५० महिनापछि स्वदेश फर्कदाँ – Nepal Press
ब्लग

५० महिनापछि स्वदेश फर्कदाँ

दुबईको १२ घण्टा लामो ट्रान्जिटले शरीर थाकेको थियो, आलस्यता बढेको थियो । रै त पनि करिब ५० महिनापछि स्वदेश फर्कन पाउने खुसीले पुलकित थिएँ, मन बेचैन थियो । मातृभूमिमा पाइला टेक्नका लागि बाँकी चार घण्टा मेरो लागि चार वर्ष जस्तो लागिरहेको थियो । साथी नवीन र म काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्दा साँझको सात बजेको थियो । विमानस्थल अवतरणसँगै देखिन थाल्यो, बदलिएको काठमाडौंको चित्र अनि कतिपय उही पुरानौ कुरुप प्रवृत्ति ।

५० महिनाअघि कोपेनहेगन उड्ने बेलाको भन्दा विमानस्थलको रुप धेरै फेरिएछ । विमानस्थल व्यवस्थापन चुस्त भएछ, सुन्दर भएछ । जुन दृश्यले मनमा खुसीको बहार छायो । देश विकासको गतिमा अघि बढेको आभाष भयो ।

ट्याक्सीमा हुने मोलमोलाइ र ग्राहक तान्न ट्याक्सीचालकले गर्ने हानाथाप उस्तै रहेछ । यद्यपि, ट्याक्सी चालकको बोली र व्यवहारमा निकै परिवर्तन आएछ ।

एउटा ट्याक्सी पक्डिएर हामी गोंगबुस्थित एक होटलमा पुग्यौं । कोरोना कहरका कारण होटलको व्यापार लयमा फर्किसकेको रहेनछ । बल्लबल्ल ग्राहक पाउँदा होटल साहु खुसी भए । उनी हामीलाई अनेक आश्वासन दिँदै बढी भन्दा बढी रकम असुल्ने उपाय खोजिरहेका थिए । तर, त्यो देखेर धेरै नौलो लागेन । किनकि, कोरोनाले थलिएको विजनेश उठाउन उनीहरुले त्यति गर्नु स्वभाविक लाग्यो ।

रात होटल बसेर हामी बिहानपख त्यस क्षेत्र घुम्न निस्कियौं । छाडेको ५० महिनापछिको काठमाडौंको बदलिएको चित्र हेर्ने लोभ जागेर आयो । बाटो फराकिलो भएछ, पहिला भन्दा सफा देखियो सडक । खुसी लाग्यो ।

तर होटलबाट निस्कने बेला काठमाडौंको अर्को नबदलिएको दृश्य देखियो, भोगियो । बुक गर्ने बेला ६ सय भनेको कोठाको भाडा २५ सय भनियो । खानाको मूल्य अचाक्ली महंगो लाग्यो, सामान्य पेय पदार्थको मूल्य पनि औधी धेरै ।

होटलको व्यवस्थापन यति झूर थियो कि, ६ सय तिर्न पनि मन नलाग्ने खालको थियो । जे भए पनि हामीले भ्याट बिल माग्यौं, दिन मानेनन् । प्रशासनलाई बोलाउने चेतावनी दियौं । जुन कुराले होटलवालालाई केही फरक परेन । मानौं, उनीहरुलाई प्रशासनसँग डर नै छैन, अर्थात् उनीहरु आपसमा मिलेका छन् ।

उनीहरु कुनै पनि ग्राहकलाई आफूखुसी मूल्य लगाउन स्वतन्त्र देखिन्थे । अनि त्यो आम्दानीको कर राज्यलाई नतिर्न पनि उनीहरुलाई पूर्णतः छुट रहेछ । अन्ततः हामी उनीहरुले थमाएको बिल तिरेर निस्कियौं । यस्तो लाग्यो, चार वर्षमा वाग्मतीमा धेरै पानी बगीसक्यो तर त्यस आसपास बस्नेहरुको नियत र नियति उस्तै रहेछ ।

देश बदलिएन, नेताले देश बिगारे, सुशाशन, अनुशासन र पारदर्शिता कतै भेटिएन भन्ने आमजनताको गुनासो र स्वघोषित अभियान्तहरुको चर्को भाषण सम्झिएर आफैंले आफैलाई लज्जित भएको महसुस पनि गरें । किनकी हामी जहाँ जहाँ ठगिएका थियौं, ठग्नेहरुसंग बालुवाटार, सिंहदरवार, वानेश्वरसंग कुनै साइनो थिएन । अर्थात् आमरुपमा देश बिगारेको आरोप खेपी रहेका मन्त्री, सांसद या नेता थिएनन् ।

हामीलाई थमाइएको नक्कली बिलमा कुनै सांसदको सिग्नेचर थिएन । हामीलाई तानातान गर्ने ट्याक्सीवालामध्ये कुनै पनि मन्त्री थिएनन् । थिए त नचिन्नेहरुका निम्ती एक सर्वसाधारण अनि हाम्रा निम्ती ठगहरु । नेताले देश बिगारे भनेर चर्को आलोचना गर्ने हामीहरु आफैं चाही कति सज्जन र इमान्दार छौं ? आफैं जस्तै गरिब निर्धा र कमजोरलाई खुलेआम लुट्न पाउँदा आनन्दको स्वास फेर्ने हामीहरुलाई नेताले देश बिगारे भन्ने नैतिकता छ कि छैन ?

इमान्दारीता राजनीती गर्ने नेतामा मात्र हुनुपर्ने हो कि नेतालाई गाली गर्ने हामीमा पनि ? यो त एउटा प्रतिनिधिमूलक घटना मात्र हो । जताततै सक्नेले नसक्नेलाई, बुझ्नेले नबुझ्नेलाई पाइलापाइलामा ठगिरहेको छ हिजो जस्तै आज पनि । अब के नेतालाई गाली गरेकै भरमा देश सुध्रेला त ? आफ्नो स्तर र औकातअनुसार भ्रष्टाचार गर्ने हामीहरु सबै उत्तिकै जिम्मेवार छौं ।

सक्नेले लुटेर त नसक्नेले लुटिएर जिउनुपर्ने हाम्रो विवशता र नियतिको अन्त्य गर्न नेता होइन, हामी आफैं सज्जन हुनुको विकल्प छैन । अनि आफूखुशी गर्न पाउनुपर्ने स्वच्छन्दता र स्वतन्त्रता के कानुनको कुनै दफा या धारामा उल्लेख गरिएको छ ? सानालाई ऐन, ठूलालाई चैन भन्ने उखानलाई पनि जनताले माथ खुवाइसकेका रहेछन् । एउटा औंला अरुलाई उठाउँदा चार वटा औंला आफूतिर फर्किएको ख्याल नराख्ने हामीहरुले अरुलाई गाली गर्ने नैतिकता राख्छौ कि राख्दैनौ ? यो सोचनीय विषय हो ।

भनिन्छ संसार बदल्नु छ भने सुरुवात आफैं बाट गर्नुपर्छ । यदि हामी आफू बदलिँदैनौं भने नेताले देश बदलेनन् भनेर आलोचना गर्नु निरर्थक हुनेछ । पश्चिमाहरुको संस्कार, नैतिकता र इमान्दारीता देखेकाले जनस्तरबाटै मौलाएको भ्रष्ट प्रवृत्ति देख्दा म किंमकर्तव्यविमुढ भएँ ।

ठूलो ठाउँमा पहुँच हुनेहरुले ठूलै परिमाणमा भ्रष्टचार गरेका होलान् । तर सानो पहुँचमा हुनेले आफूभन्दा साना वा निर्धालाई ठगिरहेकै छन् । यहाँ जति ठगिएका, पिल्सिएका वा पिसिएका छन्, ती सबै बाँच्नकै लागि संघर्ष गर्नेहरु हुन् । जसको राज्यका कुनै पनि निकायमा पहुँच छैन ।

तपाईं आफूभन्दा कमजोरलाई ठग्नुमा गर्व महशुस गर्नु हुन्छ भने तपाईं भन्दा माथिकाले पनि तपाईंलाई ठग्नुमा गर्व गरिरहेको छ । र, आफू भन्दा पनि कमजोर लाई ठगेर र नंग्याएर थुपार्ने धनले तपाईं हामीलाई आत्मसन्तुष्टि मिल्ला ?
बदलिन सुरु भए पनि बदलिन बाँकी धेरै रहेछ काठमाडौंमा । पानीजहाज आउला, सुरुड मार्ग बन्ला, रेलको डिपिआर पनि तयार भइरहेको होला । तर, धुलाम्मे काठमाडौंले दिक्क लाग्यो । प्रदूषण उस्तै । सडकमा भुस्याहा कुकुर उस्तै । सडकमा चौपायाको बिगबिगी ।

यसका बाबजुत भएका विकास र परिवर्तित सोचले अब नेपाल पनि छिटै विकासित देशको यात्रामा अघि बढेको अनुभूति भयो ।

प्रतिक्रिया

2 thoughts on “५० महिनापछि स्वदेश फर्कदाँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *