विद्यालय बन्द नगर्ने, संक्रमण बढे विद्यालय नै जिम्मेवार ! – Nepal Press

विद्यालय बन्द नगर्ने, संक्रमण बढे विद्यालय नै जिम्मेवार !

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७ हजार नाघेको छ । त्यसमध्ये अधिकांश संक्रमित कास्कीका छन् । पछिल्लो समय पुष्टि भइरहेका कोरोना संक्रमित विद्यालयस्तरका बालबालिका छन् ।

आफ्ना स्कुलका विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण भेटिएको भन्दै अहिले पोखराका अधिकांश निजी स्कुलले भौतिक पढाइ बन्द गर्दै अनलाइन कक्षा सुचारु गरिसकेका छन् । तर, कोरोना संक्रमण जोखिम बढ्दै गएको समयमा विद्यालय बन्द गर्ने कि नगर्ने भन्ने विषयमा अहिले पोखराका विद्यालय सञ्चालकहरु नै अन्यौलमा छन् ।

निजी विद्यालयहरु सरकारले तोकेको मापदण्ड पूरा गर्दै विद्यालयलाई निरन्तरता दिनुपर्ने पक्षमा छन् भने सरकारी विद्यालयहरु केही समय बन्द गर्नुपर्ने पक्षमा छन् । एसइईलगायत वार्षिक परीक्षाहरु नजिकिँदै गर्दा विद्यालय बन्द गर्ने कि नगर्ने भन्ने अन्यौलबीच पोखरा महानगरले शनिबार पोखरा क्षेत्रका विद्यालय सञ्चालकसँग छलफल कार्यक्रम राख्यो ।

प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले पनि विद्यालय, होस्टल आदिबाट कोरोना संक्रमण बढिरहेकाले केही दिन स्कुल बन्द गर्न सुझाइरहेको छ । ‘युके भेरियन्ट’ प्रजातिको कोरोना महामारीको दोस्रो लहरबारे चर्चा चलिरहँदा सरकारले कास्कीसहित देशभरका १४ जिल्लालाई ‘अतिप्रभावित’ जिल्ला घोषणा गरिसकेको छ ।

तर, पोखरा महानगरले भने तत्काल विद्यालय बन्द नगर्ने र खुलेका विद्यालयबाट कोरोना संक्रमण फैलिएमा स्वयं विद्यालय नै जवाफदेही हुुनुपर्ने नीति लिएको छ । पोखरा महानगरका मेयर मानबहादुर जिसी अघिल्लो वर्ष पनि कोरोना महामारीका कारण विद्यार्थीले मानसिक यातना भोग्नु परेको र यस वर्ष पनि सोही अवस्था दोहोरिन नदिने बताउँछन् ।

‘परीक्षाहरु अहिले तत्काल नगरौं । बैशाख १० गते पछि हुने परीक्षाहरु भने गरौं । अर्को महिनासम्म सबै परीक्षाहरु सकौं,’ छलफलमा उपस्थित विद्यालय सञ्चालकहरुलाई मेयर जिसीले भने, ‘तर, यो माग तपाईंहरुकै हो । भोलि तलमाथि केही भयो भने तपाईंहरु भड्खालामा पर्नुहुन्छ ।’

‘कास्की अतिप्रभावित जिल्ला हुँदै होइन’

कोरोनाको न्यू भेरियन्ट नदेखिएको र हाललाई जोखिम पनि नभएकाले कास्की अतिप्रभावित जिल्ला नभएको मेयर मानबहादुर जिसीले गरेका छन् । छलफल कार्यक्रममा उनले स्थानीय तहसँग छलफल नगरी कास्कीलाई अतिप्रभावित जिल्लामा राखिएको भनाइ राखे ।

‘यहाँको वस्तुस्थितिबारे हामी अध्ययन गर्छौं । हामी एनलाइसिस गरिराखेकै छौं । कास्कीलाई कोरोनाको अतप्रभावित जिल्लाका रुपमा नराखेको भए हुन्थ्यो,’ मेयर जिसीले भने, ‘यहाँ धेरै पर्यटक आउने भएर पो हो कि !’ उनले बिनाअध्ययन स्कुलहरु बन्द गर्दा विद्यार्थीलाई मानसिक आघात पुग्ने दाबी गरे ।

पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमप्रसाद आचार्यले स्कुलले पढाउञ्लेज पढाइ जारी राख्ने र समस्या उत्पन्न भएमात्रै निर्णय गरिने सुनाए । उनले भने, ‘अहिले नै पढाइ बन्द गर्ने निर्णय भएको छैन । तर, १० गते पछाडि आफूअनुकुल परीक्षाहरु सञ्चालन गर्ने छलफल भइरहेको छ ।’

‘मन्टेश्वरी बन्द नगरौं, परीक्षा हुँदैन’

२ महिनाभित्र सबै परीक्षा सक्नु पर्ने महानगरको निर्णयलाई भने कास्की मन्टेश्वरी एसोसियसनले विरोध गरेको छ । मन्टेश्वरी कक्षा चलेको ३ महिना पनि पूरा नभइसकेको अवस्थामा आफूहरु परीक्षा लिन नसक्ने एसोसियसन अध्यक्ष मिलन केसीले बताइन् ।

माघ पछिमात्रै मन्टेश्वरी खुला गर्न अनुमति पाएको र बैशाखमै परीक्षा गर्न नसक्ने केसीको भनाइ छ । ‘ससाना केटाकेटी छन् । उनीहरु भर्खर हामीसँग आएका छन् । यस्तोबला उनीहरुलाई कसरी अघिल्लो कक्षाका लागि पठाउन सकिन्छ ?’ उनले भनिन्, ‘हामी परीक्षा गर्न सक्दैनौं । पढाइ जारी राख्न पाउनुपर्छ । तर, यसका लागि अभिभावकको स्वीकृति हुनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *