परराष्ट्र नीतिप्रति संसदीय समितिको असन्तुष्टि, आफूहरुसँग छलफल नगरिएको गुनासो – Nepal Press

परराष्ट्र नीतिप्रति संसदीय समितिको असन्तुष्टि, आफूहरुसँग छलफल नगरिएको गुनासो

काठमाडौं । परराष्ट्र नीति, २०७७ तय गर्दा आफूहरुसँग छलफल नगरेको भन्दै संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्यहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।

आइतबार परराष्ट्र नीति, २०७७ माथि भएको छलफलमा सांसदले समितिसँग छलफल नगरिएको भन्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग असन्तुष्टि व्यक्त गरे ।

एमाले सांसद दीपकप्रकाश भट्टले नीति तयार पार्दा सरकार चुकेको बताए । उनले भने, ‘संसदीय समितिसँग समन्वय गरेर काम गरेको भए अस्पष्ट र अव्यवस्थित हुने थिएन । यस्तो नीतिले काम गर्न सक्दैन ।’

एमाले बरिष्ठ नेता माधवकुमार नेपालले सरकारले तय गरेको उक्त परराष्ट्र नीतिलाई पूर्णता दिन समितिले उपसमिति गठन गर्नुपर्ने माग गरेका थिए । उनले भने, ‘धेरै पक्षसँग परराष्ट्र नीति जोडिएको हुनाले व्यापक छलफल गर्नुपर्छ भन्ने मलाई लाग्छ । एउटै बैठकमा टुंगो लगाउने विषय पनि होइन । विज्ञसँग छलफल गरेर जानुपर्छ ।’

मुलुकको सुरक्षा र परराष्ट्र नीति परिवर्तन भैरहने दस्तावेज नभएको पूर्वप्रधानमन्त्री नेपालको भनाई थियो । कांग्रेस सचेतक पुष्पा भुषालले जुनसुकै दलको सरकार आएपनि परराष्ट्र नीति बलियो बनाउनुपर्ने बताइन् ।

सांसदहरुको प्रश्नको जवाफमा परराष्ट्रमन्त्री ज्ञवालीले संसदीय समितिका सदस्यलाई बोलाइएको तर, कसैलाई खबर नपुगेको भए आयोजकको गल्ती भएको हुनसक्ने भन्दै जवाफ दिएका थिए । नीति नै आइसकेको अवस्थामा संसदीय समितिले उपसमिति गठन गरेर अध्ययन गर्नुको कुनै अर्थ नहुने उनको भनाई थियो ।

परराष्ट्र नीति तय गर्दा सबै राजनीतिक दलहरुले निर्वाचनपूर्व जारी गरेका घोषणापत्रमा उल्लेख गरेका परराष्ट्र नीतिलाई समेटेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर