी’ मानिएको थियो, त्यही नै अहिले बलियो देखिँदा प्रशिक्षक वाटमोर बधाइका पात्र बनेका छन् ।

दुई म्याचको प्रदर्शनले कुशल र आसिफको टि–२० करिअरको ‘डिम स्टार्ट’ सुनिश्चित गरेको छ । यो सुरुवातलाई अबका दिनमा उनीहरुले यत्तिकै खेर फाल्नु हुँदैन । यो भन्दा कठिन पीचमा, योभन्दा कठिन प्रतिद्वन्द्वीका विरुद्ध यही स्तरको प्रदर्शनका लागि उनीहरुले आफूलाई तयार पार्नुपर्छ ।

ओपनिङ जोडी मजबुत बन्यो भने नेपालको समग्र ब्याटिङ स्तर माथि उठ्न सक्छ । किनकी मध्यक्रममा नेपाल मजबुत नै छ । ओपनरले राम्रो सुरुवात दिए भने त्यसपछि आउने ज्ञानेन्द्र मल्ल, पारस खड्का, दिपेन्द्र सिंह ऐरी, शरद भेषवाकरहरुले खुलेर खेल्न सक्छन् । जारी प्रतियोगिताका दुई म्याचमा मध्येक्रमले टेस्ट हुनु परेकै छैन । आगामी म्याचमा पनि ओपनर जोडीको फर्म कायम रहने अपेक्षा गरौं ।


प्रतिक्रिया

One thought on “डेभ वाटमोरको ‘मास्टर स्ट्रोक’ ! नेपालले भेट्टायो ओपनिङ जोडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *