कोरोना जोखिम बढेपछि चाँडै परीक्षा सक्ने तिलोत्तमा नगरपालिकाको निर्णय – Nepal Press

कोरोना जोखिम बढेपछि चाँडै परीक्षा सक्ने तिलोत्तमा नगरपालिकाको निर्णय

रूपन्देही । कोरोना संक्रमण बढ्दै गएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले चालु शैक्षिक सत्रको वार्षिक परीक्षा यही वैशाख २० गतेभित्र सक्ने निर्णय गरेको छ ।

नगरस्तरीय परीक्षा सञ्चालन तथा समन्वय समितिको शुक्रबारको बैठकले विद्यालयस्तरीय वार्षिक परीक्षा छिट्टै लिने निर्णय गरेको हो ।

शैक्षिकसत्र कायम राख्न र अन्यौलता हटाउन यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ । दोस्रो चरणको कोरोना महामारी तीव्र रुपमा बढ्दै जाँदा विद्यालय बन्द गर्नुपर्ने दबाब बढ्दै गएको थियो ।

परीक्षा नलिँदै विद्यालय बन्द गरिँदा त्यसले विद्यार्थी, शिक्षक, अभिभावक सबैमा नकारात्मक असर पर्ने भएकोले कोरोना सुरक्षा मापदण्ड अपनाई तत्काल परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले बताए ।

नगरप्रमुख तथा समिति संयोजक बासुदेव घिमिरेको अध्यक्षतामा बसेको बैठकले बालविकासदेखि कक्षा ३ सम्मको परीक्षा यही वैशाख १२ गतेसम्म र कक्षा ४ देखि ९ सम्मको परीक्षा वैशाख २० गतेभित्र सक्ने निर्णय गरेको हो ।

बैठकले वैशाख १२ बाट सुरु हुनेगरी कक्षा ८ को नगरस्तरीय परीक्षा सञ्चालनको लागि परीक्षा तालिका तथा परीक्षा केन्द्र निर्धारण गरेको छ । यो वर्ष नगरस्तरीय परीक्षाको लागि ९ वटा केन्द्र निर्धारण गरिएको शिक्षा शाखा प्रमुख आचार्यले बताए ।

यसैबीच कोरोनाबाट सबैभन्दा बढी बालबालिकाहरु प्रभावित भइरहेको भन्ने खबरहरु सार्वजनिक भइरहँदा नगरप्रमुख बासुदेव घिमिरे, शिक्षा शाखा प्रमुख गंगाराम आचार्यसहितको टोलीले विद्यालयहरुको अनुगमन गरेको छ ।

कोरोना सुरक्षा मापदण्डको पालनालाई केन्द्रमा राखी टोलीले सामुदायिक तथा संस्थागत विद्यालयको अनुगमन गरेको हो । आचार्यले सबै विद्यालय तथा अभिभावकलाई समयमै सुरक्षित तरिकाले परीक्षामा विधार्थीलाई सहभागी गराउन आग्रह गरिएको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *