कर्णालीमा त्रिपक्षीय भागबण्डा- कांग्रेसलाई भन्दा बढी लाभ माधव नेपाल पक्षलाई – Nepal Press

कर्णालीमा त्रिपक्षीय भागबण्डा- कांग्रेसलाई भन्दा बढी लाभ माधव नेपाल पक्षलाई

तीन मन्त्रीको सपथ आज, ज्वालाले राजनीतिक नेतृत्व गर्ने

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिवार नियुक्त गरेका विद्रोही एमालेका तीन जना मन्त्रीहरुको आज सपथग्रहण हुने भएको छ । चार जनाले फ्लोर क्रस गरेर मतदान गरेपनि पूर्व आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले भने राजनीतिक नेतृत्व गर्ने भन्दै सरकारमा सहभागी नहुने बताएको उनी निकट मन्त्री कुर्मराज शाहीले नेपालप्रेसलाई जानकारी दिए ।

‘प्रकाश ज्वाला एक आन्दोलन हो, लडाई हो । उहाँले राजनीतिक नेतृत्व गर्नुहुन्छ । उहाँ सरकारमा मन्त्री बन्नका लागि फ्लोर क्रस गर्नु भएको होइन ।’ नवनियुक्त उद्योग पर्यटन वन तथा वातावरण मन्त्री शाही भन्छन्, ‘उहाँले एमाले एकता गर्न विशेष भूमिका निर्वाह गर्नुहुन्छ । उहाँमा मन्त्री बन्ने कुनै लोभ छैन ।’

मुख्यमन्त्री शाहीले भौतिक पूर्वाधार विकास मन्त्रीमा अम्मरबहादुर थापा, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नन्दसिंह बुढा र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा कुर्मराज शाहीलाई नियुक्त गरेका थिए ।

सरकारमा सहभागिता बारे अन्यौलमै कांग्रेस

नेपाली कांग्रेसले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरे पनि सरकारमा सहभागी हुने वा नहुने बारेमा कुनै पनि निर्णय नगरेको सचेतक हिमबहादुर शाहीले बताए ।

‘केपी ओलीको प्रतिगमनकारी कदमका विरुद्धमा कमजोर रहेको माओवादीलाई हामीले मतदान गरेका थियौं । सरकारमा सहभागी हुने बारेमा हाम्रो सहमति केही भएको छैन,’ उनले भने, ‘यस बारेमा पार्टी केन्द्रको निर्देशन कुरेर बसेका छौं ।’

उनले यस्तो बताए पनि कांग्रेस वृत्तमा भने दुई जनालाई मन्त्री बनाउने शर्तमा कांग्रेसले माओवादीलाई साथ दिएको चर्चा छ । शाहीले यो हल्लाको भने खण्डन गरेका छन् ।

माओवादीमा मन्त्री बन्न हानथाप

माधव नेपाल पक्षीय एमालेका तर्फबाट तीन जना नयाँ मन्त्री बनाइसकेपछि माओवादीभित्र मन्त्री बन्न हानथाप सुरु भएको छ । हालका मन्त्रीलाई कसरी विदाई गर्ने भन्ने बारेमा टुंगोमा नपुगेको माओवादीमा मन्त्री बन्नका लागि कम्तिमा चार जना निरन्तर लागि परेको माओवादी स्रोतले नेपालप्रेसलाई बतायो ।

‘हाम्रो दलबाट प्रमुख सचेतक सीता नेपाली, विन्दमान विष्ट, गोपाल शर्मालगायतले मन्त्री पदमा दावी गरिरहनु भएको छ । यसमा सीता नेपालीको प्रवल सम्भावना छ,’ स्रोत भन्छ, ‘माओवादीको भागमा मुख्यमन्त्रीसहित तीन मन्त्री पर्ने भएका कारण गोपाल शर्मा वा विन्दमान मध्ये अर्को मन्त्री को हुन सक्छ भन्ने बारेमा अहिले नै भन्न हतारो हुन्छ ।’

कांग्रेस सरकारमा सहभागी हुन्छः प्रवक्ता

प्रदेश सरकारका प्रवक्ता एवमा आर्थिक मामिला तथा योजना एवम सामाजिक विकास मन्त्री विमला केसीले कांग्रेस सरकारमा सहभागी हुने बताएकी छन् ।

‘कांग्रेस सरकारमा सहभागी हुन्छ । त्यसका लागि उहाँहरुले जहिले निर्णय गर्नुहुन्छ हामी सहभागी गराउन तयार छौं,’ प्रवक्ता केसीले भनिन्, ‘सरकार पुर्नगठन भएको अवस्थामा माओवादीसँग मुख्यमन्त्रीसहित तीन मन्त्रालय, एमालेसँग तीन मन्त्रालय र कांग्रेससँग दुई मन्त्रालय हुनेछन् ।’

माओवादीबाट नयाँ मन्त्री को बन्दैछन्  त ? भन्ने प्रश्नमा केसीले आफूलाई यसबारे जानकारी नभएको प्रष्ट पारिन् । उनले प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसँग मन्त्रीको सपथग्रहण बारेमा तयारी गर्न पत्र पठाईसकिएको बताउँदै प्रदेश प्रमुखको कार्यालयबाट तयारी पूरा भएको सन्देश आउने वित्तिकै नयाँ मन्त्रीलाई सपथग्रहण गराइने बताइन् ।


प्रतिक्रिया

2 thoughts on “कर्णालीमा त्रिपक्षीय भागबण्डा- कांग्रेसलाई भन्दा बढी लाभ माधव नेपाल पक्षलाई

  1. पद को लागि आफ्नो अस्मिता बेच्ने बेचुवा हरु लाइ जनता ले आगामी २ वर्षा को चुनाब मा पाखा लाउनेनै छन् र यो र यति खेराको हिसाब पनि तेही समय मा हुने छ कि जुन समय को लागि देरै कुर्नु पर्ने छैन

  2. यदि यो सरकार को लोक प्रिया काम भएको भए पनि चित्त बुझ्न सकिन्त्यो बिकास मा सिन्को भाच्न न सक्ने ले पुन पद भार गर्दा के हर्स के बिस्मात यो त बुढो गोरुले गाइ ओगटे जस्तो मात्रै हो कलि युग मा नि सति जान चलन ले अब झन् कर्णाली को बिकाश ब्याग हुने सम्भावना बढि छ। यो सरकार को विकल्प मा जानु पर्ने हो तर एमाले को केहि अराज हरुले गर्दा कर्णालि ले फेरी दुख भोग्नु पर्ने अबस्था सिर्जना भयो

Leave a Reply to Kul Bahadur kulala Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर