कुशलको अविजित अर्धशतकमा नेपालको शानदार जित – Nepal Press

कुशलको अविजित अर्धशतकमा नेपालको शानदार जित

काठमाडौं । कुशल भूर्तेलको अविजित अर्धशतकप्रेरित नेपालले ट्राई नेसन ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिजमा सोमबार मलेसियालाई ९ विकेटले पराजित गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाएर १०९ रनको योगफल तयार गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले १२.१ ओभरमा कुनै विकेट नगुमाइ ११० रनको लक्ष्य पूरा गर्यो ।

नेपालका लागि आक्रामक ब्याटिङ गरेका ओपनर कुशलले ४१ बलमा ३ चौका र ५ छक्कासहित अविजित ६१ रनको इनिङ खेले । यसै सिरिजमार्फत् ट्वान्टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका दुई खेलाडी कुशल र आशिफ शेखले १०२ रनको शतकीय साझेदारी गर्दै शानदार सुरुआत दिलाएका थिए ।

शनिबार भएको खेलमा डेब्यु गरेका आशिफले डेब्यू खेलमै अर्धशतक बनाएका थिए । आज मलेसियाविरुद्धको खेलमा ८ रनले अर्धशतक बनाउन चुकेका आशिफले २९ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए ।

वान् म्यान डाउनमा क्रिजमा उत्रिएको उप कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ६ रनको योगदान गरे ।

मलेसियाका लागि विरनद्वीप सिंहले १ विकेट लिनु बाहेक अन्य बलर असफल रहे ।

यसअघि मलेसियालाई १०९ मा अल आउट गरेको नेपालका लागि करण केसीले तीन विकेट लिएका थिए । त्यस्तै, सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, उपकप्तान दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र साहब आलमले १/१ विकेट लिए ।

नेपालको कसिलो बलिङसामु टिक्न नसकेको मलेसियाले १६५ ओभरमा सबै विकेट गुमाएर १०९ रनको योगफल तयार गर्‍यो । मलेसियाका लागि ओपनर साद अजिजले २४ बलमा ४ चौका र १ छक्कासहित २७ रन बनाए । त्यस्तै, सार्भिन मुनियादीले २० तथा विकेटकिपर ब्याट्सम्यान शफिक सरिफले १५ रन जोडेका थिए ।

पहिलो खेलमा नेदरल्यान्ड्समाथि पनि ९ विकेटको फराकिलो जित निकालेको नेपालको यो लगातार दोस्रो शानदार जित हो । भोलि हुने खेलमा नेपालले नेदरल्यान्ड्सको सामना गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *