कसरी छक्याए कांग्रेस र माओवादीलाई जसपाका सांसदले ?, शंकर पोखरेल ‘सेफ जोन’ मा – Nepal Press
लुम्बिनी प्रदेश

कसरी छक्याए कांग्रेस र माओवादीलाई जसपाका सांसदले ?, शंकर पोखरेल ‘सेफ जोन’ मा

रुपन्देही । आफैंविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने तीन सांसदसहित जसपाका ४ जनालाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका छन् ।

नयाँ मन्त्री बन्नेमा जसपाका सांसद सन्तोष पाण्डे, विजय यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे छन् । कल्पना पाण्डेबाहेक बाँकी तीनैजनाले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

कांग्रेस र माओवादीसँग मिल्दा २ वटाभन्दा मन्त्रालय नपाउने तर एमालेसँग मिल्दा सबैजना सुरक्षित हुने ठानेर शंकर पोखरेललाई साथ दिएको जसपाका एक सांसदले नेपाल प्रेसलाई बताए ।

उनीहरूलाई सपथग्रहण गराउने अन्तिम तयारी भइरहेको छ ।

मुख्यमन्त्रीविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी र जनता समाजवादी पार्टीले अविश्वासको प्रस्ताव दर्ता गरेको केही घण्टामै लुम्बिनीमा सरकारका लागि नयाँ समीकरण शुरू भएको हो । जसपाले कांग्रेस र माओवादीलाई छक्याएर एमालेसँग सहकार्य गर्न पुगेको छ ।

लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराल र कानूनमन्त्री कुलप्रसाद केसीले पदबाट राजीनामा दिएसँगै जनता सामाजवादीका प्रमुख सचेतक सन्तोष पाण्डेयको नेतृत्वमा सरकारमा जाने गरी छलफल शुरू भएको थियो ।

यस्तो छ गणित

८७ सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रले दुईजना सांसदलाई पार्टीले कारवाही गरेपछि ८५ सदस्यीय भएको छ । जसमध्ये एमालेका ४१, नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जनता समाजवादीका ६ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् ।

एमालेको माधव नेपाल पक्षमा खुलेका २ सांसद छन् । उनीहरूले कर्णाली प्रदेशमा जस्तै नयाँ सरकारको लागि साथ दिने माओवादी केन्द्रले आशा गरेर अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *