सरकार हटाउन नेताहरू मिसन बनाएर लागेका छन् : मुख्यमन्त्री भट्ट – Nepal Press

सरकार हटाउन नेताहरू मिसन बनाएर लागेका छन् : मुख्यमन्त्री भट्ट

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तत्काल सरकार परिवर्तन नहुने बताएका छन् । केही नेताहरू मिसन बनाएरै आफूलाई हटाउन लागिपरेको उनको आरोप छ ।

नेपाल पत्रकार महासङ्घ कैलाली शाखामा निर्वाचित पदाधिकारीहरूको पदस्थापन कार्यक्रममा मुख्यमन्त्री भट्टले विभिन्न सञ्चारमाध्यमहरूमा सरकार परिवर्तनको चर्चा आइरहेपनि त्यस विषयमा कुनै छलफल नभएको बताए ।

‘हिजो हामीले नेता मानेका मान्छेहरू आज सुदूरपश्चिम प्रदेश सरकार हटाउन मिसन बनाएर लागेका छन्’ मुख्यमन्त्री भट्टको आरोप थियो ।

‘पछिल्लो समय सरकारको विषयमा धेरै समाचार आएका छन् । मुख्यमन्त्री हटाउने बारेमा पनि समाचार छन्,’ उनले भने ।, ‘स्थायी सरकारको कल्पना गरेर नै हामीले चुनावमा लडेका हौँ तर विडम्बनाको कुरा छ त्यो हुन सकेन । पछिल्लो परिस्थिति जटिल बनेको छ ।’ केन्द्रको असर अहिले प्रदेशहरूमा पनि परिरहेको उनको भनाइ थियो ।

कोरोना महामारी नियन्त्रणमा संघीय सरकारबाट सहयोग नभएको उनको आरोप छ ।
‘कोरोना महामारीमा सङ्घीय सरकारले हामीलाई सहयोग नगरेको कारणले हामीलाई धेरै समस्या भयो’ उनले गुनासो पोखे ।

मुख्यमन्त्री भट्टले भारतबाट नेपाली ल्याउने, सीमामा अलपत्र परेकाहरूलाई उद्धार गर्ने, परीक्षणको दायर बढाउने, अस्पताल स्थापना र औषधीको व्यवस्थापनमा सङ्घीय सरकारबाट असहयोग भएको दावी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर