माधव नेपालको दावी- ओलीविरुद्ध पत्रकार महासंघमा छक्का हान्यौं, कर्णालीमा सिध्याइदियौं – Nepal Press

माधव नेपालको दावी- ओलीविरुद्ध पत्रकार महासंघमा छक्का हान्यौं, कर्णालीमा सिध्याइदियौं

काभ्रे । नेकपा एमालेका नेता माधवकुमार नेपालले पत्रकार महासंघको चुनाव र कर्णाली प्रदेशमा सबै दलहरूसँग मिलेर केपी ओलीलाई हैसियत देखाइदिएको टिप्पणी गरेका छन् ।

काभ्रेपलाञ्चोक जिल्लामा समानान्तर कमिटी घोषणा गर्दै एमालेबाट निलम्बित नेता नेपालले ओलीले विदेशीहरू र जसपाको एउटा पक्षसँग छलफल गर्ने तर आफूहरुलाई निषेध गर्ने नीति लिएपछि ‘मर्ता त क्या नही कर्ता’को अवस्थामा आफूहरू पुगेको बताए ।

‘पत्रकार महासंघको चुनावमा हाम्रा साथीहरू कांग्रेस, माओवादीसहित ११ संगठन एकातिर भएर गए । केपीको सानो गुट अर्कोतिर थियो । हामीले पत्रकार महासंघमा अरुसँग मिलेर छक्का हान्यौं, केपीका मान्छे टर्च बालेर खोज्नुपर्ने भएको छ’, नेता नेपालले भने, ‘केपीका हनुमानले माधव नेपालका मान्छेलाई एक सिट पनि नदिने भनेका थिए । हामीले तिनीहरूलाई देखाइदियौं ।’

नेपालले कर्णालीमा ‘फ्लोर क्रस’ गरेर माओवादी सरकार जोगाउने एमालेका सांसदहरूको समेत बचाउ गरे । उनले यमलाल कँडेलको नाम नलिई आफू मुख्यमन्त्री बन्दैछु भनेर अरु पक्षलाई राजनीतिक भविष्य जोगाउने हो भने मलाई साथ देऊ भन्दै भन्दै राजनीतिक भविष्य सिध्याइदिने धम्की दिएपछि उल्टै उनैलाई सिध्याइदिएको बताए ।

नेपालले भने, ‘राजनीतिक भविष्य नै सिध्याइदिने भनेपछि मर्ता त क्या नही कर्ता भन्ने अवस्था आएपछि उसैलाई सिध्याइदिए । उनको अहिले बिजोग भएको छ ।’

नेता नेपालले ओलीले आफूहरूलाई माओवादीमा जाँदैछन् भनेर हल्ला गरिरहेको आरोप लगाए । नेकपा एमालेमा नरहन सकिन्छ तर कम्युनिष्ट आन्दोलन जोगाउने आफूहरू नै रहेको उनले बताए ।


प्रतिक्रिया

One thought on “माधव नेपालको दावी- ओलीविरुद्ध पत्रकार महासंघमा छक्का हान्यौं, कर्णालीमा सिध्याइदियौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर