बुटवलमा अत्याधुनिक ढुवानीग्राम निर्माण अन्तिम चरणमा, व्यावासायी उत्साही – Nepal Press

बुटवलमा अत्याधुनिक ढुवानीग्राम निर्माण अन्तिम चरणमा, व्यावासायी उत्साही

सार्वजनिक निजी साझेदारी मोडलमा नमूना ढुवानीग्राम बन्दै

रुपन्देही । निजी क्षेत्रसँगको सहकार्यमा रुपन्देहीको बुटवल उपमहानगरपालिकाले आधुनिक र नमुना ढुवानीग्राम निर्माण अन्तिम चरणमा पुगेको छ । बजार क्षेत्रमा रहेका हेभी लोडका सवारीसाधनलाई व्यवस्थित गर्ने योजनाअनुसार निर्माण गरिएको ढुवानीग्रामको काम सकिन लागेपछि यहाँका ढुवानी व्यवसायी खुसी भएका छन् ।

ढुवानी व्यवसायीका अगुवा तथा ढुवानीग्राम निर्माण कार्यदलका सदस्य माधव नेपालले बुटवलको पहिचानका रुपमा नमुना अटो भिलेजपछि अब नमुना ढुवानीग्राम बन्ने दाबी गरे । उनले लगानी सुरक्षा र प्रतिफलको सुनिश्चितता भएकाले नै आफूहरुले सार्वजनिक क्षेत्रसँग सहकार्य गरेको बताए ।

उपमहानगर स्वामित्वको जग्गामा कुल ३० करोड लागत अनुमान गरिएको यो योजनामा ढुवानी व्यवसायीको साढे १२ करोड लगानीे छ । ग्राम जाने पहुँच मार्ग निर्माण भइसकेको छ भने व्यवस्थित पर्खालसमेत निर्माण भएको छ ।

उपमहानगरपालिकाकाको स्वामित्वमा रहेको वडा नं.१२ ढवाहस्थित भैरहवा टोलमा तीन बिगाह क्षेत्रफलमा करिब ३० करोड लागतमा ढुवानीग्राम निर्माणको काम भइरहेको छ । सार्वजनिक निजी क्षेत्रको साझेदारीको योजनाअनुसार रुपन्देही परिवहन प्रालिसँगको सहकार्यमा ढुवानीग्रामको कामलाई बहुवर्षीय योजनाको रूपमा अगाडि सारिएको नगर प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

मुलुकको आर्थिक केन्द्रका रुपमा रहेको बुटवलको आर्थिक गतिविधिलाई अझ सहज, व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले नमुना ढुवानी ग्राम निर्माण गरिएको र निर्माणकार्य अन्तिम चरणमा पुगेको सुवेदीको भनाइ छ ।

नगर प्रमुख शिवराज सुवेदीले व्यस्त र भिडभाडयुक्त बजार क्षेत्रलाई व्यवस्थित गर्ने उद्देश्यले उपमहानगरपालिकाले गरेको प्रस्तावमा निजी क्षेत्रले सहजै सहकार्य गर्ने प्रतिवद्धता जनाएकाले काम तोकिएको समयमै पूरा भएको बताएका छन् ।

‘सहरमा ट्राफिक चाप बढाउने र अव्यवस्थित तवरले सञ्चालनमा रहेका ढुवानी व्यवसायलाई व्यवस्थित बनाउने, एकै ठाउँबाट हेभी लोडका गाडी अनलोड गराउने गरी अलग्गै ढुवानीग्राम निर्माणको अवधारणा बनाएका हौं’ प्रमुख सुवेदीले भने, ‘यहाँका ढुवानीग्राममा संलग्न व्यवसायीहरूको समेत साझेदारीमा सुरु भएको योजना सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । यो नेपालकै नमुना उदाहरण हो निजी क्षेत्रसँगको सहकार्यको ।’

हेभी लोडका ढुवानीका सवारीलाई अलग्गै ठाउँको व्यवस्था मिलाएपछि अबसहरको ट्राफिक चाप कम हुने भएको छ । ठूला र भारवाहन ढुवानीका साधनहरूको आवतजावतले बुटवल बजार क्षेत्र अस्तव्यस्त बनिरहेको अवस्थामा बजारदेखि टाढा रहेको क्षेत्रमा व्यवस्थित ढुवानीग्राम निर्माण भएपछि सहरी सौन्दर्यतामा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

उपमहानगरले गुरुयोजना नै बनाएर ढुवानी ग्राम निर्माणको काम सुरु गरेको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बताए । उनले निजी क्षेत्रसँगको सहकार्यमा बुटवलले अर्को नमूना कामको थालनी गर्न पाएको बताए ।

सार्वजनिक निजी साझेदारी मोडलमा मुलुकमै पहिलो नमूनाको रूपमा रहेको ढुवानीग्राम बुटवलको गौरवको योजना हो । सार्वजनिक–निजी साझेदारीमा यसप्रकारको अलग्गै ढुवानीग्राम मुलुकमा अन्यत्र नरहेको उपमहानगरको दावी छ ।
नयाँ वर्षको सुरुमै शुभारम्भ गर्नेगरी तयारी गरिएपनि कोरोना महामारीको जोखिमले केही पर सरेको छ ।

प्राथमिक उपचारकक्षदेखि साना ग्यारेज एकै ठाउँमा

ढुवानीग्राममा साना ग्यारेजदेखि प्राथमिक उपचारकक्षसम्म निर्माण हुनेछन् । उपमहानगरले त्यस क्षेत्रमा पुग्न पहुँचमार्ग, ढल तथा नाली निर्माण गरेको छ ।

बिओटी मोडल (बिल्ड, अपरेट, ट्रान्सफर मोडल)मा ढुवानीग्राम निर्माण भइरहेको छ । यहाँ ४९ वटा सेड निर्माण भइरहेका छन् । उपमहानगरको साझेदारी गरेको रुपन्देही परिवहन प्रालिले एमबी कन्ट्रक्सनलाई करिब १३ करोडमा ठेक्का सम्झौता गरेको थियो ।

ढुवानी ग्राममा सामान अनलोड गर्ने अलग्गै सेडहरु, स्टोर कक्षहरु, कार्यालय, बिद्युत, खानेपानी, स्नानागार, शौचालय, विश्रामकक्ष, ढल तथा नाली, प्राथमिक उपचार कक्ष, सुरक्षागार्ड कक्ष, सूचना कक्ष निर्माण भइरहेको सहरी विकास तथा पूर्वाधार महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले बताए । ढुवानी ग्राम राजमार्ग क्षेत्रबाट ३.६ किलोमिटर दूरीमा छ ।

निजी क्षेत्र उत्साहित

रुपन्देही परिवहन प्रालिका अध्यक्ष कमल घिमिरेले ढुवानी व्यवसायीहरु उत्साही भएको बताए । उनले बुटवलको नमुना प्रयासले आफूहरु उत्साही भएको र गौरवको आयोजना निर्माण सकिने चरणमा पुगेको बताए ।

उनले निजी क्षेत्रको विश्वास जितेर उपमहानगरले साझेदारीमो नमूना योजना सफल बनाएको बताए । ढुवानीग्राम निर्माण सम्पन्न भएपछि बुटवलका चोक तथा गल्लीहरूमा सञ्चालित ढुवानी व्यवसायी स्थानान्तरण हुनेछन् ।

ढुवानी ग्रामबाट साना सवारीले अन्यत्र सामान आसार्ने छन् । हेवी लोडका ठूला गाडी अब ब्यस्त बजार क्षेत्र भित्र प्रवेश गर्नुपर्ने छैन । जसले विभिन्न क्षेत्रको लागि सामान ढुवानी गर्ने व्यवसायीहरूलाई ढुवानीका सामान खोज्न सहज हुनेछ ।
बृहत बुटवलको अवधारणासहित सार्वजनिक–निजी साझेदारीको नमूना योजना साकार हुने चरणमा पुगेपछि साझेदारहरु खुशी भएका छन् ।

यस्तो छ सम्झौता

ढुवानी व्यवसायीसँग १५ वर्षे सम्झौता गरिएको छ । उपमहनगरपालिकाले सार्वजनिक निजी साझेदारी मोडलमा निर्माण भइरहेको ढुवानीग्रामलाई दीगो रुपमा सञ्चालनका लागि मापदण्डसमेत बनाएको छ ।

उपमहानगर र रुपन्देही परिवहन प्रालिबीच सम्झौता भएको हो । निर्माण सम्पन्नपछि ढुवानीग्राममा व्यवसाय सञ्चालन गर्ने व्यवसायीले एक हजार पाँच सय ५० वर्ग फुट क्षेत्रफलमा निर्माण हुने प्रतिसेडको मासिक तीन हजार एक सय रुपैयाँ बहाल रकम बुझाउने छन् । बहाल रकम प्रत्येक दुई वर्षमा १० प्रतिशतका दरले वृद्धि हुने सम्झौतामा उल्लेख गरिएको छ ।

सम्झौताअनुसार उक्त प्रालिले १५ वर्षपछि उपमहानगरपालिकालाई ढुवानी ग्राम हस्तान्तरण गर्नेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर