एमाले बैठकमा ओलीले भने- माधव नेपालको अपराध अक्षम्य, कडा कारवाही हुन्छ – Nepal Press

एमाले बैठकमा ओलीले भने- माधव नेपालको अपराध अक्षम्य, कडा कारवाही हुन्छ

एमालेलाई प्रचण्डको पाउमा चढाउने, 'फ्लोर क्रस' गरेर सरकार ढाल्ने खेलमा लागेका छन्

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले नेपालको इतिहासमै पहिलोपटक अलोकतान्त्रिक, गैरसंसदीय र अराजक हर्कत गरेको भन्दै यो अपराधमा क्षमा नहुने प्रष्ट पारेका छन् ।

केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपाल लगायतका नेताहरूलाई थप कारवाही हुने जानकारी दिएका छन् ।

बैठकमा ओलीले भने, ‘प्रचण्डको पाउमा एमाले पार्टी चढाउने, कांग्रेस लगायत गैर कम्युनिष्टहरूको नेतृत्वमा सरकार बनाउन हामी फ्लोर क्रस गर्नेछौं । यो सरकार तुरुन्त ढाल्नु पर्‍यो भन्ने रोदन गर्दै घर दैलो गर्न थालेका छन् । यस्ता अराजक,अस्थिर,अत्यन्त घातक देशद्रोही तथा कम्युनिष्ट आन्दोलनलाई खाडलमा हाल्ने प्रवृत्तिको विरुद्ध पार्टीले कडा भन्दा कडा कारवाही गर्नेछ ।’

अध्यक्ष ओलीले प्रचण्ड र माधव नेपालले कम्युनिष्ट आन्दोलनकाविरुद्ध आफ्नै पार्टीको सरकारविरुद्ध अपराधिक कर्म गरेको र उनीहरूको प्रवृत्ति नै भ्रष्टाचारी रहेको बताए ।

माधव नेपालले समानान्तर कमिटी बनाउने र कर्णालीमा फ्लोर क्रस गराउनेसम्मको अपराध गरेकाले इतिहासको कलंकको टीका प्रचण्ड र माधव नेपाललाई लगाउने ओलीले बताए ।

ओलीको भनाई उदृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘केपी ओलीलाई घोक्र्याउँछौं, धुलौ चटाउँछौं, भित्तामा टाँस्छौं भन्दै हिड्ने प्रचण्ड र माधव नेपाललाई अब जनताले धुलो चटाउनेछन् र भित्तामा टाँस्नेछन् ।’

सती प्रथा अन्त्य भएपनि आज माधव नेपालहरु अर्काको पतिका लागि सति गइरहेको टिप्पणी ओलीले गरेका छन् । अध्यक्ष ओलीले आफ्नो पार्टीको सरकार ढालेर अरुको सरकार बनाउन सांसदहरूलाई फाँसी चढाउने ऐतिहासिक अपराध माधव नेपालले गरेको आरोप लगाए ।

ओलीले भने, ‘पत्रकार महासंघको चुनावमा प्रेस चौतारीको विरुद्ध ११ संगठन मिलेर हराएछन् अनि के पी ओलीलाई सबक सिकायौं भन्दै फेरि लड्डु बाँडे रे । महासंघ जितेर के भयो ? के उपलब्धि प्राप्त गरे बुझ्न सकिएन ।’

एमालेसँग एक्ले लड्ने हिम्मत नभएपछि प्रचण्ड माधवहरु ४ पार्टी मिलेर एमालेलाई चौथो बनाउँछौं भन्दै हिँडेको ओलीले बताए ।

ओलीले भने, ‘एक्लै त सक्दैनौ तिमीहरू । हामी जिते दुई तिहाई ल्याउँछौं हारे बहुमत ल्याउँछौं । प्रचण्ड र माधव नेपाल अबको चुनावमा कहाँबाट लड्ने हो ? सांसद कसरी हुने हो। चुनाव पछाडि गठबन्धन बनाउन पनि कोही आउने छैनन् । त्यही भएर चुनाव तपाईंहरूका लागि प्रतिगम नै हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर