प्रकाश सुवेदी भन्छन्- मसँग असारसम्मको एग्रिमेन्ट छ, रजतपट बन्द हुँदैन – Nepal Press

प्रकाश सुवेदी भन्छन्- मसँग असारसम्मको एग्रिमेन्ट छ, रजतपट बन्द हुँदैन

काठमाडौं । रंग पत्रकार प्रकाश सुवेदीले आफ्ना दुई मनोरञ्जनात्मक कार्यक्रम ‘सस्पेन्ड’ गर्ने एपी वान टेलिभिजन बोर्डको निर्णयबारे ‘थाहा नभएको’ बताएका छन् ।

टिभीसँग आगामी असारसम्मको एग्रिमेन्ट रहेको भन्दै उनले व्यवस्थापनले एकतर्फीरूपमा कार्यक्रम बन्द गर्न नमिल्ने दावी गरे ।

नेपाल प्रेससँग कुराकानी गर्दै सुवेदीले भने, ‘यी दुवै नितान्त मेरो कपिराइट भएका कार्यक्रम हुन् । मैले नचाहेसम्म बन्द हुँदैन । टिभीले निर्णय गरेको विषयमा मलाई कसैले अहिलेसम्म जानकारी पनि गराएको छैन, समाचारमा हेरेको हुँ ।’

सुवेदीले सञ्चालन गर्ने साप्ताहिक कार्यक्रमहरु ‘रजतपट’ र ‘ग्ल्यामर गफ’ का विरुद्ध नायिका शिल्पा पोखरेलले टेलिभिजनमा उजुरी दिएकी थिइन् । सो उजुरीमाथि छलफल गर्दै टेलिभिजन बोर्डले हिजो दुवै कार्यक्रम अर्को निर्णय नहुञ्जेलका लागि ‘सस्पेन्ड’ गर्ने निर्णय लिएको हो ।

सुवेदीले भने टेलिभिजनसँग आफूले गरेको सम्झौतामा पनि दुई पक्षको सहमतिका आधारमा मात्रै कार्यक्रम बन्द गर्न सकिने उल्लेख भएको बताए । उनका अनुसार उक्त सम्झौताको म्याद असार मसान्तमा मात्रै सकिन्छ ।

केहीगरी एपी वानबाट प्रसारण नहुने अवस्था आए पनि दुवै कार्यक्रमलाई आफूले यूट्यूवमार्फत निरन्तरता दिनसक्ने सुवेदी बताउँछन् ।

‘मैले यी दुई कार्यक्रम १५-२० वर्षदेखि चलाउँदै आएको छु । एपी वानमा प्रशारण भएन भने अन्त पनि लैजान सक्छु । यूट्यूवमा पहिलदेखि मेरै च्यानलबाट आइरहेको छ । अब पनि निरन्तर आउँछ,’ उनले भने ।

तर, तपाईंजस्तो दिग्गज पत्रकारले लगातार कलाकारहरुको चरित्रहत्या गर्ने सामग्रीहरु प्रशारण गर्न मिल्छ त भन्ने प्रश्नमा उनले कसैको चरित्र हत्या आफूले नगरेको बताए ।

‘मैले समाचार दिने हो, त्यही काम गरिरहेको छु,’ उनले भने, ‘वास्तविक समाचार दिँदा कसैको चरित्रहत्या हुन्छ भने मेरो के लाग्छ र ?’

सुवेदीले नायिका शिल्पा पोखरेलको निजी जीवनका बारेमा विवादास्पद सामग्रीहरू प्रसारण गरेका थिए । यसअघि पनि सुवेदी थुप्रै स्क्यान्डलमा फसिसकेका छन् । एकपटक नायिका पुजा शर्माबारे अनर्गल टिप्पणी गर्दा उनले माफी माग्नुपरेको थियो ।

यो पनि पढ्नुहोस् :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर