गण्डकीमा एकैदिन ६६ जनामा कोरोना, एकको मृत्यु – Nepal Press

गण्डकीमा एकैदिन ६६ जनामा कोरोना, एकको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा सोमबार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये सबैभन्दा धेरै पोखराका ४८ जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पोखराको लाइफ केयर डाइग्नोस्टिक प्रालि, क्षयरोग उपचार केन्द्र र मध्यविन्दु जिल्ला अस्पतालमा गरिएको परीक्षणमा नयाँ संक्रमित पुष्टि भएका हुन् । सोमबार कोरोना पुष्टि हुनेमा कास्कीसहित तनहुँका ६ जना, पर्वत र स्याङजामा ४/४ जना, म्याग्दी र नवलपुरका २ जना, गोरखा, बागलुङ र लमजुङका १/१ जना रहेको निर्देशनालय प्रमुख डा विनोदविन्दु शर्माले जानकारी दिए ।

सोमबार थपिएका नयाँ संक्रमितसँगै प्रदेशमा संक्रमितको संख्या १७ हजार २ सय ३१ पुगेको छ । निर्देशनालयले उपलब्ध गराएको तथ्यांकअनुसार आइतबार साँझसम्म ४ जना कोभिड विरामी आइसियूमा र भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

कास्कीमा कोरोना संक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ । चैत ३१ गते कोरोना पुष्टि भएका पोखरा २६ का ६५ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको डा शर्माले जानकारी दिएका छन् ।

ती संक्रमितको चरक मेमोरियल अस्पतालमा उपचार भइरहेको थियो । यो सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ८ पुगेको छ । कास्कीमा कोरोनाकै कारण मृत्यु हुनेको संख्या १ सय १६ पुगेको छ ।

करिब ६ सय जना सक्रिय कोरोना केशमध्ये पोखराकामात्रै ४ सयभन्दा बढी छन् । नेपाल सरकारले गण्डकी प्रदेशको बागलुङ र पोखरासहित १४ वटा जिल्लालाई अतिप्रभावित जिल्ला घोषणा गरेको छ ।

कोरोनाको ‘युके भेरियन्ट’ देखा परेको र फेरि महामारीको दोस्रो लहर आउन सक्ने भन्दै सरकारले सोमबार शहरी क्षेत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । साथै, भिडभाडजन्य क्रियाकलाप हुने क्षेत्रहरु पनि बन्द गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर