बालबालिकाको स्वास्थ्य अधिकारप्रति संवेदनशील बन्न सरकारलाई मानव अधिकार आयोगको आग्रह – Nepal Press

बालबालिकाको स्वास्थ्य अधिकारप्रति संवेदनशील बन्न सरकारलाई मानव अधिकार आयोगको आग्रह

बालबालिकाको स्वास्थ्यको अधिकारलाई ध्यानमा राखी पठनपाठनको वैकल्पिक व्यवस्था गर्न सरकार तथा सम्बन्धित निकायलाई राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ। आयोगले आज एक विज्ञप्ती जारी गर्दै बालबालिकाको जीवनको अधिकारको ख्याल राख्दै शिक्षा प्राप्तिको अधिकार सुनिश्चित गर्न आग्रह गरेको हो ।

‘अभिभावक र विद्यार्थीमा मनोवैज्ञानिक त्रास सिर्जना गर्नु हुँदैन, स्वास्थ्यको विषयमा स्वास्थ्य मन्त्रालयको राय, सल्लाह, अनुरोध वा सूचनाबमोजिम गर्न र स्वास्थ्यजस्तो संवेदनशील विषयलाई गम्भीरतापूर्वक लिई व्यवहार गर्न, गराउन नेपाल सरकार तथा सम्बन्धित पक्षलाई आयोग आग्रह गर्दछ।’ अयोगका प्रवक्ता समेत रहेका सहसचिव डा. टीकाराम पोखरेलले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ ।

आयोगले काठमाडौं उपत्यकाका विभिन्न विद्यालयमा स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना तथा बालबालिकामा कोरोना सङ्क्रमणको जोखिमको अवस्था सम्बन्धमा स्थलगत अनुगमन गरेको पनि जनाएको छ । अनुगमनबाट निजी विद्यालयका तुलनामा सरकारी विद्यालयमा स्वास्थ्यसम्बन्धी मापदण्डको पालना नभएको, विद्यार्थी सङ्ख्या धेरै भएका कारण मापदण्डको पालना गर्न सम्भव नभएको भन्ने शिक्षकको भनाइ रहेको तथा टाउको दुखेका बिरामीसमेत अन्य विद्यार्थीसँगै कक्षा कोठामै राखिएको पाइएको विज्ञप्तीमा उल्लेख छ ।

वितेको २ सातामा ३ सयभन्दा बढी बालबालिका कोभिड–१९ बाट सङ्क्रमित भएको जानकारी विभिन्न माध्यमबाट आयोगलाई प्राप्त भएको पनि आयोगले जनाएको छ । स्वास्थ्य मन्त्रालयले उच्च जोखिममा रहेका काठमाडौं उपत्यकासहितका १४ जिल्लामा शिक्षण संस्थालगायत बढी भीडभाड हुने क्षेत्र तथा सेवा तत्कालका लागि बन्द गर्न सुझाव दिएका अवस्थामा शिक्षण संस्था हाल सञ्चालनमै रहेको र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नहुँदा बालबालिकाको स्वास्थ्यको अधिकार जोखिममा पर्ने आयोगको भनाइ छ ।

आयोगले संविधानको धारा ३९ ले बालबालिकाको हकको व्यवस्था गर्नाका साथै नेपाल पक्ष राष्ट्र बनेको बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९८९ को धारा २४ ले बालबालिकाको उच्चतम स्वास्थ्यको हितलाई ध्यान दिनुपर्ने पनि स्मरण गराएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर