लकडाउनको हल्लाबाटै व्यवसायी आतंकित, मन्त्रालयपिच्छे फरक निर्देशन आएको गुनासो – Nepal Press

लकडाउनको हल्लाबाटै व्यवसायी आतंकित, मन्त्रालयपिच्छे फरक निर्देशन आएको गुनासो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत बिहीबार एक सूचना जारी गर्दै १४ वटा जिल्लालाई कोरोनाको अति संवेदनशील सूचीमा राख्यो । ती जिल्लाहरुमा साँझ ७ बजेदेखि भीडभाड हुने व्यवसायहरू सञ्चालन नगर्न मन्त्रालयले आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयको आग्रह वाध्यकारी होइन, तर यसले उद्योग-व्यवसायमा प्रभाव पर्न थालिसकेको छ । रेष्टुरेन्ट, क्लब, खेलकुद, पार्टी प्यालेस, जीम, सिनेमा हललगायत व्यवसाय अहिले प्रभावित बनिरहेका छन् । खासगरी रातिको समूहमा हुने व्यवसाय निकै सुस्ताएको छ ।

अर्कोतर्फ लकडाउनको हल्ला अझै साम्य भएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको सम्वोधनमा सरकारले तत्काल लकडाउन नगर्ने स्पष्ट बताएका थिए । हिजो बसेको सीसीएमसीको वैठकले पनि लकडाउनमा जानेबारे कुनै छलफल र निर्णय गरेन । तर, पनि जनमानसमा लकडाउनको त्रास कायम छ । यसले व्यवसायीहरू चिन्तित छन् ।

विगतमा ९ महिना लामो लकडाउनले थला परेका व्यवसायीहरु फेरि अर्को लकडाउन थाम्न सक्ने अवस्थामा छैनन् । कथंकदाचित सरकारले लकडाउनकै घोषणा गर्‍यो भने पनि त्यसलाई पालना गर्न नसक्ने उनीहरूको भनाइ छ ।

नेपाल राष्ट्रिय व्यापार महासंघका अध्यक्ष नरेश कट्‍वाल उद्योग र व्यापार क्षेत्रले पूर्णरूपमा स्वास्थ्यका मापदण्ड पूरा गरेर सञ्चालन गरेको बताउँछन् । स्वास्थ्यको मापदण्ड पूरा गर्दागर्दै पनि सरकार पुनः लकडाउनका लागि अगाडि बढ्यो भने निजी क्षेत्रले त्यसको प्रतिकार निजी क्षेत्रले गर्ने उनले चेतावनी दिए ।

कट्‍वालले भने, ‘जनस्वास्थ्यको मापदण्ड पूर्णरूपमा पालन गर्दा पनि सरकारले साँझ ७ बजेदेखि भीडभाड कम गर्न अनुरोध गरेको छ । हामीले भीडभाड कम गरेर नै व्यापार र व्यवसाय सञ्चालन गरिरहेका छौं । यति गर्दा पनि सरकारले फेरि लकडाउन गर्‍यो भने हामी त्यसको प्रतिकारमा उत्रिने छौं ।’

पहिले पनि लकडाउनको अवज्ञा गर्दै व्यवसाय सञ्चालन गर्ने व्यवसायीले एकतर्फी निर्णय गरेका थिए । स्वास्थ्य मन्त्रालयले उद्योग-व्यवसायमा मात्रै कोरोना सर्नेजस्तो गरी सूचना निकालेको कट्‍वालको गुनासो छ ।

‘पहिले करिब ९ महिना लामो भएको लकडाउनले धेरै कुरा सिकाएको छ,’ उनले भने, ‘अब सरकार लकडाउको बाटोमा जान हु्ँदैन । अनुत्पादनक क्षेत्रमा भएको भीडभाड रोकेर उद्योग र व्यवसायलाई स्वास्थ्यको मापदण्ड लागू गरी निस्वार्थ रुपमा सञ्चानल गर्न दिनुपर्छ ।’

राजनीतिक दलले आफ्नो स्वार्थ पूरा गर्नका लागि लकडाउन गर्न लागेको हो भने नमान्ने उनले बताए । लकडाउनपछि बल्ल तंग्रिन लागेको क्षेत्रलाई फेरि समस्यामा पार्ने काम नगर्न कट्‍वालको आग्रह छ ।

‘अब पनि लकडाउन भयो भने मान्छे रोगले भन्दा पनि भोकले मर्ने छन्,’ उनले भने ।

होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले कोरोना साँझ ७ बजेपछि मात्रै सर्नेजस्तो सरकारले ठानिरहेको बताए । स्वास्थ्य मन्त्रालय, अर्थमन्त्रालय र पर्यटन मन्त्रालयले फरक-फरक सूचना निकालेर थप दु:ख दिइरहेको उनको गुनासो छ ।

शाहले भने, ‘साँझ ७ बजेपछि मात्रै कोरोना सर्ने होइन । हामीले स्वास्थ्यको मापदण्ड पूर्णरूपमा पालना गर्नुपर्छ । तर, मन्त्रालय/मन्त्रालय अनुसार नै फरक बुझाइ छ । हामीलाई पर्यटन मन्त्रालयले स्वास्थ्यको मापदण्ड पूरा गरेर सञ्चालन गर्न भनेको छ ।’

ठमेल पर्यटन विकास परिषद्का महासचिव ध्रुव अधिकारीले साँझ ७ बजेपछि भीडभाड कम गर्नु भनेर स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्नु भन्दा पहिले नै रेष्टुरेन्ट र रात्रिकालीन व्यवसायमा भीडभाड कम भएको बताए ।

सरकारले गत वर्षको चैत महिनामा रात्रिकालीन व्यवसाय राति ९ बजेपछि बन्द गराउन निर्देशन दिएको भोलिपल्ट नै आफ्नै निर्देशनलाई खारेज गरेको थियो ।

अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, पोखरा, भक्तपुर, चितवन, पर्सा लगायत मुलुकका १४ जिल्लालाई कोरोनाबाट अति संवेदनशील क्षेत्र घोषणा गरेको छ । ती क्षेत्रमा भीडभाड नगर्न सार्वजनिक अपिल गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर