माधव नेपालको आरोप- ओलीले भजनमण्डलीबाहेक कसैलाई आफ्नो देखेनन् (भिडियो) – Nepal Press

माधव नेपालको आरोप- ओलीले भजनमण्डलीबाहेक कसैलाई आफ्नो देखेनन् (भिडियो)

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीमा हिटलर प्रवृत्ति हावी भएको भन्दै आसेपासे र भजनमण्डलीबाहेकलाई आफ्नो नदेखेको आरोप लगाएका छन् ।

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले नवनिर्वाचित कार्यसमितिलाई पदस्थापन तथा बधाई दिन सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेपालले प्रधानमन्त्री बनाउन जसले भ¥याङ चढाए, उसैलाई ओलीले लात हानेर सडकमा पु¥याईदिएको पनि टिप्पणी गरे ।

‘हाम्रै देशमा कतिपयहरु छन् नजितुन्जेलसम्म ठूलाठूला कुरा गर्छन्, जितेको भोलिपल्ट आफूलाई सम्राट ठान्ने गर्दछन् । जितेको भोलिपल्ट जुन भर्याङ चढेका हुन्छन्, त्यो भर्या‍ङ्लाई लात्तीले पुक्क फालेर हिर्काएर फाल्दिन्छन्’ उनले भने, ‘पुक्क फालिएकाहरु सडकमा पछारिन्छन्, त्यसपछि उनीहरु बिजोग हुने स्थितिमा पुग्न खोज्दछन् । तर आँटिलाहरु फेरि उठछन् ।’

अब कसैको आदेश नमान्ने भन्दै उनले ‘भजनमण्डली’को कुप्रचारका पछि नलाग्न पनि आग्रह गरे । नेता नेपालले संसदले राम्रो भूमिका निर्वाह गर्दैगर्दा पनि आफ्नो समर्थनमा नभएपछि प्रधानमन्त्री ओलीले संसदलाई नै घाँडो ठानेको पनि बताए ।

‘संसदले राम्रो भूमिका निर्वाह गर्दैछ तर संसदमा आफ्नो समर्थन नभएपछि संसदलाई नै घाँडो ठान्ने, पार्टी भित्र आफ्नो बहुमत नभएपछि पार्टीलाई नै घाँडो ठान्ने, घरमा आदेश पालक नभएपछि घरैलाई घाँडो ठान्ने, अनि घरै भत्काइदिने, पार्टी नै भत्काइदिने, संसदै भङ्ग गरिदिने यस्तो विध्वंसकारी प्रवृति हाम्रो नेपाली समाजमा हिजोआज देखा पर्न थालेको छ । यो विध्वंसकारी प्रवृत्तिले सबैलाई दुःख दिइरहेको छ’, ‘दुःखको मात्रा फरकफरक होला तर नेपाली जनतामा सबै चिजको सामना गर्ने आँट रहेछ, खुबी रहेछ, क्षमता रहेछ र हामी यस अर्थमा भन्छौं गलत कुराको हार हुन्छ सत्यको जित हुन्छ त्यसैले हार भयो भनेर थाक्ने पनि होइन, हार मानेर मैदान छोडने पनि होइन । दृढताका साथ अगाडि बढ्ने हो ।’

उनले सकेसम्म सबैलाई सुधार्ने कोसिस गर्ने पनि बताए । अहिले आफूले कुनै व्यक्तिको विरोध गरेको नभइ गलत प्रवृत्तिको विरोध गरेको बताए । ‘प्रतिगमनले धेरै सताएको छ । अब छिटै यसको अन्त्य हुन्छ’ उनले भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर