जसपासँगै माओवादी केन्द्र पनि ‘मधेस प्रदेश’को पक्षमा – Nepal Press

जसपासँगै माओवादी केन्द्र पनि ‘मधेस प्रदेश’को पक्षमा

मतदानमा एमालेको नेपाल पक्षले ‘फ्लोर क्रस’ गर्ने आसा

जनकपुरधाम । प्रदेश २ को नाम ‘मधेस प्रदेश’ राख्ने पक्षमा माओवादी केन्द्र पनि उभिएको छ। प्रदेशसभा सचिवालयले प्रदेशको स्थायी राजधानी र नामका लागि प्रस्ताव आह्वान गरेपछि आइतबार माओवादी केन्द्रले नाम ‘मधेस प्रदेश’ राख्नुपर्ने प्रस्ताव दर्ता गराएको हो।

माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले प्रदेशको नाम ‘मधेस’ र स्थायी राजधानी जनकपुरधामलाई तोक्न प्रस्ताव दर्ता गराएका हुन् । यसअघि नेकपा एमालेसँग माओवादी केन्द्रले एकीकरण पश्चात बनेको नेकपाले मिथिला-भोजपुरा नाम प्रस्ताव गरेको थियो।

यस्तै सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)को तर्फबाट सांसद शैलेन्द्रकुमार यादवले प्रदेशको नाम मधेस राख्नुपर्ने प्रस्ताव दर्ता गराएका छन् । जसपाकै अर्का सांसद प्रमेश्वर साहले प्रदेशको स्थायी राजधानी जनकपुरधामलाई नै तोक्न प्रस्ताव दर्ता गराएका छन्।

प्रदेश २ मा १०७ सांसद थिए । तर माओवादी केन्द्रले आफ्ना चार सांसदलाई पदमुक्त गरेपछि प्रदेशसभामा अहिले १०३ सांसद छन्। प्रदेशको नाम र राजधानी टुङ्ग्याउन दुईतिहाइ बहुमत अर्थात ६९ सांसद आवश्यक पर्छ ।

तर सत्तारुढ जसपाका ५५ र माओवादी केन्द्रका ७ सांसद जोडेर पनि दुईतिहाइ बहुमत पुग्दैन। दुईतिहाइ बहमुतका लागि थप ७ सांसद आश्वक पर्छ। प्रदेशसभामा नेपाली कांग्रेसको १९, नेकपा एमालेका २१ र नेपाल संघीय समाजवादी पार्टीका १ सांसद छन् । एमालेको नेपाल पक्षमा १३ सांसद छन्।

कांग्रेस र नेकपा एमालेको संस्थापन पक्षका सांसद मधेस प्रदेशको पक्षमा जाने सम्भावना न्यून छ। माधव नेपाल पक्षले सहयोग गरेपछि मात्र नाम र स्थायी राजधानीको टुङ्गो लाग्छ। सत्तारुढ जसपा र माओवादी केन्द्रले पनि माधव नेपाल पक्षका सांसद सहयोग गर्ने विश्वास लिएको बुझिएको छ।

नेपाली कांग्रेस र एमालेले भने प्रदेशको नाम र स्थायी राजधानीको प्रस्ताव दर्ता गराएका छैनन्। प्रस्ताव दर्ताका लागि प्रदेशसभा सचिवालयले वैशाख ९ गते दिउँसो ३ बजेसम्मका लागि समय दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर