एउटै विधेयकमा छलफल नगरी हिउँदे अधिवेशन अन्त्य – Nepal Press
प्रदेश १

एउटै विधेयकमा छलफल नगरी हिउँदे अधिवेशन अन्त्य

विराटनगर । प्रदेश १ को सभाको हिउँदे अधिवेशन एउटै विधेयकमा छलफल नगरी अन्त्य भएको छ ।

माघ ७ गते शुरू भएको प्रदेशसभाको सातौं अधिवेशन मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गरेका हुन् ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गतेको लागि बोलाइएको थियो ।

सरकार गिराउने र पछिल्लो समय विपक्षी दलहरूले चालु वर्षका लागि स्वीकृत कार्यक्रमहरू सुचारू गर्नुपर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र रहेका बहुवर्षे विकास आयोजनाको काम सुचारु गर्नुपर्ने माग गर्दै पछिल्ला बैठक अवरुद्ध गरिरहेका थिए ।

प्रदेश सरकारले कृषि अनुदानसम्बन्धि एउटा विधेयक प्रदेशसभा सचिवालयमा लगे पनि प्रदेशसभामा त्यसले प्रवेश नपाई अधिवेशनको अन्त्य भएको छ ।

आजको बैठकको शुरूमै प्रतिपक्षले उठेर विरोध जनाएपछि सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन अन्त्यको पत्र पढेर सुनाएका थिए ।

नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले आफूहरूले उठाएका माग पूरा नभएसम्म विरोध जारी रहने दोहोर्‍याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर