लुम्बिनी प्रदेश : जसपा संसदीय दलको बैठक अर्निणित, भोलि पुनः बस्ने – Nepal Press

लुम्बिनी प्रदेश : जसपा संसदीय दलको बैठक अर्निणित, भोलि पुनः बस्ने

रुपन्देही । लुम्बिनी प्रदेश सरकारमा निर्णायक मत राखेर बसेको जनता समाजवादी पार्टीको आइतबार बसेको संसदीय दलको बैठकले कुनै निचोड निकाल्न सकेन। ६ सदस्य रहेको दलको बैठकमै सबैजना जुट्न सकेका छैनन्।

प्रदेश सरकारविरुद्ध नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले ल्याउन लागेको अविश्वासको प्रस्तावमा समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्न बैठक बसे पनि कुनै निष्कर्षमा नपुगेको संसदीय दलका नेता सहश्रराम यादवले बताए। बैठक सोमबार पुःन बस्नेगरी सकिएको छ।

आइतबारको बैठक बिहानैदेखि बस्ने सबै सांसदलाई सूचना गरिए पनि सचेतक कल्पना पाण्डेलाई भने जानकारी दिइएको रहेनछ। प्रदेश सभामा ६ जना सदस्य रहेको जसपाको बैठकमा सांसद कल्पना पाण्डेलाई भने बैठक शुरु भएपछि मात्र बोलाइएको थियो। पाण्डेले बैठक शुरु भएपछि बोलाइएको र आफू काठमाडौं भएकाले तुरुन्त आउन नसकेको बताइन्। तर संसदीय दलका यादवले भने माननीय पाण्डे बिरामी परेर काठमाडौंमा भएकाले बैठकमा नबोलाइएको दावी गरे।

जसपाका ६ सांसदमध्ये कल्पना पाण्डे, महन्त ठाकुर निकट हुन्। त्यस्तै विजय यादव, सहश्रराम यादव, सन्तोष पाण्डे, फूलमती ढेंगामगर र सुमन शर्मा रायमाझी बाबुराम भट्टराई–उपेन्द्र यादव निकट हुन्।

जसपाले आफ्नो औपचारिक निर्णय सार्वजनिक नगर्दै आइतबार नै माओवादी तथा कांग्रेसका नेताहरुसँग बैठक बसेपनि त्यसलाई सार्वजनिक गरेका छैनन्। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीबाट शंकर पोखरेललाई हटाउन नेपाली कांग्रेस र माओवादी केन्द्रले तयारी गरिरहेका छन्। त्यसको लागि जनता समाजवादी पार्टीको निर्णय पर्खिरहेका छन्।

८७ सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रले दुई जना सांसदलाई पार्टीले कारवाही गरेपछि ८५ सदस्यीय भएको छ। जसमध्ये एमालेका ४१, नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जनता समाजवादीका ६ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर