आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै – Nepal Press

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौं । सरकारले आज र भोलि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउनका लागि ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गरेको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तगर्तको पोषण शाखाका प्रमुख केदार पराजुलीले भिटामिन ‘ए’ ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिका र जुकाको औषधि ‘अल्वेण्डाजोल’ १ वर्षदेखि ५ वर्ष मुनिका बालबालिकालाई खुवाउन थालिएको जानकारी दिए ।

उक्त कार्यक्रमअन्तर्गत देशभरिका ५२ हजार केन्द्रबाट ५ वर्ष मुनिका २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ६० हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाइँदै छ ।

‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रममा ५२ हजार स्वास्थ्य स्वयंसेविकामार्फत बालबालिकालाई खुवाउने गरिएको छ । उनले आज खुवाउन बाँकी भएका बालबालिकालाई भोलि खुवाइने जानकारी दिए।

उनका अनुसार भिटामिन ‘ए’ ६ महिनादेखि १ वर्ष उमेरसमूहका बालबालिकलाई आधा क्याप्सुल (एक लाख युनिट) र १ वर्षदेखि ५ वर्ष मुनिकालाई एक क्याप्सुल (२ लाख युनिट) तथा जुकाको औषधि १ वर्षदेखि २ वर्ष उमेर समूहका लागि आधा ट्याबलेट (२०० मिलिग्राम) र २ वर्षदेखि ५ वर्ष मुनिकालाई एक ट्यावलेट (४०० मिलीग्राम) खुवाउने गरिन्छ ।

भिटामिन ‘ए’ खुवाउँदा बाल मृत्युदर ३० प्रतिशतले घटेको अध्ययनले देखाएको उनले जानकारी दिए । भिटामिन ‘ए’ कुषोषण, रतन्धोबाट बचाउनका लागि खुवाउने गरिन्छ ।

सरकारले २०५३ सालबाट भिटामिट ‘ए’ र २०५८ सालदेखि जुकाको औषधि खुवाइँदै आएको छ । वर्षमा २ पटक सरकारले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरेको छ ।

यस्तै भिटामिन ‘ए’ र जुकाको औषधिसँगै आज बालभिटा वितरणसमेत गर्न थालिएको छ । बालभिटा ६ महिनादेखि २ वर्षमुनिका बालबालिकालाई खुवाइने गरिन्छ ।

विसं २०७२ देखि शुरु गरिएको बालभिटा ८ लाख बालबालिकालाई खुवाउन थालिएको छ । बालभिटा ४६ जिल्लाका बालबालिकालाई दिइने गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर