नयाँ भन्सार एजेन्टको परीक्षा तोकियो, डबल दस्तुर तिरेर पनि आवेदन गर्न सकिने – Nepal Press

नयाँ भन्सार एजेन्टको परीक्षा तोकियो, डबल दस्तुर तिरेर पनि आवेदन गर्न सकिने

काठमाडौं । सरकारले नयाँ थप लागेको ६६० जना भन्सार एजेन्टको परीक्षा जेठ २२ गते हुने भएको छ । भन्सार विभागले २० वर्षपछि नयाँ भन्सार एजेन्ट थप गर्न लागेको हो ।

बैशाख ५ गतेसम्म करिब ७ हजार ७ सय जनाको आवेदन समिट भएको र करिब २ हजार ४ सया जनाले नाम मात्रै दर्ता गराएर राखेको भन्सार विभागले जानकारी दिएको छ । बैशाख ५ गतेसम्म ३ हजार दस्तुर तिरेर भन्सार एजेन्टको आवेदन दिन सकिने थियो । भने बैशाख ६ गतेदेखि १२ गतेसम्म डबल दस्तुर तिरेर भन्सार एजेन्टको लागि आवेदन दिन सकिने छ । २०५६ सालदेखि रोकिएको भन्सार एजेन्टको लाइसेन्स परीक्षा सो वर्ष नै हुने भएको हो ।

भन्सार विभागले नयाँ दिने लाइसेन्स पाउने ६६० जना भन्सार एजेन्टले विदेशबाट नेपाल आउने सामान र नेपालबाट विदेश जाने वस्तुको आयात–निर्यातमा सहजीकरण गर्ने छन् । भन्सार विभागले २० वर्षअघि ४०० भन्सार एजेन्टलाई लाइसेन्स दिएको थियो । त्यसबेला लाइसेन्स लिएका एजेन्टमध्ये अहिले १७० मात्रै काममा छन् ।

२० वर्ष पहिले एजेन्टको लाइसेन्स लिंदा परीक्षा भएको थिएन । तर यस वर्ष भने विभागले परीक्षा लिएर नै नयाँ लाइसेन्स दिने भएको हो । एजेन्ट लाइसेन्सका लागि मौखिक र लिखित परीक्षा हुने छ । २०६१ सालमा भन्सार एजेन्टको अनुमतिपत्र दिने परीक्षा सञ्चालन गर्न खोज्दा सर्वोच्च अदालतमा मुद्दा परेपछि रोकिएको थियो । अदालतले ऐनमा व्यवस्था गरेर मात्र परीक्षा लिनुपर्ने आदेश दिएको थियो । त्यसै अनुसार भन्सार विभागले अहिले ऐन परिमार्जन गरी परीक्षा लिन लागेको हो ।

भन्सार एजेन्टले व्यापारी र भन्सार कर्मचारीबीच पुलको काम गर्छन् । मालसामान आयात प्रक्रियामा व्यवसायीले एजेन्टलाई आफ्नो प्रतिनिधि नियुक्त गरेका हुन्छन् । ती एजेन्टले नै व्यवसायीको सामानको राजस्व बुझाउने र भन्सार जाँचपास गर्ने गर्छन् । त्यसको अन्तिम जाँच भने भन्सारका कर्मचारीबाट हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर