खोपको दोस्रो मात्रा मङ्गलबारदेखि – Nepal Press

खोपको दोस्रो मात्रा मङ्गलबारदेखि

काठमाडौं । सरकारले मङ्गलबारदेखि कोभिड-१९ को दोस्रो मात्राको खोप लगाउँदै छ । गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड-१९ को पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप लगाउन थालिएको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिए ।

उनका अनुसार उक्त अवधिमा पहिलो मात्रा खोप लगाएका व्यक्तिले यही वैशाख ७ देखि ११ गतेसम्म आफूलाई पायक पर्ने खोप केन्द्रमा गई खोप लगाउने छन् । पहिलो खोप अभियानअन्तर्गत विभागले भारत सरकारको अनुदानमा प्राप्त र खरिद गरेको ‘कोभिशिल्ड’ खोपको मात्रा दिइएको थियो ।

विभागले गत माघ १४ देखि १६ तथा वैशाख २७ देखि २९ गतेसम्म पहिलो मात्रा लगाएकाले वैशाख ७ गते, माघ १८ देखि २२ गते र फागुन २ गते लगाएकाले यही वैशाख ८ गते, माघ २३ र फागुन ३ गतेदेखि ५ गतेसम्म लगाएकाले वैशाख ९ गते, माघ २४ गते र फागुन ६, ८ र ९ गते लगाएकाले वैशाख १० गते र माघ ३० र फागुन ७ तथा १० गते लगाएकाले वैशाख ११ गते दोस्रो मात्राको खोप लगाउनका लागि भनेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दोस्रो मात्राका खोप उपत्यकाका विभिन्न अस्पतालमा केन्द्र बनाएको थियो । पहिलो मात्रा करिब १८ लाख मानिसले लगाएका थिए ।

१ लाख २३ हजारलाई ‘भेरोसेल’

यस्तै चीन सरकारले अनुदानमा उपलब्ध गराएको ‘भेरोसेल’ १ लाख २३ हजारले लगाएका छन् । खोप शाखाका प्रमुख डा गौतमले सात जिल्लाका ४० वर्षदेखि ५९ उमेर समूहका १ लाख २३ हजारलाई ‘भेरोसेल’ खोप लगाएको जानकारी दिए ।

‘भेरोसेल’ गत चैत २५ देखि यही वैशाख ५ गतेसम्म काठमाडौँ, भक्तपुर, ललितपुर, रसुवा, नुवाकोट, काभे्र र सिन्धुपाञ्चोकका ४० वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई लगाइएको थियो । गत चैत १६ गते चीन सरकारको अनुदानमा आठ लाखा मात्रा ‘भेरोसेल’ खोप नेपाल आएको थियो । उनले दोस्रो मात्राको खोप अभियान सकिएपछि पुनः ‘भेरोसेल’ खोप लगाइने जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर