चितवन पुगेर प्रचण्डले भने- रामको जन्मथलो अयोध्यापुरीको आधिकारिकता प्रमाणित गर्नुपर्छ – Nepal Press

चितवन पुगेर प्रचण्डले भने- रामको जन्मथलो अयोध्यापुरीको आधिकारिकता प्रमाणित गर्नुपर्छ

'कम्युनिष्ट धर्म संस्कृति मान्दैनन् भन्‍ने झुटो प्रचार'

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माडीको अयोध्यापुरी क्षेत्रमा अनुसन्धान गरी रामको जन्मभूमि भनेर प्रमाणित गर्नुपर्ने बताएका छन् ।

मन्दिरलगायतका संरचना बन्दै गरेको सो ठाउँमा पुगेका प्रचण्डले आफ्नै निर्वाचन क्षेत्रमा अयोध्याधामको चर्चाले निकै खुशी भएको जनाउँदै भने, ‘यसलाई गम्भीर अनुसन्धान गर्नुपर्छ, प्रमाणित गरिनुपर्छ र आधिकारिकता दिनुपर्छ ।’

यस्ता विषय निकै संवेदनशील हुने भएकाले जनताको आस्था, भावना र संवेदनासँग सम्बन्धित ऐतिहासिक, पौराणिक र परम्परासँग जोडिएका विषयमा सस्तो लोकप्रियता प्राप्तिका लागि काम गर्न नहुने प्रचण्डले टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्म यहीँ भएकोले यसको प्रवर्द्धनमा जोड दिनुपर्ने बताउँदै आएका छन् ।

अयोध्यापुरीले धार्मिक प्रवर्द्धनमा मात्रै नभएर धार्मिक पर्यटन प्रवर्द्धनको साथै यहाँका जनताको आर्थिक जीवनस्तर उकास्न सहयोग पुग्ने दाहालको भनाइ छ ।

यस बारेमा आफूले पार्टीमा पनि छलफल गरेको भन्दै दाहालले अयोध्यापुरीमा रामको जन्मभूमि भएको प्रमाणिकता दिन पुरातत्वविज्ञ ल्याएर अनुसन्धान गर्नुपर्नेमा जोड दिए।

कम्युनिष्टले जनताको धार्मिक आस्थाप्रति उच्च सम्मान गर्ने भन्दै दाहालले थपे, ‘कम्युनिष्ट धर्म संस्कृति मान्दैनन् भन्छन्, बिल्कुल झुटो प्रचार हो, यो ६० वर्ष पुगेपछि मान्छे मार्छन् भने जस्तै हो ।’ जनताको धार्मिक आस्था, धार्मिक पर्यटन प्रवर्द्धन त्यसमार्फत जनताको जीवनस्तरलाई समृद्ध बनाउने कुरामा कम्युनिष्ट झनै बढी जिम्मेवार र त्यसप्रति संवेदनशील हुने प्रचण्डको जिकिर थियो ।

माडी चितवनको क्षेत्र नम्बर ३ मा पर्छ । सोही क्षेत्रबाट दाहाल निर्वाचित भएका हुन् । माडीको अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति यही वैशाख ९ गते राख्ने तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर